
स्पेनिस ला लिगामा गएराति सम्पन्न एल क्लासिकोमा रियल मड्रिडले जित निकालेको छ। सान्टिआगो बर्नेबेउमा सम्पन्न खेलमा घरेलु टोली मड्रिड बार्सिलोनामाथि ३-१ गोलअन्तरको जित निकालेको हो।
खेलको १२ औं मिनेटमा करिम बेन्जेमाले घरेलु टोलीलाई अग्रता दिलाएका थिए। त्यस्तै ३५ औं मिनेटमा फेडेरिको भाल्भर्डेले गोल गर्दा पहिलो हाफमा रियल दुई गोलले अघि रह्यो। दोस्रो हाफमा अन्तिम समयतिर बार्सिलोनाले गोल फर्काए पनि खेलमा फर्कन त्यो पर्याप्त भएन। बार्सिलोनाका लागि खेलको ८३ औं मिनेटमा फेरान टोरेसले गोल फर्काए। तर, इन्ज्युरी समयमा रियलका रोड्रिगोले इन्ज्युरी समयमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै गोल गर्दा मड्रिडले ३-१ गोलअन्तरले खेल जित्न सफल भयो।
योसँगै ९ खेलबाट २५ अंक जोडेको रियल मड्रिड तालिकाको शीर्षस्थानमा छ भने समान खेलबाट २२ अंक जोडेको बार्सिलोना दोस्रो स्थानमा छ।