
बुटवलः पाल्पामा पानीमा डुबेर आइतबार दुई बालबालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा तानसेन नगरपालिका ७ रक्सा बस्ने थमन रानाको १५ महिनाकी छोरी प्रिज्मा राना र तानसेन ६ टुँडिखेलनजिकै बस्ने शेषकान्त पराजुलीका १२ वर्षीय छोरा सुजल पराजुली रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए।
आइतबार साँझ ५ बजे आफ्नै घरमा खेल्ने क्रममा बाल्टिनमा रहेको पानीमा टाउको डुबिरहेको अवस्थामा प्रिज्माको आमाले दखेपछि उपचारका लागी लुम्बिनी मेडिकल कलेज प्रभास ल्याएकोमा चिकित्सकले मृत घोषणा गरेको डीएसपी थापाले बताए।
त्यस्तै, आइतबार दिउँसो तानसेन २ नारायणस्थानमा रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेका सुजललाई उपचारका लागि तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा ल्याएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।
यसैबीच, पाल्पाकै रम्भा गाउँपालिका १ असेर्दीस्थित कालीगण्डकी नदी किनारमा बेवारिसे शव फेला परेको छ। आइतबार बिहान साढे १० बजे अन्दाजी १५ वर्षको लिङ्ग पहिचान नभएको सडेगलेको अवस्थामा शव फेला परेको डीएसपी थापाले बताए।
शव पोष्टमार्टमको लागि रामपुर अस्पतालमा राखिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।