काठमाडौं : वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा सरकारले मंगलबार सार्वजनिक बिदा दिने भएको छ।
गृह मन्त्रालयले सोमबार सूचना जारी गर्दै जोशीनको निधनमा शोक मनाउन देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्था, विदेशस्थित कूटनीतिक नियोगहरुमा मंगलबार बिदा दिने उल्लेख छ। मंगलबार नै राष्ट्रिय झण्डा झुकाउने निर्णय सरकारले गरेको छ।
पर्यटन मन्त्रालयले बिदा दिन आइतबार प्रस्ताव गरेको थियो। पर्यटनमन्त्री जीवनराम श्रेष्ठको प्रस्तावलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वीकृति दिइसकेका थिए।
ललितपुरस्थित किस्ट मेडिकल कलेजमा उपचाररत जोशीको आइतबार बिहान निधन भएको थियो।
स्वास्थ्यमा समस्या देखिएपछि जोशीलाई दुई साताअघि अस्पताल भर्ना गरिएको थियो। उनको १०३ वर्षको उमेरमा निधन भएको हो। उनी तीन पटक मदन पुरस्कार पाउने पहिलो नेपाली हुन्।