PahiloPost

Sep 19, 2024 | ३ असोज २०८१

गोठदेखि ओठसम्म, उत्पादनदेखि उपभोगसम्म : खाद्य सुरक्षा र खाद्य स्वच्छता, आजको आवश्यकता



पहिलोपोस्ट

गोठदेखि ओठसम्म, उत्पादनदेखि उपभोगसम्म : खाद्य सुरक्षा र खाद्य स्वच्छता, आजको आवश्यकता

  • डा . राजेन्द्र ढकाल-

४२ औं विश्व खाद्य  दिवस आज संसारभर 'उत्पादन, पोषण र वातावरणमा सुधार सम्बृद्ध जीवनको आधा' भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइदै छ। संयुक्त राष्ट्र संघले जारी गरेको १७ वटा दिगो विकासका लक्ष्यहरुमा गरिबी तथा भोकमरीको अन्त्यलाई प्रमुख प्राथमिकताका साथ  समावेश गरेको छ, साथै सन् २०३० सम्ममा विश्वबाट गरिबी तथा भोकमरीलाई सुन्य मा झार्ने लक्ष्य लिएको छ।  हेफर इन्टरनेसनल नेपालले पनि स्थापनाको सुरुवाती दिनहरुबाटै दिगो रुपमा  भोकमरी र गरिबी अन्त्य गर्दै वातावरण सुधार गर्ने मिसनका साथ आफ्ना कार्यक्रमहरु समुदायस्तरमा सञ्चालन गर्दै आएको छ।

विश्व खाद्य कार्यक्रमले जारी गरेको विश्व भोकमरी तथ्य हेर्ने हो भने संसारभर झन्डै ८ करोड २८ लाख मानिस प्रत्येक दिन भोको पेट सुत्छन्, जसमा ८ करोड २१ लाख मानिसहरु जीर्ण रुपमा कुपोषित छन्। करिब ९९ प्रतिशत कुपोषित मानिसहरु नेपालजस्ता विकासशील देश हरुबाट छन्। कुपोषितमध्ये ६० प्रतिशत महिलाहरु छन् भने ५ वर्ष मुनिका बालबालिकाको मृत्युको प्रमुख कारण (५० प्रतिशत) कुपोषण रहेको छ। विश्वव्यापी भोकमरी सूचक २०२२ को प्रतिवेदनअनुसार भोकमरीका विभिन्न आयामहरू जस्तै कुपोषण, बाल वृद्धि दर, बाल मृत्युदरका आधारमा निर्धारण गरेको भोकमरी सूचकको नतिजा हेर्ने हो भने नेपाल ८१ औं स्थानमा पर्छ, जसमा नेपालको  कुल जनसंख्याको ५.५ प्रतिशत मानिसहरु कुपोषित छन्, पाँच वर्ष मुनिका १२ प्रतिशत बालबालिका कम तौलका छन् भने ३१.५ प्रतिशत बालबालिका कम उचाइका छन् र २.८ प्रतिशत बालबालिका ५ वर्ष नपुग्दै कुपोषणका कारणले मर्ने गरेको कुरा उल्लेख छ।

मानव जीवनका लागि अति नै आवश्यक पर्ने खाद्य पदार्थहरुको श्रोत वनस्पति तथा प्राणी जगत दुवै क्षेत्र बाट उत्पादित वस्तुहरु पर्छन्। खाद्य वस्तुको माध्यमबाट सर्ने रोगहरुको संख्या दिनानुदिन बढ्दो अवस्थामा रहेको पाईन्छ उपभोक्ताहरुको खाद्य स्वस्थताको अपेक्षा अझसम्म पनि पुरा हुनसकेको छैन। विकसित, विकासशील र अविकसित देशहरुका उपभोक्ताहरुको अपेक्षामा भिन्नता रहेता पनि कसले सुरक्षित खाद्य पदार्थ सेवन गर्न नचाहला? राज्यको प्राथमिकताले गर्दा सुरक्षित खाद्य पदार्थ ग्रहण गर्न पाउने आफनो अधिकारबाट नेपाललगायत विश्वका अधिकांश मुलुकका मानिसहरु बञ्चित भएका छन् उत्पादन बढाउने लालचमा कृषि र पशुपन्छी क्षेत्रमा विषादी, ग्रोथ हर्मोन तथा प्रतिजैबिक पदार्थको को प्रयोग बढ्दो मात्रामा  छ। साथै पशुपन्छीबाट उत्पादित विभिन्न पशुपन्छी जन्य पदार्थहरुमा रोग तथा विभिन्न औषधी एवं हानिकारक रसायनहरुको अवयवका कारण मानव स्वास्थ्य नै जोखिममा परिरहेको सन्दर्भ हाम्रा लागि चुनौतिको बिषय रहन गएको छ।

यसकालागि सम्बद्ध सम्पूर्ण सरोकारवाला निकायहरुको आ-आफ्नो क्षेत्रबाट जिम्मेवारी पालना गरी पशु स्वास्थ्य, मानव स्वास्थ्य र वातावरण स्वास्थ्यमा काम गर्ने बहुनिकाय राष्ट्रिय तथा अन्तरार्ष्ट्रिय संघसंस्थाहरु बीच समन्वयन गरि सहकार्यमा एक स्वास्थ्य अबधारणाअबलम्बन गर्दै प्रमुख जुनोटिक रोगहरुको रोकथाम तथा नियन्त्रण र मानब पसुपंछी बिचको वातावरणीय सम्बन्ध सबल तुल्याउने कार्यक्रमहरुलाई बिशेष प्राथमिकता दिनु पर्दछ ।

मानिसलाई क्रियाशील जीवन व्यतित गर्न तथा स्वस्थ हुन भोजनमा १ ग्राम प्रतिकेजी शारीरिक तौलको प्रोटिन आवश्यक पर्छ जसको ३०-५० प्रतिशत पशुजन्य श्रोत जस्तै दुध अन्डा र माछा मासुबाट प्रतिदिन उपलब्ध हुनुपर्दछ। यी वस्तुको स्वच्छता र स्वस्थता पशुपंछीको शारीरिक स्वास्थ्य, उत्पादन स्थलको सरसफाई तथा गुणस्तरमा निर्भर हुने हुँदा उपभोग गर्नु पहिले ध्यान दिनुपर्दछ। आजभोलि खाद्य स्वस्थतालाई विश्वव्यापी रुपमै जनस्वास्थ्यको प्राथमिकतामा राखिने गरेको पाइन्छ यसमा उत्पादनदेखि उपभोगसम्म अर्थात गोठदेखि ओठसम्मका सबै कृयाकलापहरु पर्दछन्। सुरक्षित पशुजन्य पदार्थहरु प्राप्त गर्न स्वस्थ्य पशुको आवश्यक हुन्छ। पशुको स्वास्थ्य विश्लेषण गर्दा कुनै संक्रामक वा परजीविजन्य, विशेष गरी जुनोटिक रोग (पशुपन्छीबाट मानिसमा सर्ने रोग) भए नभएको ख्याल गर्नुपर्दछ।


चित्र : जुनोटिक रोग तथा बच्ने उपाय। स्रोत: हेफर इ नेपाल


यसको अलावा पशुहरुमा अन्य रासायनिक (जस्तै औषधीजन्य अवशेषहरु, विषादीहरु) तथा भौतिक (रेडियोधर्मी पदार्थहरु) अवस्थासमेत ख्याल गर्नुपर्दछ। जीवित पशुको शरीरमा हुने त्यस्ता जैविक, रासायनिक तथा भौतिक वस्तुहरुले पशुजन्य पदार्थहरु (दूध, मासु, माछा, अण्डा) प्रदूषित गराउने हुँदा जनस्वास्थ्यको हिसावले अनुपयुक्त मानिन्छ। त्यसकारण पशुजन्य खाद्यहरुको सुरक्षित उत्पादनको लागि पशुपालक कृषकहरुले आफ्नो फार्ममा असल उत्पादन अभ्यासहरू अबलम्बन गरि मासु तथा दुध उत्पादनका लागि प्रयोग गरिने पशुहरु प्रदुषित हुनसक्ने जोखिमबाट मुक्त गराउनु पर्दछ। साथै बिरामी पशुपन्छी तथा तिनका उत्पादनहरु बजारमा बिक्री वितरण गर्नु हुदैन।  यदि पशुपन्छीहरुमा प्रतिजैबिक उपचार भैराखेको छ भने कम्तिमा १४ दिनसम्म तिनीहरुको उत्पादन सेवन गर्नु हुदैन। प्रतिजैबिक प्रतिरोधका कारण वर्षेनी करोडौ मानिसहरुले ज्यान गुमाइरहेका छन्, यसको  लागि हालसालै बिबिसीमा प्रकाशित भएको भारतले एन्टिबायोटिक प्रतिरोधी सुपरबगहरूको महामारी सामना गरिरहेको छ भन्ने समाचार एउटा उदाहरण हुन सक्छ।


चित्र : प्रतिजैविक प्रतिरोध तथा रोकथाम गर्ने उपाय। स्रोत: हेफर इ नेपाल


हानिकारक तत्वहरुको पशुजन्य पदार्थहरुमा प्रवेश रोक्न अथवा प्रवेश भैहालेमा पनि अधिकतम् स्वीकार्य मात्राको दायराभित्रै रहनु पर्दछ भन्ने कुरालाई आम उपभोक्तहरु सबैले बुझ्नु अति आवश्यक छ। प्रशोधन र वितरण प्रणालीमा अपनाईएको सरसफाई अभ्यास सम्वन्धी कोड र जोखिम विश्लेषण तथा नियन्त्रण विन्दुजस्ता अवधारणाहरुले खाद्य स्वस्थतामा आफ्नो प्रभावकारिता सिद्ध गरिसकेको सन्दर्भमा जहाँ सम्भव हुन्छ, त्यहाँ लागू गर्दा खाद्य स्वस्थतामा थप सघाउ पुग्न सक्छ।

-ढकाल हेफर इन्टरनेसनल नेपालका कार्यक्रम अधिकृत (पशुधन प्रविधि र एक स्वास्थ्य) हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell