
बुटवल : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले रुपन्देहीलाई नमूना र समृद्ध जिल्लाको रुपमा विकास गरिने दावी गरेका छन्। सुकुम्वासी तथा अव्यवस्थित बसोवासीको समस्यालाई दीगो रुपमा समाधान गर्ने गरी एमालेको सरकारले काम सुरु गरेपनि सरकार परिवर्तन हुँदा बीचमै ओझेलमा परेको पौडेलको भनाई रह्यो।
रुपन्देही २ प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका पौडेलले निर्वाचनपछि एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन गरी विगतका दिनमा अगाडि सारिएका कामलाई पूर्णता दिने बताए। नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी रुपन्देही १ को देवदहमा संयुक्त निर्वाचन प्रचारप्रसार कार्यालयको उद्घाटन गर्दै उनले उक्त भनाई राखेका हुन्।
नेता पौडेलले रुपन्देहीको क्षेत्र नम्बर १ विकासको हिसाबले अगाडि बढिरहेको उल्लेख गर्दै दक्षिण र उत्तर जोड्ने गरी रोहिणी करिडोरको अवधारणालाई अगाडि सारेको बताए।
सोही अवसरमा बोल्दै एमाले सचिव तथा रुपन्देही १ प्रतिनिधिसभा सदस्यका उम्मेदवार छविलाल विश्वकर्माले आफ्नै पार्टीको सरकारलाई गिराई प्रतिपक्षलाई सुम्पनेहरुबाट विकासको आशा गर्न नहुने बताए। उनले घनश्याम भूसालले उम्मेदवारको लागि पार्टी छोडेर राजनीतिक बेईमानी गरेको आरोप लगाए। नेता विश्वकर्माले सत्तागठबन्धनले साझा उम्मेदवार अगाडि सार्न नसकेको उल्लेख गर्दै स्वतन्त्र उम्मेदवारलाई आत्मसाथ गरेर गल्ती गरेको बताए। राजनीतिक बेईमानीहरुलाई जनताले मंसिर ४ गते कार्वाही गर्ने उनको भनाई थियो।
कार्यक्रममा नेकपा एमालेका पोलिट ब्युरो सदस्य तथा प्रदेश १(२) का उम्मेदवार दधिराम न्यौपाने, प्रदेश १(१) का उम्मेदवार आशिषकुमार चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीमा सहामहामन्त्री ताहिर अली, जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एवं रोहिणी गाउँपालिका प्रमुख विद्यालप्रसाद यादव लगायतले आ–आफ्ना भनाई राखेका थिए।