PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सन्दीप लामिछाने कहिलेसम्म हिरासत बस्लान्? उनका वकिलले कस्तो रणनीति लिँदै?



सविन ढकाल

सन्दीप लामिछाने कहिलेसम्म हिरासत बस्लान्? उनका वकिलले कस्तो रणनीति लिँदै?
विमानस्थलमा गिरफ्तार हुँदा सन्दीप। फाइल फोटो

काठमाडौं : नावालिग किशोरी बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने यतिखेर महानगरीय प्रहरी वृत्त गौशालामा छन्। उनी हिरासतमा बसेको ९ दिन बितिसकेको छ। त्यसो त जिल्ला अदालत काठमाडौंले बिहीवार थप पाँच दिन अर्थात् कार्तिक १ गतेसम्म उनलाई हिरासतमा राख्‍न अनुमति दिएको छ। यसअघि पहिलो पटक सात दिन हिरासतमा राख्‍न अनुमति दिएको थियो। उनी अझै कति दिन हिरासतमा बस्छन्? यकिनका साथ भन्न सक्ने अवस्था छैन।

प्रहरीले कानुनत कुनै पनि अभियुक्तलाई अनुसन्धानको क्रममा केस हेरेर हिरासतमा राख्‍नसक्छ। बलात्कारको केसमा प्रहरीले पक्राउ गरेको दिनदेखि २४ दिनभित्र सरकारी वकिल कार्यालय हुँदै केस अदालतमा पुर्‍याउनु पर्ने हुन्छ। असोज २० गतेदेखि २४ दिन अर्थात् कार्तिक १२ गतेसम्म प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेश गर्नुपर्छ। अनुसन्धान अगाडि नै सकिएको खण्डमा चाँडै फाइल बुझाउन पनि सक्छ।

सन्दीप पक्षका वकिलले जतिसक्दो चाँडो अनुसन्धान सकेर फाइल बुझाउन दवाव दिइरहेका छन्। उनका फ्यानहरु पनि सन्दीप धेरै दिन हिरासतमा बसेको हेर्ने मुडमा छैनन्। त्यसैले अदालतमा हाजिर भएका सन्दीपले पनि चाँडो अनुसन्धान सकेर फाइल बुझाउन माग गरेका थिए। अदालतमा मुद्दा पुगेपछि मात्र सन्दीपविरुद्ध लागेको आरोप पुष्टि हुने वा नहुने प्रष्टिनेछ। त्यसैले धेरैको चासो अहिले अदालत नै हो।

आगामी कार्तिक १ गते तेस्रो पटक म्याद थप भएको खण्डमा सन्दीपको हिरासत बसाई लामो हुनेछ। किनकि कार्तिक ६ गतेदेखि तिहारको कारणले अदालत तथा सरकारी कार्यालयहरु बन्द हुनेछन्। त्यसपछि कार्तिक १३ गतेमात्र कार्यालय खुल्नेछ।

असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको हो। कतार एयरवेजको विमानबाट कतार हुँदै उनी त्रिभुवन विमानस्थल अवतरण गरेका थिए। विमानस्थलबाट उत्रिने बित्तिकै अध्यागमन कार्यालयले सन्दीपलाई विमानस्थल प्रहरीलाई जिम्मा लगाएको थियो। त्यहाँबाट प्रहरीले थप अनुसन्धान गरिरहेको छ। अहिलेसम्म सन्दीपको बयान लिने काम भएको छ। सरकारी वकिल समक्ष बयान भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरतबहादुर बोहराले बताए। बयान आधा भन्दा धेरै भइसकेको प्रहरीको दाबी छ।

'अहिले हाम्रो टोलीले अनुसन्धान गरिरहेको छ। बयान गर्ने काम भइरहको छ। अब बयान धेरै बाँकी छैन,' एसएसपी बोहराले भने।

१७ वर्षीया किशोरीलाई करणी गरेको उजुरी प्रहरीमा दर्ता भएसँगै सानो उमेरमै करिअरको उच्चतम विन्दु चुमिरहेका सन्दीप एकाएक सङ्कटमा पुगेका हुन्। उजुरी लगत्तै प्रहरीले लामिछाने विरुद्ध प्रमाण सङ्कलन गर्न शुरु गरेको थियो। भदौ ५ गते कप्तान लामिछानेले किशोरीलाई बोलाएर होटलमा लगेर करणी गरेको उजुरीमा उल्लेख छ। प्रहरीमा परेको उजुरी अनुसार साँझ लामिछानेले ती किशोरीलाई कफी खान भन्दै बोलाएका थिए।

त्यसपछि नगरकोट घुम्न जाने भन्दै लगेका थिए। नगरकोटमा किशोरीले बस्न नमानेपछि उनीहरू फर्किएर गौशालाको एक होटेलमा पुगेका थिए। रातिको ११ बजेर ५५ मिनेटमा होटलमा लगेर लामिछानेले किशोरीलाई पटक-पटक करणी गरेको उजुरीमा उल्लेख गरिएको छ। प्रहरीले होटलमा गएर पनि लामिछानेको उपस्थितको बारेमा प्रमाण सङ्कलन गरिसकेको छ।

तर सन्दीपका एक वकिलले भने पीडित भनिएकी नावालिका १८ वर्षभन्दा बढी उमेरको भएको दाबी गर्दै आएका छन्। त्यस्तै, दुईवटा जन्मदर्ता समेत फेला पारेको दाबी गरेका छन्। तर, प्रहरीले भने यस विषयमा कुनै टिप्पणी गरेको छ। प्रहरीले पेस गर्ने प्रमाणले भने नाबालिका नै देखाएको एक प्रहरी अधिकृतले बताए।

'नागरिकता वा जन्मदर्ताबारे बाहिर आएको कुरा हामीलाई थाहा भएन। उहाँहरुले अदालतमा पेश गर्न सक्नुहुन्छ। तर, हामीसित भएको प्रमाणले नाबालिका नै पुष्टि गर्छ,' ती प्रहरी अधिकृतले सुनाए।

वकिल र प्रहरीले अदालतमा पेस गरेको प्रमाणका आधारमा अदालतले थप निर्णय गर्नसक्ने छ। पेस गरिएका प्रमाणमाथि शंका उत्पन्न भएमा अदालतले स्वास्थ्य परीक्षण वा अन्य विधिबाट पनि किशोरीको उमेर पहिचान गराउन सक्छ।

जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका आरोपी सन्दीपले भने निर्दोष रहेको बताएका छन्। तर उनका वकिलले भने पीडित नाबालिकाले उमेर घटाएको प्रमाण पेस गर्ने बताउँदै आएका छन्। अहिले घटनाको मुल विषयभन्दा पनि नाबालिका र बालिकाको विषयमा सबै भन्दा धेरै चासो बनेको छ।

पीडित नाबालिका १८ वर्षमाथिको ठहरिएमा सन्दीपले सजाय कम पाउने सम्भावना रहन्छ। उमेर पुगेको अवस्था र सहमतिमा सम्बन्ध राखेको पाइएमा त्यसलाई करणी भन्न नमिल्ने कानुनी प्रावधानलाई टेकेर सफाइ पाउने दाउमा सन्दीपका वकिलहरु रहेका छन्। पल शाहको केसमा जे गरिएको थियो त्यही रोडम्यापमा सन्दीपका कानुन व्यवसायीहरु लागेको देखिन्छ। पल शाहको केसमा नवलपुर जिल्ला अदालतले जवर्जस्ती करणीको अभियोगमा शाहलाई सफाई दिएको थियो। तर नाबालिका भएकालेमात्र उनी दोषी ठहरीएका थिए। उनलाई साढे २ वर्ष कैद सजाय सुनाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell