PahiloPost

Jan 13, 2025 | २९ पुष २०८१

अरिङ्गालको टोकाइबाट खोटाङमा एक जनाको मृत्यु, दुई जना घाइते



रासस

अरिङ्गालको टोकाइबाट खोटाङमा एक जनाको मृत्यु, दुई जना घाइते

खोटाङ : अरिङ्गालको टोकाइबाट खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-८ दोर्पाचिउरीडाँडास्थित बानाचुङका २६ वर्षीय विनोद परियारको मृत्यु भएको छ। बाटो हिँडिरहेको अवस्थामा शुक्रवार बाटो नजिकै रहेको गोलाबाट निस्केको अरिङ्गालले टोक्दा परियारको घटनास्थलमै मृत्यु भाएको हो।

मृतक परियारसँगै हिँड्दै गरेका सोही ठाउँका २५ वर्षीया शर्मिला नेपाली र ७२ वर्षीय नैनसिं दर्जी घाइते भएका छन्। घाइते दुवै जनाको जिल्ला अस्पताल खोटाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

अस्पतालमा उपचाररत दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले जानकारी दिए। मृतकको शव उनका आमा बदम परियारले अन्तिम दाहसंस्कारका लागि बुझिसकेका छन्।

मृतक परियार फरक क्षमताका थिए। उनको शरीर सामान्य मानिसको भन्दा अस्वभाविक बढी मोटो थियो।

शरीर मोटो भएकै कारण भाग्न नसक्दा अरिङ्गालको टोकाइबाट उनको मृत्यु भएको हुनसक्ने स्थानीय बासिन्दा एवं पत्रकार उजुर राईले बताए। मृतक परियार मावलीघर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङ बस्दै आएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell