PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

एथलेटिक्समा कीर्तिमान : भाइ शिवराजलाई अघिल्लो दिन कीर्तिमानी स्वर्ण, दाजु गोपीचन्द्रलाई भोलिपल्ट रजत



मुकुन्द घिमिरे

एथलेटिक्समा कीर्तिमान : भाइ शिवराजलाई अघिल्लो दिन कीर्तिमानी स्वर्ण, दाजु गोपीचन्द्रलाई भोलिपल्ट रजत

पोखरा : नवौं राष्ट्रिय खेलकुद अन्तर्गत शनिवार एथलेटिक्सको १०० मिटर पुरुषमा एपीएफका शिवराज पार्कीले स्वर्ण पदक जिते। यसअघि ४०० मिटरको दौड दौडिने उनी यसपाला १०० मिटरमा दौडिएका थिए।

‘मेहेनत गरे अनुसारको फल पाएँ। दौडिन त कठिन काम हुँदै हो। ८० मिटर कटेपछि मेरो 'फुल पावर' आउँछ। मेरो राम्रो पक्ष नै फिनिसिङ हो,’ स्वर्ण जितेपछि हर्षित मुद्रमा रंगशालामा भेटिएका पार्कीले भन्दै थिए। यसक्रममा उनले २३ वर्ष पुरानो कीर्तिमान भंग गरेका थिए।

स्वर्ण जितेपछि उनी सिधा गएर आफ्ना दाजुलाई ढोग गरे। उनका दाजु हुन् गोपीचन्द्र पार्की, काठमाडौंमा सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता खेलाडी।

आइतवार गोपीचन्द्र पार्कीको विधाको खेल थियो, १० हजार मिटर दौड। तर, गोपीचन्द्रले यसमा रजत पदकमै चित्त बुझाए। उनलाई आर्मीका दीपक अधिकारीले पछि पार्दै स्वर्ण जिते। अधिकारीले स्वर्ण मात्र जितेनन् पार्कीकै नाममा रहेको राष्ट्रिय कीर्तिमान पनि तोडे।

अधिकारीले निर्धारित दुरी ३० मिनेट १०.३० सेकेन्डमा पार गर्दा गोपीले ३० मिनेट ३८.३२ सेकेन्डमा निर्धारित दुरी पार गरे। 

+++

शनिवार शिवराजले स्वर्ण जित्दा पार्की रंगशालामै भाइको खेल हेरिरहेका थिए।

‘दाइले नै मलाई बाटो देखाउनु भएको हो। उहाँले गरेर नै म यहाँ आएँ। त्यसपछि शुसिल नरसिंह राणाले मलाई कोचिङ गर्नुभयो’, उनले भने, ‘दाईले मलाई एकदमै सहयोग गर्ने। पहिला मैले ४०० मिटरमा दौडिएको हो।’

उनी एपीएफबाट खेल्न थालेको ७/८ वर्ष नै भएको बताउँछन्।

‘हामी पाँच दाजुभाइ हो। म सबैभन्दा कान्छो हो’, उनले खेल मनोविज्ञानबारे भने, ‘दौडँदै गर्दा म जित्छु भन्नेमा विश्वस्त थिएँ। मलाई पहिला एपीएफबाट आर्मी पुगेका युवराज विकसँग डर थियो।’

क्लबबाट स्वर्ण जिते पनि देशबाट जित्नका लागि भने अझ आवश्यकता रहेको उनले बताए।

‘एपीएफले जति गराउने हो गर्‍यो। तर, यो भन्दा अघि मेडल ल्याउने हो भने यो लेभलमा ट्रेनिङ गरेर सकिँदैन। बाहिर त्यही लेभलको ट्रेनिङ चाहिन्छ,’ उनले सुनाए।

उनी ४ सय मिटरबाट १०० मिटर दौडन थालेको ६ महिना भयो।

अरु स्प्रिन्ट पहिला खेलेर लामो दौड खेल्न थाल्छन्, तपाईं चाहिँ किन उल्टो बाटो हिँड्नु भएको नि? भन्ने प्रश्नमा उनले भने : ४ सयमा जहिल्यै पनि दोस्रो भएँ। दौडिइरहनु पर्‍यो। १०० मिटरमा हुँदा प्रयास गर्दा सफल भएँ। पहिलो भएँ। त्यही भएर यसमा लागेँ।

शिवराजले स्वर्ण जित्दा दाजु गोपिचन्द्र रंगशाला परिषरमै थिए।

‘भाइले स्वर्ण जित्दा खुशी लागेको छ। सानैदेखि दौडँदा उसको राम्रो थियो। उसमा सम्भावना देखेको थिएँ। त्यही हिसाबले अघि बढ्यो र सफल पनि भयो,’ गोपीले भनेका थिए।

+++

आइतवार त्यही रंगशालामा १० हजार मिटर पुरुषमा गोपीचन्द्र पार्कीलाई पछि पारे आर्मीका अधिकारीले।

‘गोपीचन्द्र दाइ हो। म उहाँलाई सम्मान गर्छु। उहाँले सागमा पनि स्वर्ण जित्नु भएको थियो। उहाँसँगको प्रतिस्पर्धा कठिन त भइहाल्छ। र, प्रतिस्पर्धा उहाँसँगै थियो,’ स्वर्ण पदक जितेका अधिकारीले भने।

उनले १५ ल्यापबाट पार्कीलाई पछि पारेका थिए।

धादिङ घर भएका अधिकारी आर्मीमा २०७५ सालमा प्रवेश गरेका हुन्। २७ वर्षे उनले यसअघि १३औँ दक्षिण एसियाली खेलकुदमा पनि सहभागी भएका थिए। जसमा तेस्रो स्थान हात पारेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell