PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

‘बुंग महोत्सव’मा रम्यो बुंगमती, फेरि बन्ला पर्यटक हब?

‘बुंग महोत्सव’मा रम्यो बुंगमती, फेरि बन्ला पर्यटक हब?

रोजन श्रेष्ठ/पहिलोपोस्ट


ललितपुरमा ‘बुंग महोत्सव’ सम्पन्न भएको छ। बुंगमतीमा शनिबार बिहान सम्पदा यात्राबाट सुरु भएको महोत्सवमा सांगीतिक र साहित्यिक प्रस्तुति आयोजना गरिएको थियो।

कार्यक्रममा ललितपुर महानगपालिका प्रमुख चिरिबाबु महर्जनले रातो मछिन्द्रनाथको मन्दिर अझै निर्माण सम्पन्न नभएको भन्दै त्यसलाई चाँडो निर्माण गर्नु पर्नेमा जोड दिएका थिए। मन्दिर निर्माण नहुँदा रातो मच्छिन्द्रनाथलाई अस्थायी मन्दिरमा राखिँदै आइएको छ। रातो मछिन्द्रनाथको मन्दिर २०७२ सालको भूकम्पमा भत्किएको थियो।

बुंगमतीमा मन्दिर हुँदा पर्यटकको आगमन धेरै हुने गरेको तर मन्दिर नबन्दा पर्यटक आउन छाडेको स्थानीय बताउँछन्। काष्ठकालका लागि परिचित बुंगमतीमा पर्यटक आउन छाडेपछि काष्ठकला बनाउने मानिस घट्दै गएको छ। युवा अरु पेशामा लाग्दा त्यहाँ को चिनारी नै धराप मा पर्न सक्ने त्रास स्थानीयमा छ। महोत्सवलाई भने बुंगमतीमा फेरि पर्यटक ल्याउन सहयोग गर्ने स्थानीय रवि शाक्यले बताए।

इकोज इन दी भ्याली र पर्य सम्पदाको आयोजनामा बुंगमतीको इतिहास र संस्कृति चिनाउन सो महोत्सव आयोजना गरिएको हो। ५ हजारभन्दा बढी मानिस बुंगमतीमा पुगेको आयोजकको अनुमान छ। इकोजका सह-संस्थापक भुषण शिल्पकारले महोत्सवले बुँगमतीलाई फेरि पर्यटक हब बनाउन सहयोग पुगेको बताए।

महोत्सवमा बर्ता गन्धर्व, कल्पकुञ्ज, कन्त दबदब, कुटुम्ब, दी नाइट, पञ्चामृत, रैथाने, सिन्ह स्वास् र खालतु दाफा नागंचा प्याखं समूहले सांगीतिक प्रस्तुति दिएका थिए। वर्ड वारियरको तर्फबाट रोनिका श्रेष्ठले पनि कविता वाचन गरेकी थिइन। सो कार्यक्रम मछिन्द्र बहाल , प्रथम्पुर बिहार र बाछे फलचामा भएको थियो। दिनभर बुंगमती संग्रहालय खुला गरिएको थियो भने ठाउँठाउँमा चित्रकला र काष्ठकला प्रदर्शन गरिएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell