पोखरा: नवौँ राष्ट्रिय खेलकुदमा शनिबार महिला ह्यान्डबल खेलमा एपीएफलाई हराउँदै नेपाल आर्मीले जित निकाल्यो। पोखरा रंगशालामा सम्पन्न खेलमा नेपाल आर्मीको टोलीबाट ह्यान्डबल कोर्टमा उत्रिएकी थिइन् मञ्जु राउत पनि। त्यो दिनको नतिजाले आर्मीको जितमात्र निकालेको थिएन - मञ्जुको गोल्ड मेडल लगाउने सपना पनि पूरा गरेको थियो।
आर्मीको टोली खेलेलगत्तै पुरुषतर्फको ह्यान्डबल टोली उत्रियो कोर्टमा। नेपाल आर्मी र गण्डकी उत्रिएका थिए मैदानमा। केही समय अघिमात्र महिला तर्फबाट जित निकालेको आर्मीको पुरुष टोली पनि नतिजा आफ्नै पोल्टमा पार्न चाहान्थ्यो।
कोर्टमा पुरुष ह्यान्डबल खेल्दै थिए। उता जितको उत्सव मनाएर नसक्दै महिला खेलाडी पुरुषतर्फको खेलमा हुटिङ गर्न कर्भडहल आइपुगे। खेलाडीलाई समर्थन दिइरहेको समूहमा काखमा बच्चा लिइरहेकी थिइन् एक खेलाडी पनि। अनि मलिन देखिन्थ्यो उनको अनुहार। उनी थिए मञ्जु राउत।
फोटोः एनएसजेएफ गण्डकी
बन्दुक चलाउने इच्छाले ह्यान्डबलसम्म
९ वर्ष बित्यो मञ्जु विभागमा संलग्न भएको। खेल्न थालेको भने ७ वर्ष भयो। सानैदेखि उनलाई खेलकुदमा रुचि थियो। त्यही रुचिलाई विभागमा आएर निरन्तरता दिइन् उनले।
‘विभागमा आएर खेल्न थालेको। सानैदेखि मलाई खेल्न रुचि लाग्थ्यो। खेलाडी बन्न। स्कुलमा राष्ट्रपति रनिङ सिल्ड हुन्थ्यो। त्यसमा पनि म भाग लिन्थेँ, खेलिरहन्थेँ। त्यसमा म भलिबल र दौडहरुमा धेरै मेडल लिइसकेको छु,’ उनले भनिन्।
खेलाडी बन्ने हुटहुटीभन्दा उनमा बन्दुक चलाउने इच्छा बेजोड थियो। त्यही इच्छाले हो उनी आर्मीमा भर्ती भएको।
'सानैदेखि लक्ष्य चाहिँ मलाई एकदम बन्दुक चलाउने थियो। बाहिर हिँड्दा खेरि पनि आर्मी ड्रेसमा कस्तो राम्रो देख्छ नि त अनि मलाई चाहिँ गोली कसरी चल्छ गोली चलाउन पाएँ हुन्थ्यो त्यस्तो रहर लाग्थ्यो। अनि मेरो दाई आर्मी हुनुहुन्छ। तँलाई त्यस्तो रहर छ भने खुलेको बेलामा भन्छु भनेर बोलाउनु भयो। म गएँ,’ उनले सुनाइन्।
विभागमा आएपछि तालिम हुने। एकदिन तालिममा आउँदा क्लबको सर आए। विभागमा पसेपछि पनि क्लबमा जाने र खेल्नै इच्छा उनको पहिलेको जस्तै।
‘क्लबमा जान चाहिँ मलाई पहिल्यैदेखि एकदम रुचि थियो। सरहरु आउँदा फिजिकल टेस्ट सबैमा पास भएँ। अनि सरहरुले ह्यान्डबलमा लैजानुभएको हो। अनि गेम यस्तो भनेर सिकाइदिनु भयो। जोस आयो। खेल्नुपर्छ आर्मीको लागि पनि केही हुन्छ आफ्नो लागि पनि केही हुन्छ राष्ट्रको लागि पनि केही हुन्छ। गर्न सक्छु भनेर आँट आयो,’ खुसी सुनिइन् उनी।
सुत्केरी भएको ६ महिनापछि 'कमब्याक'
सात वर्ष यता लगातार खेलिरहेकी उनको खेल यात्रा अब भने टुंग्याउने निश्चित गरेकी छिन्। कारण १२ महिनाकी छोरी प्रियन्सा। छोरी गर्भमा बसेपछि उनले आफ्नो खेल जीवनको यात्रा टुंग्याउन खोजेकी थिइन्। तर, राष्ट्रिय खेलकुदमा गोल्ड मेडल लगाउने उनको सपना अधुरै थियो।
दूधे छोरी छोडेर हिँड्न आमाको मनले कसरी मान्छ र? दोधारमा परिरहेको बेला श्रीमानले साथ दिए। क्लबका गुरुहरुले प्रोत्साहन गरे। ६ महिने छोरी छोडेर उनी लागिन् तयारीमा।
‘६ महिनाको बच्चा छोडेर ट्रेनिङमा जान्थेँ। घरबाट - जाऊ खेल तिम्रो लागि हुन्छ भन्नुहुन्थ्यो। बच्चा हेर्दिन्छु भन्नुहुन्थ्यो,’ उनले भनिन्, ‘यसरी तालिममा गाह्रो त हुन्छ तैपनि अब खेल्न मन लागेपछि। सबैले खेल्नुपर्छ तिमीले मिहिनेत गर भनेर पनि भन्नु भयो।’
आमा बन्दा शरीर पुगेको थियो ७५ केजी। खेलप्रतिको लगावले उनले दुई महिनामै २४ केजी तौल घटाइन्।
‘७५ केजी थिएँ। ५१ केजीमा आइसकेँ,’ उनले भनिन्।
तालिममा जाँदा परिवारले छोरी केही समयको लागि हेर्दिन मिल्ने। दूध पिउँदै गरेकी छोरीलाई छोडेर हिँड्न पनि नमिल्ने। प्रतियोगितामा उनले छोरीलाई पनि सँगै ल्याइन्। काखमा छोरी हुँदा थोरै अप्ठ्यारो भएको उनी बताउँछिन्। तर, विभागकै दाइहरुले हेरिदिने भएर केही सहज भयो उनलाई। खेलको दुई दिन अगाडि मात्र उनका श्रीमान् पनि आइपुगे पोखरा। अनि थप सहज भयो मञ्जुलाई।
उनका श्रीमान् राजन खरेल पनि सेनामै छन्। राजन गणबाट प्रधानसेनापति ट्रफी प्रतियोगितामा सहभागी हुन्छन् बास्केटबलबाट। श्रीमतीले खेलेर स्वर्ण पदक जित्दा खुसी सुनिए उनी। उनैले त हो मञ्जुलाई खेलमा जोड गरेको पनि।
‘गर्व महसुस हुन्छ। उ अर्कै पल्टन म अर्कै पल्टन भए पनि। उसले छोड्छु भन्दै थियो। अब मैले एउटा गेम खेल अनि छोड भनेको। उसको इच्छा नै यही थियो। यो गेम खेलेर गोल्ड मेडल लगाउने उसको इच्छा थियो,’ उनले भने।
मञ्जुको निर्णयमा भने अब राजनले साथ दिने भएका छन्। छोरी हुर्किँदै छिन्। छोरी बढेसँगै जिम्मेवारी थपिन्छ। थपिने जिम्मेवारीलाई हेरेर र बुझेर नै हो मञ्जुले नखेल्ने निर्णय लिन लागेको। सायद उनको यो अन्तिम खेल नै हो। र, सायद अन्तिम स्वर्ण पदक पनि।
‘लास्ट नै हुनसक्छ। एक वर्षमा मिसन पर्छ होला सायद मिसनबाट आएपछि के हुन्छ। उ सक्दैन होला। हाम्रो चाहिँ अब आफ्नो घरपरिवार पनि हेर्नपर्यो नि सधैँ यहाँ बसेर त हुन्न नि म पनि बाहिर उ पनि बाहिर घरमा पनि मान्छे चाहिन्छ। छोरी स्कुल जाने बेला हुन्छ। त्यहीँ भएर छोड्ने कुरा हो,’ उनले भने।
यद्यपि मञ्जुले खेललाई निरन्तरता दिन चाहिन् भने साथ दिने उनले बताए। भने, ‘म साथ त दिन्छु नदिने भन्ने कुरा छैन। उसले आँटेको कुरामा मैले रोकेको छैन। खेल्छ भने मेरो साथ हुनेछ।’