
पोखरा : भारतको राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडीले कर्णाली प्रदेशबाट सहभागिता जनाएको भन्दै चार टोलीले ‘प्रोटेस्ट’ गरेका छन्।
नवौं राष्ट्रिय खेलकुदको तेस्रो दिन पुरुष स्टिबल चेज विधामा कर्णाली प्रदेशबाट सहभागी दुर्गाबहादुर बुढाको सहभागितालाई लिएर तीन विभागीय र गण्डकी प्रदेश गरी चार टोलीले प्राविधिक उपसमितिको संयोजक समक्ष निवेदन दिएका हुन्।
‘प्रोटेस्ट’मा भारतबाट खेल्दै आएका बुढाले १३औँ सागमा सहभागिता नजाएकोसमेत उल्लेख छ।
‘मित्र राष्ट्र भारतबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व जनाउँदै आउनुभएको र गत ८औँ राष्ट्रिय खेलकुदमा नेपालगंजमा समेत कर्णाली प्रदेशबाट सहभागी भइ पदक जितेको र १३औँ सागमा राष्ट्रिय टोलीको तयारीको सिलसिलामा भारतबाट प्रतिनिधित्व गर्दै खेल्ने हुँदा नेपालबाट सहभागी भएर खेल्न नसक्ने जनाएर राष्ट्रको प्रतिनिधित्व गर्न सक्नुभएन,’ निवेदनमा लेखिएको छ।
यस्तोमा राष्ट्रिय खेलकुदमा सहभागी भएर पदक जित्ने तर राष्ट्रका लागि उपस्थित हुन नसक्ने भन्दै चार टोलीले न्यूनतम सुविधा पाएर प्रयास गरेका खेलाडी यसबाट हतोत्साहित हुने उल्लेख गरेका छन्।
चार टोलीले ३ हजार मिटर स्टिबल चेज इभेन्टमा उनको सहभागिता खारेजीको समेत माग गरेका छन्। निवेदनमा उल्लेख भएजस्तो दुर्गाको एथलेटिक्स डेटाबेस भारतबाट रजिस्टर गरिएको पाइएको छ।