PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

अमेरिकी अर्बपति जिम साइमोन्स, जो आफ्नो छोराको सपना पूरा गर्न बर्सेनि नेपाल आउँछन्



पहिलोपोस्ट

अमेरिकी अर्बपति जिम साइमोन्स, जो आफ्नो छोराको सपना पूरा गर्न बर्सेनि नेपाल आउँछन्

काठमाडौं : पर्यटकीय सिजनमा सुरु भएसँगै यतिखेर विभिन्न मुलुकबाट प्राइभेट जेट लिएर विदेशी नागरिक आइरहेका छन्। गत सोमवार एउटा प्राइभेट जेट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भयो। यो चार्टर विमानमा पर्यटकको रुपमा नेपाल भ्रमण गर्न आएका व्यक्ति भने थिएनन्।

आफ्नो छोराको इच्छा पूरा गर्नका लागि डेढ दशकदेखि बर्सेनि नेपाल आउने अर्बपति दम्पती जेम्स ह्यारिस साइमोन्स र उनकी पत्नी म्यारोलिन साइमोन्स थिए।। यी निक फाउन्डेशनका सदस्य हुन्।

रेनेसेन्स टेक्नोलोजी कर्पोरेशनका संस्थापक साइमोन्सले नेपालको विभिन्न भेगमा सञ्चालित अस्पतालको सेवा र क्षमता विस्तारका लागि आर्थिक सहयोग गर्दै आएका छन्।

नेपालमै चिकित्सा सेवा दिने उद्देश्य बनाएका छोरा निकको असामयिक निधन भएपछि १६ वर्षदेखि निक साइमोन्स इन्स्टिच्युट स्थापना गरी आर्थिक सहयोग गर्दै आएको वरिष्ठ कार्यक्रम प्रबन्धक काशिम शाहले बताए।

गत बिहीवार साइमोन्स दम्पती आर्थिक सहयोग र अवलोकनका लागि गोरखा अस्पताल पुगेर काठमाडौं फर्किएको उनले जानकारी दिए। स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमार्फत मुलुकका विभिन्न क्षेत्रमा संचालित अस्पताल विस्तारका लागि संस्थाले सहयोग गर्दै आएको उनले जानकारी दिए।

‘हामीले अस्पताल सहयोग कार्यक्रम अन्तर्गत स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा सन् २००६ सालदेखि सहयोग गर्दै आएका छौं। यस अन्तर्गत संस्थाले मानव संसाधन, तालिम, सामाग्री लगायत क्षेत्रमा सहयोग गर्दै आएको छ। गोरखा कान्छो अस्पताल हो,’ प्रबन्धक शाहले भने।

उनका अनुसार संस्थाले गत साउन महिनामा गोरखा अस्पतालको सेवा र क्षमता विस्तारका लागि चार वर्षका लागि अस्पताल सहयोग कार्यक्रमको सम्झौता गरिसकेको छ।

‘निक पहिला ट्रेकिङका क्रममा नेपाल आउनुभएको थियो। यही क्रममा उहाँले नेपालमा चिकित्सा सेवा दिने उद्देश्य बनाउनु भएको थियो। न्युयोर्कमा चिकित्सा अध्ययन सुरु गर्नुभएको थियो। पछि बालीमा पौडी खेल्ने क्रममा उहाँको निधन भयो,’ उनले भने, ‘उहाँको इच्छाअनुसार जेम्स ह्यारिस साइमोन्स र म्यारेलिन साइमोन्सले यो संस्था स्थापना गर्नुभएको हो।’

सोमवार नेपाल आएका उनीहरु शुक्रवार बिहानै आफ्नै प्राइभेट जेटमार्फत स्वदेश फर्किए।

तीन दिन अवधिमा साइमोन्सले स्वास्थ्य मन्त्रालयसँग छलफल, गोरखा अस्पतालसँगै काठमाडौंका विभिन्न अस्पतालको अवलोकन गरेको उनले जानकारी दिए।

यो अस्पताललाई हब अस्पतालको रुपमा विस्तारका लागि जनशक्ति, परामर्श चिकित्सक, नर्सिङ, प्यारामेडिक्स, उपकरण लगायतको सहयोग गरिने उनले जानकारी दिए।

आउँदो विसं २०८३ सालसम्मका लागि गरिएको यो परियोजनाका लागि वार्षिक तीन करोड रुपैयाँ सहयोग गरिने सम्झौता रहेको छ।

सन् १९३८ मा जन्मिएका अमेरिकी अर्बपति साइमोन्स विश्वको ६६औँ धनाढ्य व्यक्तिमा सूचीकृत छन्। ब्लुमबर्गले तयार पारेको विवरण अनुसार उनीसँग २५.२ बिलियन डलर सम्पत्ति छ। उनलाई ‘ग्रेट इन्भेस्टर्स अन वाल स्ट्रिट’ र ‘सक्सेसफुल हेज फण्ड अफ अल टाइम’को उपमा दिइएको छ।

गणित र आधारभूत विज्ञान अनुसन्धानकर्तालाई सहयोग गर्नका लागि उनले सन् १९९४ मा साइमोन्स फाउण्डेसन सञ्चालनमा ल्याएका थिए। युनिभर्सिटी अफ क्यालिफोर्नियामा अत्यधिक लगानी गरेका उनले सन् २०१२ मा साइमोन्स इन्स्टिच्युट फर द थ्यौरी अफ कम्प्युटिङ स्थापना गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell