युक्रेनको राजधानी कीभमा सोमवार बिहान कम्तीमा तीनवटा विस्फोटको आवाज सुनिएको छ। हवाई आक्रमणका साइरन बजेलगत्तै ति विस्फोटहरु सुनिएको बीबीसीले उल्लेख गरेको छ।
मेयर भिटाली क्लिट्स्कोले केन्द्रीय शेभचेन्किभ्स्की क्षेत्रका आवासीय भवनहरू क्षतिग्रस्त भएको बताए। उद्धारकर्ताहरू घटनास्थलमा रहेको र स्थानीय बासिन्दाहरूलाई हवाई आक्रमणको आश्रयस्थलमा बस्न भनिएको जानकारी दिए।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको कार्यालयका प्रमुख एन्ड्री यर्माकले आक्रमण कथित ‘कामिकाजे ड्रोन’बाट भएको बताएका छन्।
स्थानीय समय अनुसार बिहान ७:०० बजे विस्फोट भएको उक्त शहरमा रहेका बीबीसीका संवाददाता पल एडम्सले जानकारी दिएका छन्। तीमध्ये एक विस्फोट सिटी सेन्टर नजिकै सुनिएको बताइएको छ।
व्यस्त समसमा राजधानी कीभमा रसियाली मिसाइलहरूले आक्रमण गरेको एक हप्ता पछि यी विस्फोट भएका हुन्। उक्त मिसाइल आक्रमणमा १९ जनाको मृत्यु भएको थियो।
रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले गत साता रसियाले कब्जा गरेको क्रिमियासँग जोड्ने प्रमुख पुलमा भएको बम विस्फोटको बदलास्वरुप आक्रमण भएको बताएका छन्। जसको दोष उनले युक्रेनलाई लगाएका छन्।
युद्ध सुरु भएपछि पहिलो पटक कीभको केन्द्रलाई प्रत्यक्ष रूपमा निशाना बनाएर हमला गरिएको हो।
यस हप्ताको सुरुमा पुटिनले युक्रेनमा थप ठूला स्ट्राइकहरूको आवश्यकता नरहेको बताएका थिए। अधिकांश स्थानमा आक्रमण गरिएको भन्दै उनले देशलाई नै ध्वस्त पार्ने आफ्नो उद्देश्य नभएको बताएका थिए।