PahiloPost

Jun 19, 2025 | ५ असार २०८२

सलाहको गोलमा लिभरपुलले सिटीलाई हरायो, लिड्समाथि शीर्षस्थानको आर्सनलको जित



पहिलोपोस्ट

सलाहको गोलमा लिभरपुलले सिटीलाई हरायो, लिड्समाथि शीर्षस्थानको आर्सनलको जित
Photo: Premier League

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुलले म्यानचेस्टर सिटीमाथि जित निकालेको छ। एनफिल्ड मैदानमा सम्पन्न खेलमा घरेलु टोली लिभरपुलले सिटीमाथि १-० गोलको संघर्षपूर्ण जित निकाल्यो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा सिटीलाई हराउन लिभरपुलका मोहम्मद सलाहले ७६ औं मिनेटमा निर्णायक गोल गरे।

त्यस्तै गएराति नै सम्पन्न अर्को खेलमा शीर्षस्थानको आर्सनलले लिड्स युनाइटेडमाथि जित निकाल्यो। विजुलीसँग सम्बन्धित प्रविधिक कारणले ४० मिनेट प्रभावित भएको खेलमा आर्सनललाई जित दिलाउन बुकायो साकाले ३५ औं मिनेटमा निर्णायक गोल गरे। अर्कोतर्फ लिड्सले खेलमा फर्कने अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन। ६४ औं मिनेटमा लिडसले पाएको पेनाल्टीको अवसरमा प्याट्रिक बामफोर्ड चुकेका थिए।

गएरातिका अन्य खेलमा म्यानचेस्टर युनाइटेड र न्यु क्यासल गोलरहित बराबरीमा रोकिँदा साउथह्याम्टन र वेस्टहम १-१ गोलको बराबरीमा रोकिए।

योसँगै १० खेलबाट २७ अंक जोडेको आर्सनल शीर्षस्थानमा छ भने समान २३ अंक जोडेको म्यानचेस्टर सिटी र टोटेनहम दोस्रो र तेस्रो स्थानमा छन्। चौथो स्थानमा १९ अंक जोडेको चेल्सी, पाँचौं स्थानमा १६ अंक जोडेको म्यानचेस्टर युनाइटेड र छैटौं स्थानमा १५ अंक जोडेको न्युक्यासल छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell