PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

आगामी दुई महिनाभित्र नेपालले यी चार मुलुकसँग गर्दैछ दुईपक्षीय हवाई सम्झौता



वसन्तराज उप्रेती

आगामी दुई महिनाभित्र नेपालले यी चार मुलुकसँग गर्दैछ दुईपक्षीय हवाई सम्झौता

काठमाडौं : आगामी दुई महिनाभित्र नेपालले चार मुलुकसँग दुईपक्षीय हवाई सम्झौता पूरा गर्ने भएको छ। धमाधम उडान सञ्जाल विस्तारका लागि प्रारम्भिक प्रक्रिया सुरु गरेको सरकारले संघीय चुनाव सकिएलगत्तै चार मुलुकसँगको सम्झौता टुंगो लगाउने तयारी रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले बताए।

हालै अमेरिका, स्विटजरल्याण्डसँग प्रारम्भिक प्रक्रिया सुरु गरिसकेको नेपालले केही दिन अगाडिमात्र रुवाण्डा उच्चायुक्तसँग औपचारिक छलफल भएको उनले जानकरी दिए।

‘उडान गन्तव्य संजाल विस्तारका लागि हामीले विभिन्न मुलुकसँगको दुईतर्फी हवाई सम्झौतालाई अगाडि बढाउँदै आएका छौं’, मन्त्री श्रेष्ठले भने, ‘अस्ति स्विटजरल्याण्डसँग एमओयु भइसकेको छ। अमेरिकासँगको प्रक्रिया अगाडि बढिरहेको छ। दुवै मुलुकको उडान सम्झौताका लागि यो सम्मेलनमा प्रक्रिया अगाडि बढाइनेछ।’

उनका अनुसार रसिया उडानका लागि प्रारम्भिक पत्राचार सुरु भइसकेको छ।

डिसेम्बरमा थप सम्झौता हुने

दुईतर्फी हवाई सम्झौताका लागि एक सय २६ मुलुकबीचको भेला आउँदो डिसेम्बरमा आयोजना हुने भएको छ। नाइजेरियाको अबुजामा आयोजना हुन लागेको यो कार्यक्रममा नेपालले चार मुलुकसँग दुईतर्फी हवाई सम्झौता गर्ने योजना रहेको पर्यटनमन्त्री श्रेष्ठले बताए।

यो सम्मेलनमार्फत विभिन्न मुलुकलाई एकै ठाउँमा रहेर दुईपक्षीय हवाई सम्झौता गर्न सहज हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

एकमुष्ठ रुपमा हवाई सम्झौता गर्न सकिने यो सम्मेलनमा सबै मुलुकले सम्भावना र इच्छाअनुसार दुईपक्षीय हवाई सम्झौता गर्न सक्नेछन्। यो अवसरमा नेपालले थप अरु मुलुकसँग पनि दुईपक्षीय हवाई सम्झौता गर्न सक्ने सम्भावना रहेको जनाइएको छ।

नाइजेरियाको अबुजामा आयोजना हुन लागेको कार्यक्रममा डिसेम्बर ५ देखि ९ तारिखसम्म आयोजना हुने प्राधिकरणले जनाएको छ।

पर्यटन मन्त्रालयका अनुसार इण्डोनेसियासँगको प्रक्रिया सम्झौताको अन्तिम चरणमा रहेको छ। नयाँ मुलुकमा दुईपक्षीय उडान सुरु भएसँगै नियमित उडानका लागि युरोपियन युनियनको सुरक्षा सूचीले कुनै असर नगर्ने मन्त्रालयले जनाएको छ।

विश्व उड्डयन सुरक्षा मापदण्ड अनुसार ७० प्रतिशतभन्दा कायम भइसकेका कारण यी मुलुकतर्फ दुईतर्फी उडानका लागि कुनै असर नपर्ने जनाइएको छ।

यी मुलुकसँग दुईतर्फी हवाई सम्झौता भएसँगै नेपालका तर्फबाट नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले सिधा उडान गर्न सक्ने जनाइएको छ।

हाल नेपालमा टर्किस, कतार एयरवेज, सिंगापुर, थाइलगायत विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले विभिन्न ट्रान्जिट हुँदै नेपाल-अमेरिका उडान सेवा दिँदै आएका छन्। जसमध्ये सिंगापुर एयरलाइन्सले सबैभन्दा बढी यात्रु अमेरिका लगिरहेको छ।

हाल नेपालले ४० वटा मुलुकसँग दुईतर्फी सिधा उडानको सम्झौता गरिसकेको छ। कुल ४० मध्ये २० वटा गन्तव्यमा मात्र नियमित व्यावसायिक उडान हुँदै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell