PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

भारतबाट खेलेको भन्दै चार टोलीको दुर्गाविरुद्ध ‘प्रोटेस्ट’, पछि उनैले जिते कर्णालीका लागि पहिलो स्वर्ण



मुकुन्द घिमिरे

भारतबाट खेलेको भन्दै चार टोलीको दुर्गाविरुद्ध ‘प्रोटेस्ट’, पछि उनैले जिते कर्णालीका लागि पहिलो स्वर्ण

पोखरा : नवौं राष्ट्रिय खेलकुदको चौथो दिन बिहान चर्चा एथलेटिक्सले पायो। चर्चा थियो दुर्गाबहादुर बुढाको। भारतीय आर्मीमा कार्यरत उनले भारतबाट पनि अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको भन्दै तीन विभाग र गण्डकी प्रदेश गरी चार टोलीले ‘प्रोटेस्ट’ पनि हाने।

केही बेरमा खेल सुरु भयो। र, ३ हजार मिटर स्टिबल चेजको पुरुषतर्फ दुर्गाले नै स्वर्ण जिते। उनले निर्धारित दुरी ८ मिनेट ५५:१९ सेकेन्डमा जित्दा दोस्रो स्थानका अजित यादवले ९ मिनेट २१: १० सेकेन्डमा निर्धारित दुरी पार गरे।

त्यस्तै, तेस्रो स्थानमा रहेका सुवास कार्कीले ९ मिनेट २२: १५ सेकेन्डमा दुरी पार गरे। उनले जितेको स्वर्ण नै कर्णालीले यसपाला जितेको पहिलो स्वर्ण हो।

उनी स्वर्ण जितेसँगै चर्चामा रहे। उनीमाथि लागेको आरोप पनि कमजोर भने छैन।

‘मित्र राष्ट्र भारतबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व जनाउँदै आउनु भएको र गत ८औँ राष्ट्रिय खेलकुदमा नेपालगंजमा समेत कर्णाली प्रदेशबाट सहभागी भई पदक जितेको र १३औँ सागमा राष्ट्रिय टोलीको तयारीको सिलसिलामा भारतबाट प्रतिनिधित्व गर्दै खेल्ने हुँदा नेपालबाट सहभागी भएर खेल्न नसक्ने जनाएर राष्ट्रको प्रतिनिधित्व गर्न सक्नुभएन,’ निवेदनमा लेखिएको छ।

यस्तोमा राष्ट्रिय खेलकुदमा सहभागी भएर पदक जित्ने तर राष्ट्रका उपस्थित हुन नसक्ने भन्दै चार टोलीले न्यूनतम सुविधा पाएर प्रयास गरेका खेलाडी यसबाट हतोत्साहित हुने उल्लेख गरेका छन्।

चार टोलीले ३ हजार मिटर स्टिबल चेज इभन्टमा उनको सहभागिता खारेजीको समेत माग गरेका थिए। निवेदनमा उल्लेख गरेजस्तो दुर्गाको एथलेटिक्स डेटाबेस भारतबाट रजिस्टर गरिएको पाइएको छ।

के भन्छन् दुर्गा?

दुर्गाको तर्क भने फरक छ। आफूले नेपालबाटै खेल्न चाहेर पनि अवसर नपाएको उनी तर्क गर्छन्। यसैको इगो लिएर आफूले खेल सुधारेको उनले सुनाए।

उनले आफू रोजीरोटीका लागि भारत गएको भन्दै नेपाल फर्किएर खेल्ने योजना रहेको सुनाए। उनको तर्क छ : भारतबाट एनओसी ल्याउने हो भने नेपालबाट खेल्न कुनै समस्या हुने छैन।

उनी भारतको राष्ट्रिय खेलकुदमा पनि च्याम्पियन हुन् र नेपालको पनि। त्यस्तै, भारतीय टोलीबाट एसियन च्याम्पियनसीपको शीर्ष ८ मा पर्नु उनको उत्कृष्ट नजिता हो।

‘म त रिटायर्ड भएर आउने नेपालमै हो। अब एकवर्षपछि आउँछु। एनओसी ल्याएपछि खेल्न पाउँछु,’ उनको तर्क गर्छ।

यद्यपि, ओलम्पिक चार्टडमा भने यो एउटा देशबाट ओलम्पिक, रिजनल या कन्टिनेन्टल खेल खेलेको छ भने तीनवर्षसम्म अर्को देशबाट खेल्न नपाउने नियम छ

उनले राष्ट्रिय खेलकुदमा भने जिल्ला छनोट नखेलेपनि प्रदेश छनोट खेलेको उल्लेख गरे। १३औँ दक्षिण एसियाली खेलकुदमा उपस्थित नभएको सन्दर्भमा उनका गुरु हरिबहादुर रोकायाले बचाउ गर्दै त्यतिबेला अल्ट्रा रेसका लागि उनी स्वीजरल्याण्ड गएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell