PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

राधादेवीले परिवारका लागि त्याग गरिन्, सत्यमोहनले लोक संस्कृतिका लागि...



सहयोग रञ्जित

राधादेवीले परिवारका लागि त्याग गरिन्, सत्यमोहनले लोक संस्कृतिका लागि...

काठमाडौं : सत्यमोहन जोशीलाई थाहा थियो - मृत्यु उनी सँगसँगै हिँडिरहेको छ। त्यसैले उमेरले शताब्दी पार गरे पनि जहाँ पुग्थे, आफ्नो अनुहारमा मृत्युको भय अलिकति पनि देखाएनन् उनले। वाङ्मय शताब्दी पुरुषको उपमा पाएका उनी भन्थे : मृत्यु सँगसँगै हिँडिरहेको हुन्छ। कहाँ ठेस लागेर लड्ने हो, थाहा हुन्न। जति समय बाँचिन्छ खुसी र आनन्दले बाँच्नुपर्छ।

पछिल्लो २४ दिनदेखि उनी अस्पतालको शैय्यामा थिए। त्यहाँ हुँदा पनि उनले आफ्नो अनुहारमा मृत्युको भय देखाएनन्। जो जो भेट्न पुगे उनीहरुलाई हँसिलो मुहारले अभिवादन गर्थे।

जीवनलाई दर्शन बनाएका उनै शताब्दी पुरुष जोशीको आज १०३ वर्षको उमेरमा निधन भएको छ।

हिँड्नलाई उनले कहिल्यै लठ्ठीको सहारा लिनुपरेन। कार्यक्रममा बोलाउँदा कोही हात दिन खोज्थे। तर, उनी जुरुक्कै उठेर भाषण गर्थे। बखुम्बहालमा रहेको घर अगाडिको बगैँचामा बिहान खाली खुट्टा हिँड्ने, घरमा बनाइएको बुबा शंकरराज जोशी र आमा नुगलदेवी जोशीको प्रतिमा ढोगेर सम्मान गर्ने उनको दैनिकी थियो।

कोरोना महामारीपछि भने उनको दैनिकी केही बदलियो। शरीर अस्वस्थ्य हुन थालेपछि घरभित्रै दिनहरु बित्न थाल्यो। त्यसबेला पनि उनलाई अस्पताल भर्ना गरिएको थियो। पछि अस्पतालबाट घर फर्के। घर पुग्नेहरुलाई भन्थे : व्यस्त छु, त्यसैले मस्त छु। सकाउनु पर्ने काम अझै केही बाँकी छन्। त्यसपछि घरमै चिन्तन गरेर बस्ने हो।

पछिल्लो समय उनी घरैमा चिन्तनमा थिए, आफ्नो 'अन्तिम इच्छा' पूरा गराउन।

उनको घरमै 'चक्रसंवर'को पौभा चित्र निर्माण हुँदै थियो। लोक चित्रकारको नेतृत्वमा उक्त पौभा चित्र निर्माण हुँदै थियो। अन्तिम श्वास फेर्नुअघि उनी सोही चित्र हेर्न चाहन्थे। त्यसैले पछिल्लो केही दिन उनको घरमा पौभा चित्र पूरा गर्ने कामले तिब्रता पाएको थियो। तर, उक्त पौभा नहेरी उनको देहान्त भयो।

'चक्रसंवर'को पौभा चित्र र सत्यमोहन जोशी। तस्विर : नरेन्द्र मानन्धरको फेसबुकबाट


स्कूलको 'लास्ट बेन्च' देखि मदन पुरस्कारसम्म

कुरा १९८५ सालतिरको हो। ललितपुर बुखम्वहालबाट उनी लखरलखर हिँड्दै काठमाडौँ, रानीपोखरी अघिल्तिरको दरबार हाइस्कुल पुग्थे। ललितपुरबाट त्यहाँ पढ्न आउने सायदै अरू कोही थिए। ७-८ वर्षीय केटो एक्लै हिँड्दै फाट्टफुट्ट रहेका पसल नियाल्दै पढ्नका लागि आउँथ्यो।

पढ्नकै लागि करिब दुई घण्टाको हिँड्नुपर्थ्यो। स्कुल समयमै पुग्थे। सरासर लास्ट बेन्चमा गएर बस्थे। पढाइमा कमजोर, ग्रेस मार्क्सको सहारामा बल्लतल्ल पास हुने। शिक्षकको कुटाइ खानुपर्ने। तर, कमजोरीलाई कहिल्यै पनि असफलता मानेनन् उनले। सत्यमोहनको त्यही दैनिक दुई घण्टाको हिँडाइ नै उनको दर्शन बन्यो। त्यही हिँडाइले आफूलाई आसपासका संस्कृतिमात्र नभई देशको राजनीतिक परिवेशसँग साक्षात्कार गराएको उनको अनुभव थियो। हुनत उनले साहित्य र पुरातत्वमा काम गर्छु भनेर सोचेका थिएनन्। दरबार हाइस्कुल पढ्दा न साहित्यबारे राम्रो ज्ञान थियो न संस्कृति र पुरातत्वबारे। त्रि-चन्द्र कलेज पुगेपछि साहित्य अध्ययनमा रुचि भएको थियो उनलाई।

सरकारी जागिरका सिलसिलामा उनी २००१ सालतिर लमजुङ पुगेका थिए। त्यहीँ उनले रैथाने लोकभाका सुने। त्यसमा प्रत्यक्ष जीवन दर्शनका भोगाइ र दुखाइहरू महसुस गरे। मानिस बाटैमा गीत गाउँथे, काम गर्दै आफ्नो सुख दुःख भाकैमा सुनाउँथे। काठमाडौं उपत्यका पार गर्दै पहिलोपटक लमजुङ पुगेका उनीले लोकभाकामा ‘चोखो गीत र शब्द’ भेटे। आफ्नो चेतना र अध्ययन क्षमताले भ्याएसम्म लमजुङका लोकगीत सङ्कलन गर्न थाले।

सत्यमोहनले त्यहाँका गीत, संस्कार र परिवेशलाई आधार बनाएर किताब लेखे 'हाम्रो लोक संस्कृति'। २०१३ सालमा उनलाई 'हाम्रो लोक संस्कृति' कृतिका लागि मदन पुरस्कार दिइयो।

फोटो सौजन्यः मदन पुरस्कार गुठी

त्यही किताब लेखेका कारण उनलाई विपी कोइरालाको सरकारले २०१६ सालमा पुरातत्व र संस्कृति विभागको पहिलो निर्देशकका रूपमा नियुक्त गर्‍यो। पुरातत्व विभागका निर्देशक हुँदा उनले राष्ट्रिय नाचघर, तौलिहवामा पुरातत्व संग्रहालय, पाटनमा पुरातत्व बगैँचा, भक्तपुरमा चित्रकला संग्रहालय स्थापना गरे। गाउँठाउँको लोक संस्कृति बुझेका उनले पुरातत्व र संस्कृति जगेर्णाको हरदम प्रयास गरे।

पुरातत्वमा रहँदा जोशीले प्राचीन मुद्राहरूको अनुसन्धान गर्ने अवसर पाए। मुद्राहरूको ऐतिहासिक र सांस्कृतिक पक्षहरूलाई उजागर गर्ने हेतुले उनले आफूले गरेको अनुसन्धानलाई किताबको रूप दिए। प्राचीन मुद्राहरूमा आधारित किताब 'नेपाली राष्ट्रिय मुद्रा' ले उनलाई २०१७ सालमा दोस्रोपटक मदन पुरस्कार दिलायो।

जननिर्वाचित सरकारलाई अपदस्त गर्दै राजा महेन्द्रले पञ्चायत घोषणा गरे। त्यसपछि उनी नेपालबारे पढाउन चीन पुगे। त्यहाँ उनले चीनमा नेपाली लोक संस्कृतिको बारेमा अध्ययन मात्रै गराएनन्। आफू पनि अध्ययनशील बने र नेपालबाट चीन पुगेका अरनिको र भृकुटीबारे खोजे। 'कलाकार अरनिको' नामक किताब लेखे। उनीहरूलाई नेपालीमाझ चिनाए। जानकारहरू अरनिकोलाई राष्ट्रिय विभूति घोषणा गरिनुमा सत्यमोहनको अथक साधना रहेको बताउँछन्।

नेपाल फर्केपछि जोशी फेरि सुदूरपश्चिम पुगे लोक संस्कृतिको अध्ययन गर्न। कर्णालीको सिंजा खोला उपत्यकाको लोक संस्कृतको खोजीमा तल्लीन भए। उनीसहित पाँच जनाको टोलीले पाँच किताब तयार पारे। २०२८ मा संयुक्त रूपमा सबैलाई मदन पुरस्कार दिइयो।

 १०० वर्ष पुग्दा आयोजित नागरिक अभिवादन कार्यक्रममा सत्यमोहन जोशी 


यसैसँग तीन मदन पुरस्कार पाउने जोशी एकमात्र व्यक्ति बने। उनी भन्थे , 'मानिसलाई सफल बनाउने नै अध्ययन र अनुसन्धानले गर्दा हो। त्यो क्रम अहिले कम हुँदै गएको छ। मदन पुरस्कार त्यसैको फल हो।'

राधादेवीको त्याग नै सत्यमोहनको बल

आधुनिक समयमा दाम्पत्य जीवनमा धेरै उतारचडाव आउँछ। पारिवारिक सुखका लागि समय र पैसाले ठूलो भूमिका खेल्छ। तर सत्यमोहन र राधादेवी अपवाद थिए।

८० वर्षभन्दा बढीको दाम्पत्य जीवनमा दुईबीच समय र पैसाका लागि कहिल्यै कलह भएन। एक-अर्काबीच गुनासो भएन। तीनवर्ष अघिको भेटमा सत्यमोहनले राधादेवीलाई देखाउँदै उनको त्यागले गर्दा नै आफू बलियो बनेको प्रतिक्रिया दिएका थिए।

 १०० वर्ष पुगेको अवसरमा घरमा आयोजित कार्यक्रममा सत्यमोहनसँगै राधादेवी


'सुख त्यागमा छ। उनले परिवारका लागि त्याग गरिन्। मैले लोकसंस्कृतिका लागि,' जोशीले भनेका थिए। सत्यमोहन पछिल्लो समय उनै राधादेवीसँग धेरै समय बिताउन चाहन्थे।

सत्यमोहनको जीवनको आरोहअवरोहमा साथ दिएकी तिनै राधा आज अन्तिपटक आफ्नो जीवनसाथीको अनुहार हेर्न किस्ट अस्पताल पुगिन्। ह्वील चेयरमा अस्पताल पुगेकी उनको मुहार मलिन थियो। सत्यमोहनको पार्थिव शरीरमा राधाले रुँदै माला लगाइदिन्छिन्। अनि, अन्तिमपटक अनुहार हेर्दै अलविदा भनिन्। 

अस्पतालमा सत्यमोहन जोशीकी श्रीमती राधादेवी


सत्यमोहन र राधादेवीले मरणोरपान्त आफ्नो शरीर किस्ट अस्पताललाई दान गर्ने घोषणा गरेका थिए। त्यसैले आज ललितपुर महानगरपालिकामा अन्तिम श्रद्धाञ्जली पश्चात सत्यमोहनको शव फेरि अस्पतालमा लगिएको छ।

'मायाले यहाँसम्म दोहोर्‍यायो'

राणा शासनको परिवेशमा हुर्केर गणतन्त्रसम्म आइपुग्दा सत्यमोहनले सामाजिक र सांस्कृतिक परिवर्तनप्रति त्यति गुनासो गरेनन्। सामाजिक र सांस्कृतिक परिवर्तनलाई उनी स्वीकार्दै अघि हिँड्नुपर्नेमा जोड दिन्थे। संस्कार र संस्कृतिको स्वरूप नै परिवर्तन भएमात्र त्यसले विकृति ल्याउने तर्क थियो उनको।

तर राजनीति गर्नेप्रति भने उनका केही गुनासो थिए। राणा शासन, बहुदल, राजतन्त्र, पञ्चायत, राजाको ‘कू’ हुँदै लोकतन्त्र गण्तन्त्रसम्मको अनुभूति गरेका उनी वर्तमान राजनीतिबाट जनताले ठूलो आशा गरे पनि त्यो हुन नसकेको बताउँथे।

एक शताब्दीको यात्रामा उनले राजनीतिमा अब्बल त्रिभुवनलाई देखे। राजा त्रिभुवनले देशको लागि भनेर राजगद्दी त्यागेर प्रजातन्त्र ल्याउन भूमिका खेलेको बताउँथे उनी। अहिले राजतन्त्र सकिएर गणतन्त्र आएपछि जनतामा परिवर्तनको आशा पलाएको महसुस उनले गरेका थिए। तर, जनताले त्यो भोग्न नपाएको भन्दै भन्थे, ‘म यहाँ घरबाट बाहिर जाँदा नै कति समस्या देख्छु। त्यो बेलाको त्याग अहिलेका नेताहरूमा देख्दिनँ।'

संस्कृति, पुरातत्व र लोक संस्कृतिका जीवन्त संग्रहालय सत्यमोहन जोशी शताब्दी पार गर्दा केही विश्राम गर्ने ‘मुड’ मा थिए। घर र स्वास्थ्यको ख्याल गर्नुपर्‍यो भन्दै उनी सबैलाई सुनाउँथे : मलाई यति बाँच्छु जस्तो कहिल्यै लागेन। सबैको साथ र मायाले यहाँसम्म डोहोर्‍यायो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell