
युक्रेन युद्धमा रसियाले आणविक बमको प्रयोग गर्न सक्ने आँकलन गर्दै पश्चिमा देशहरु यसको तयारीमा जुटेका छन्। रसियाले युक्रेन वा त्यस नजिकै आणविक बम विस्फोट गराए आफ्ना देशहरूमा आतंकलाई रोक्न पश्चिमा देशका अधिकारीहरुले पर्दा पछाडि ‘विवेकपूर्ण योजना’ बनाउन व्यस्त रहेको द गार्डियनले उल्लेख गरेको छ।
आणविक संकटको सम्भावना अत्यन्तै न्यून रहेको मानिएको छ। यद्यपि, अन्तर्राष्ट्रिय रूपमा अधिकारीहरूले आणविक संकटमा आपतकालीन सहयोग र डराएका नागरिकलाई आश्वासन प्रदान गर्ने योजनाहरूको पुन: परीक्षण गरिरहेको बताइएको छ।
यसको संकेत शुक्रवार एक अधिकारीले गरेको ब्रिफिङमा देखा परेको थियो। ब्रिफिङका क्रममा ति अधिकारीलाई आणविक संकटपछि डरले ठूलो मात्रामा शहरहरूबाट भागेका मानिसहरूबिच आतंक रोक्नको लागि केही उपायहरू छन् कि भनेर सोधिएको थियो।
विभिन्न देशका सरकारहरू ‘सम्भावित परिदृश्यहरूको दायराको लागि विवेकपूर्ण योजना’ मा संलग्न रहेको ति पश्चिमी अधिकारीले थिए। यद्यपि, युद्धमा रसियाले गर्ने आणविक हतियारहरूको कुनै पनि प्रयोग घृणित हुने उनले बताएका थिए।
आणविक युद्धबाट कसरी बच्ने भन्ने बारे सार्वजनिक सूचना अभियानहरू र विद्यालय अभ्यासहरू शीत युद्धका बेला गरिएका थिए। जसमा सन् १९५० को दशकमा अमेरिकामा ‘डक एन्ड कभर अभियान’, सन् १९७० को दशकको उत्तरार्धमा बेलायतमा ‘प्रोटेक्ट एण्ड सर्भाइभ’ र १९६० को दशकको प्रारम्भमा पश्चिम जर्मनीमा गरिएको ‘एभ्रिवान ह्याज अ चान्स’लगायत पर्दछन्।
एक पूर्ण आणविक द्वन्द्वबाट बच्न सम्भव छ भन्ने सुझावका कारण यी अभियानहरू आलोचनाको विषय बनेका थिए। यद्यपि, यस अवस्थामा एक अनियन्त्रित आणविक संकटका बेला ठूला शहरहरूलक्षित हमला हुन्छन् भन्ने त्रासलाई रोक्नमा केन्द्रित हुनुपर्ने बताइएको छ।
आणविक निशस्त्रीकरण अभियान (सीएनडी)का महासचिव केट हडसन भन्छिन्, ‘यो 'विवेपूर्ण योजना'ले बेलायती सरकारको शीतयुद्ध-युगको 'प्रोटेक्ट एण्ड सर्भाइभ' अभियानलाई सम्झाएको छ, जसलाई सीएनडीले आणविक निशस्त्रीकरणको झूटो धारणा दिएको भनेर घोर निन्दा गरेको थियो।’
सेप्टेम्बरदेखि युक्रेनको युद्धभूमिमा मस्कोले संघर्ष गरिरहँदा भ्लादिमिर पुटिनले आणविक अस्त्रको प्रयोगको संकेत गरेका थिए। गत महिना उनले रसियाली भू-भागको रक्षा गर्न ‘सबै उपलब्ध साधनहरू’ प्रयोग गरिने बताएका थिए।
पश्चिमा देशका अधिकारीले आणविक प्रयोगको बारेमा रसियाली राष्ट्रपतिको टिप्पणी ‘अत्यन्त गैरजिम्मेवार’ भएको र अरू कुनै पनि देशले आणविक हतियारको बारेमा कुरा नगरेको बताएका थिए। ‘हामीले यसलाई आणविक संकटको रूपमा हेर्दैनौं,’ उनीहरूले भनेका छन्।
अमेरिकाले गरेको टिप्पणीलाई नै दोहोर्याउँदै अधिकारीहरुले भनेका छन्, ‘आणविक हतियारको कुनै पनि प्रयोगले १९४५ देखि रहेको निषेधलाई तोड्नेछ, जसले रसियासहित अन्य सबैका लागि गम्भीर परिणामहरू निम्त्याउनेछ।’