PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

आमाको प्रतिद्वन्द्वीसँग भिड्न उत्रेकी मानुषी : परिवारको हैन एजेण्डाको बिरासत बोकेर अघि बढेकी छु



पहिलोपोस्ट

आमाको प्रतिद्वन्द्वीसँग भिड्न उत्रेकी मानुषी : परिवारको हैन एजेण्डाको बिरासत बोकेर अघि बढेकी छु

काठमाडौं : काठमाडौं निर्वाचन क्षेत्र नम्बर - ७ मा उम्मेदवार छिन् मानुषी यमी भट्टराई। नेपाल समाजवादी पार्टी (नेसपा)की उनी नेकपा (माओवादी केन्द्र)को चुनाव चिन्ह हसिँया हतौडा लिएर चुनावी मैदानमा छिन्।

अरु उम्मेदवारसँग प्रतिस्पर्धा गर्न सत्ता गठबन्धनको साथ त छ नै, पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई र पूर्वमन्त्री हिसिला यमीको छोरी हुनुको फाइदा पनि।

एमालेको गढ मानिने यस क्षेत्रमा एमालेबाटै बागी उम्मेदवारी परेको छ। अघिल्लो निर्वाचनमा एमाले माओवादी गठबन्धनबाट जितेका रामवीर मानन्धरले घण्टाघर चुनाव चिन्ह लिएर चुनावी मैदानमा छन्। एमालेबाट मानुषीसँग प्रतिस्पर्धामा छन् - पाका उमेरका उम्मेदवार श्यामकुमार घिमिरे। यहाँ एमालेले घोषित गठबन्धन गरेको छैन।

जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार राजेन्द्र श्रेष्ठलाई एमालेले सघाउने चर्चा थियो। तर अन्तिममा एमाले-जसपा गठबन्धन भएन सत्ता गठबन्धनबिरुद्ध। यो क्षेत्रमा आमा हिसिलाले २०६४ मा बाजी मारेकी थिइन्। त्यतिबेला हिसिलाका प्रतिस्पर्धी राजेन्द्र अहिले मानुषीसँग प्रतिस्पर्धामा उत्रिएका छन्।

अर्को आफ्नै राजनीतिक पहिचान बनाउन मानुषीका लागि अवसर पनि हो, प्रतिनिधि सभाको मंसिर ४ को निर्वाचन। निर्वाचित भए जनप्रतिनिधिका रुपमा पहिलो अनुभव हुने छ मानुषीलाई।

युवा उम्मेदवारका रुपमा गठबन्धनले अघि बढाएकी उनलाई युवा मत आफ्नो पोल्टामा पार्न जति अवसर छ त्यति नै चुनौति छ, सबै गठबन्धन दलबाट भोट लिन।

अरु उम्मेदवारलाई पराजित गरेर प्रतिनिधि सभामा 'डेब्यू' गर्ने रणनीतिमा रहेकी मानुषीसँग पहिलोपोस्टका सहयोग रञ्जितप्रकाश भण्डारीले  गरेको कुराकानी :

तपाईको क्षेत्रमा कस्तो छ चुनावी माहोल?

प्रारम्भिक प्रतिक्रिया हेर्दा निकै राम्रो छ। म उत्साहित छु। निकै सकारात्मक सन्देश प्रवाह भएको छ। एक जना महिला उम्मेदवार भनेर। प्रदेशमा पनि युवा उम्मेदवार हुनुहुन्छ। निकै राम्रो टिम बनेको छ हाम्रो।

गठबन्धनमा अन्तर्घात हुन्छ कि भन्ने स्थिति पनि देखिन्छ। त्यसलाई कसरी बुझ्नुभएको छ?

मुलत: गठबन्धन बन्नुका आधार प्रतिगमनको विरुद्ध र संविधानको रक्षाको निम्ति हो। सबैजना राजनीतिक रुपमा निकै परिकपक्क साथीहरु हुनुहुन्छ। राजनीतिक सुझबुझ भएका कारणले त्यस्तो नकारात्मतातर्फ हाम्रो ध्यान नै छैन। एकै ठाउँमा उभिएका छौ।

बरु हामीलाई राम्रो के भएको छ भने हाम्रो विपक्षमा रहेका साथीहरुको तुलनामा निकै आकर्षक टिम बनेको छ। अंकगणितीय हिसाबले धेरै चिन्ता लिनुपर्ने भन्दा पनि बढी भन्दा बढी मत ल्याएर आकर्षक विजय कसरी हासिल गर्ने भन्नेमा केन्द्रित छौ।

माओवादीको चिन्ह लिएर चुनावी मैदानमा हुनुहुन्छ वैचारिक पक्ष के लिएर मतदाता कहाँ जानुहुन्छ?

हामीलाई एकै ठाउँमा ल्याउने र जनता समक्ष पनि हामीले प्रवाह गर्ने भनेको लोकतन्त्र, सुशासनको नारा हो। संघर्ष गरेर ल्याएको व्यवस्था अझ मजबुत बनाउँनु छ। यसमा केही खोट छन्, तीव्र असन्तुष्टि छ। युवा पुस्ताको पनि प्रश्नहरु छन्। यसलाई समाधान गर्ने भनेको लोकतन्त्रलाई अझ राम्रो बनाउने हो। अर्को राजनीतिक वैचारिक पक्ष भनेको सुशासन हो।

व्यवस्था ल्याउँदा ल्याउँदै पनि  जनताको अवस्थामा परिवर्तन आएन। संविधानमा मौलिक अधिकारको सूची राम्रो छ। तर, घरघरमा आइ पुगेन। सेवा प्रवाह गर्ने निकाय प्रभावकारी भएनन्। यो सबैलाई टेवा दिने भनेको आर्थिक विकास हो। आार्थिक रुपमा हामी समृद्ध भएनौ भने हाम्रा तमाम सेवाहरु/अधिकारहरु ओझेलमा पर्छन्।

सांसदले विकास निर्माणमा भन्दा कानुन निर्माणमा जोड दिनुपर्ने। तर, बाटो बनाउँछौ, पुल बनाउँछौ.. भनेर वाचा गर्नुहुन्छ। कानुन बनाउँछौ भनेर किन भन्नु हुन्न?

चुनाव भनेको लोकतान्त्रिक अभ्यास भित्रको एउटा औपचारिकता मात्रै होइन। पार्टी र जनताबिच यस्तै सूचनाहरु प्रवाह गर्ने ठाउँ पनि हो। त्यसैले हामीले भोटर एजुकेसनमा पहल गर्नैपर्छ। तीन तहको जुन सरकार छ त्यसको आआफ्नै क्षेत्राधिकार छन्। त्यसमा समन्वय कुन अर्थमा गर्नुपर्छ संघबाट फुकुवा गर्नुपर्ने थुप्रै अधिकार छन्।

संविधानमा लेखिए पनि कानुन बनिसकेको अवस्था छैन। कानुन बनाउँछौ भनेर भोटरलाई शिक्षा दिनु पनि हाम्रो दायित्व हो। सँगसँगै जीवनसँग जोडिएका खानेपानी, बाटो, ढल लगायतका मुद्दाहरु सम्बोधन भएन भनेर आफ्नो जनप्रतिनिधिलाई जनताले भन्न पाउनुपर्छ।

माओवादी केन्द्रको शहरको जनमत कमजोर छ गाउँको तुलनामा। तपाईलाई अप्ठेरो पार्छ कि पार्दैन?

अहिले त हामी सबै गठबन्धनमै छौं। हामीले संयुक्त रुपमा अपनत्व लिएका छौ सबैको मनोयनबारे। अर्को महत्वपूर्ण पाटो भनेको धेरै जनता पार्टीको घेराभन्दा बाहिर पनि हुनुहुन्छ। पहिलोपटक मतदान गर्ने युवापुस्ता पूर्ण रुपमा पार्टी पङ्क्तिभित्र हुनुहुन्न। उहाँहरुको मनोविज्ञानलाई हामीले सम्बोधन गर्न सक्छौ कि सक्दैनौ? भन्ने मुख्य कुरा हो।

त्यो नै हो हामीले बढी मिहिनेत गर्नुपर्ने। मैले सम्बोधन गर्न सक्ने र आह्वान गर्न सक्ने पनि यही हो। गठबन्धन भित्रका हामी एक ठाउँमा उभिएकै छौ र बाहिरका जनतामा पनि उत्साह सिर्जना गर्न सक्छौ भन्ने आत्मविश्वास मैले बोकेको छु।

पारिवारिक राजनीतिक पृष्ठभूमि हुँदा तपाईलाई सजिलो अप्ठेरो के छ चुनाव लड्न?

पारिवारिक बिरासत होइन लोकतन्त्रका निम्ति जे जस्ता आन्दोलनहरु भए ति एजेण्डाको बिरासतको रुपमा म अगाडि बढ्न चाहन्छु। म १५ वर्षको उमेरदेखि नै सुबिचारित रुपमा नै राजनीतिमा छु। पहिला त म साइन्स पढेको। पछि म आफैले होइन म राजनीति शास्त्र नै पढ्छु भनेर पढ्ने मौका पनि पाएँ। धेरै मेरा साथीहरुले पढ्ने मौका पाएनन्।

प्रश्नहरु आउँछन् परिवारवादका। तर मैले त्यसलाई व्यवहार र कामले नै चिर्ने गरेको छु। यो भन्दा अगाडि म स्वतन्त्र विद्यार्थी युनियनको सचिव हुँदाखेरी पनि त्यही नै अभ्यासद्वारा विद्यार्थीको मन जित्ने प्रयास गरेको हुँ।

केही हाम्रा नजिरहरु नकारात्मक भएका हुन् त्यसकारण प्रश्न उठ्नु एकदम राम्रो हो। हामीलाई सचेत बनाउन जनताले उठाएका प्रश्नहरु हुन्। भावनाहरु पनि हुन्छन् हाम्रा पनि।

हामीले गरेको असाध्यै मिहिनेत एकदम नजरअन्दाज गरेर एजेण्डालाई प्रश्न गर्न नसकेर अन्त्यन्त तल्लो स्तरबाट नेगेटिभ क्याम्पेनहरु चलाउने प्रयत्न हुन्छ त्यसले कहिलेकाही हाम्रो पोलिटिकल कल्चरलाई कता लान खोजेको होला भन्ने कुरामा म चिन्तित हुन्छु।

बुवा आमा नै कार्यकारी पदमा पुगेपछि तपाईला त सहजै होला राजनीति?

मैले सानैदेखि पढ्ने सामाग्रीहरु राजनीतिक पाएँ। राजनीतिक व्यक्तिहरुसँग सानै उमेरदेखि संगत गर्न पाएको हुँदा त्याग र बलिदानीको स्प्रिट राजनीतिमा आवश्यक हुन्छ। यो व्यक्तिगत रुपमा नाफामुखी होइन, सेवामुखी हुनुपर्छ भन्ने संस्कार पाएँ।

मलाई जनतासँगै घुलमिल गराउने राजनीतिक संस्कार भयो। बुवा त उच्च कार्यकारी निकायमा पुग्नुभएको व्यक्ति आमा पनि मन्त्रालय सम्हाल्नुभएको व्यक्ति। उहाँहरुलाई कहाँकहाँ असफलता भयो त्यसबाट शिक्षा लिने अवसर पनि पाएँ। धेरैलाई आफै उत्रेपछि मात्रै अप्ठेरो हुने रहेछ भन्ने कुरा मैले बाआमाहरुबाट सिक्न पाएँ।

कम्युनिस्ट पार्टीको चिन्ह लिएर उम्मेदवार बन्नुभो।  टुटफुट, पार्टी भित्रको किचलोले त जनतमा वितृष्णा छ नि कम्युनिस्ट पार्टीप्रति?

म आफूलाई मुलत: वामपन्थी वा समाजवादी कित्ताको भन्न चाहन्छु। त्यसमा व्यापक पुनर्गठनको आवश्यकता देख्छु म यो नयाँ पुस्ताको पनि भए समाजवादी कित्ता भित्रको। म सानै हुँदाखेरि आन्दोलनको जुन वेग थियो त्यसको फरक उद्देश्य थियो। त्यसले एउटा ठाउँमा ल्याएर संविधान ल्याउने काम गर्‍यो। त्यसपश्चात सान्दर्भिकता देखाउन धेरै मिहिनेत गर्नुपर्ने स्थिति बन्यो।

हरेक जेनेरेसनसँग आएका नयाँ संकटहरु सम्बोधन गर्न संगठन चाहिन्छ। संगठित अभिव्यक्ति दिन पार्टी बनाइन्छ। मेरो प्रश्न कहाँ हो भने पुरानै समस्या र समाधानका उपाए लिएर गठन भएका जुनसुकै पार्टी पुनर्गठन हुन आवश्यक छ कि छैन? समाजवादीभित्र पनि अहिले विभिन्न फुट हुने/वादविवाद हुने। यो खालको राजनीतिले हामीलाई आकर्षित गरिरहेको छैन। पुरानै तरिकाले पार्टी सञ्चालनले यो वितृष्णा भयो। यो समाजवादी/वामपन्थी कित्तामा व्यापक पुनर्गनठनको आवश्यकता छ।

समाजवादको कुरामा बढी जोडदिनुभो। समाजवादी धार भनेर लाग्नुभएका बाबुराम भट्टराई त त्यति सफल हुनु भएन?

संविधानमै समाजवाद उन्मुख भन्ने छ। त्यसमा कस्तो समाजवाद? कसको निम्ति समाजवाद भन्ने प्रश्न सबैसमक्ष छ नै। क्रमिक रुपमा हामीले कार्यक्रमबाट परिभाषित गर्दै लिनुपर्ने कुरा हो। समाजवादलाई हामीले धेरै अमुर्त बनाउने नै होइन। हरेक कुरालाई नयाँ नयाँ वादमा लगेर टुंग्याइदियौं भने त्यो जनताले बुझ्दैनन्।

बाबुरामले गर्नुभएको नयाँ शक्ति देखिएको यात्रा थियो त्यसमा हामीले ५ स भनेका थियौं। अन्तर्राष्ट्रिय अभ्यासअनुसार समाजवादीको व्याख्या र कार्यन्वयन गर्ने भन्ने थियो।

समाजवाद भनेर मात्रै पुग्दैन भनेर हामीले स्वाधिनताको कुरा, समावेशी लोकतन्त्रको कुरा, सुशासनको कुरा र समृद्धिको बहुआयामिक कुरा गरेका थियौं। कार्यान्वयन गर्न शक्ति आवश्यक पर्छ। त्यहाँ चाहि हामीले बाबुराम भट्टराईको नेतृत्वमा नसकेका हौं। त्यसकारणले पनि अहिले नयाँ ढंगले पुनर्गठन गरौं भन्नेमा छौ। असफल भएको होइन।

एमाले र कांग्रेस नेतृत्वका दुई गठबन्धनबिच प्रतिस्पर्धा हुदैँ छ। कस्तो स्थिति आउला गठबन्धन भर्सेस गठबन्धन हुँदा?

पहिला पनि गठबन्धन भएकै हुन्। वामपन्थी धारमा पनि दशकौं अघि पनि रायमाझी र पुष्पलाल जुन प्रवृति हो त्यो  पहिला पनि थियो त्यो अहिले पनि देख्छु म। अहिले जस्तो खालको हाम्रो गठबन्धन बनेको छ र त्यसका विपक्षमा अर्को गठबन्धन बनेको छ ठ्याक्कै छुट्टिन्छ लोकतन्त्रको निम्ति बनेको गठबन्धन कुन हो र प्रतिगामी बिचार बोकेको वामपन्थी।

यो धेरै नौलो र अस्वभाविक कुरा होइन तर नयाँ पुस्ताको लागि के खालको बनेको हो आफ्नो सिटहरु सुरक्षित गर्न निम्ति मात्रै आफ्नो ठाउँमा आएका हुन् कि भन्ने हुनसक्छ। प्राविधिक हिसाबले हेर्दा टिकट बाँडफाँट र जितहारसँग मात्रै जोडिएला। मुलत यो प्रतिगामीका विरुद्धमा हो।

अन्त्यमा, तपाइले जित्नु भयो भने संसदमा त्यस्तो के गर्नुहुन्छ जो योभन्दा अघिकोले गरेनन्?

मतदाता र सांसदबिच ठुलो ग्याप छ। आफ्ना आवाजहरु कसरी पुर्‍याउने। आम जनताबिच मैले यो समस्या देखेको छु। एउटा समान्य काम भनेको आफ्नो टिम चुस्त बनाउने। र्‍यापिड रेसपोन्स टिम बनाउँछु। निर्वाचन क्षेत्र भित्रका जनतालाई समस्या पर्दा तुरुन्त आफ्नो सांसदसँग पहुँच पुग्न संयन्त्र निर्माण गर्छु। म एउटा व्यक्तिले सबै चिज सम्हाल्छु भन्ने व्यक्तिवादी धारणा म राख्दिनँ।

युवापुस्तासँग जोडिएका रोजगारीका कुरा, आफैले इन्भेस्ट गर्दा पनि त्यसलाई सुरक्षित गर्न नसकेको कुरा। लोकसेवामा प्रवेश गर्न चाहँदा चाहँदै पनि विभिन्न कारणले कर्मचारीतन्त्र उत्पादन गर्ने निकाय पनि पुरातन भएकाले त्यस्तो निकाय नीतिगत रुपमा कहाँ खोट छ भन्ने पहिल्याएर लाग्ने छु।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell