PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

नवौं राष्ट्रिय खेलकुद: पौडीमा कीर्तिमान नै कीर्तिमान



पहिलोपोस्ट

नवौं राष्ट्रिय खेलकुद: पौडीमा कीर्तिमान नै कीर्तिमान
Photo: NSJF Gandaki

पोखरा: नवौं राष्ट्रिय खेलकुद अन्तर्गत भएको पौडी प्रतियोगितामा आज तेश्रो दिन ७ राष्ट्रिय कीर्तिमान कायम भएका छन्। यस्तै पूर्व कीर्तिमानलाई तोड्ने क्रममा आज १३ कीर्तिमान भंग भएका छन्। ४०० मिटर पुरुष फ्रिस्टायलमा ४ कीर्तिमान, १०० मिटर बटरफ्लाईमा ३, महिाल १०० मिटर बटफ्लाईमा १, पुरुष २०० मिटर ब्रेष्टस्ट्रोकमा २, महिला २०० मिटर ब्रेष्टस्ट्रोकमा १, पुरुष ५० मिटर ब्याकस्ट्रोकमा १ र ४०० मिटर फ्रिस्टायल रिलेमा १ कीर्तिमान भंग भएका छन्।

बिरौटास्थित फिसटेल एकेडेमीमा भएको प्रतियोगिताको ४०० मिटर पुरुष फ्रिस्टायलमा नासिर याह्या हुसेनको नाममा १३ औं सागमा रहेको ४ मिनट ३३.०५ सेकेन्डमा समयलाई आज चार खेलाडीले उछिनेका छन्। सेनाका नासिरले ४ मिनट ८.६४ सेकेन्ड समयका साथ आफ्नो रेकर्डमा सुधार गर्दै स्वर्ण जिते। यस्तै रजत पदक जितेका एनआरएनका आशिष सापकोटाले पनि नासिरको पूर्व रेकर्डलाई उछिन्दै ४ मिनट २२.४५ सेकेन्डको समयमा दूरी पार गरे। तेश्रो स्थानमा रहेका बागमतीका ईरभिन श्रेष्ठले पनि नासिरको पूर्व रेकर्डलाई उछिन्दै ४ मिनट २५.७४ सेकेन्ड समयका साथ कास्य जिते। चौथो स्थानमा रहेका बागमतीका सेरेन सिंहले पनि नासिरको पूर्व कीर्तिमान लाई उछिने। उनले ४ मिनट २५.९२ सेकेन्ड समयमा दुरी पार गरेका थिए।

१०० मिटर बटरफ्लाईमा अनुभव सुब्बाले २५ औं खुला राष्ट्रिय पौडी च्याम्पियनसिपमा राखेको ५९.७७ सेकेन्डको समयलाई भंग गर्दै सेनाका नासिर हुसेनले ५७.८६ सेकेन्डको नयाँ कीर्तिमान सहित स्वर्ण जिते। दोश्रो स्थानमा रहेको एनआरएनका आशिष सापकोटाले पनि पूर्व कीर्तिमानलाई उछिन्दै ५९.६८ सेकेन्ड समयका साथ रजत प्राप्त गरे। यस्तै तेश्रो स्थानमा रहेका अनुभव सुब्बाले कास्य पदक प्राप्त गर्ने क्रममा आफ्नो पुर्व समयलाई सुधार गर्दै ५९.७३ सेकेन्ड समयमा दूरी पुरा गरे।

महिला १०० मिटर बटरफ्लाईमा एनआरएनकी एश्ले सापकोटा डङ्गोलले गौरिका सिंहले आठौं राष्ट्रिय खेलकुदमा कायम गरेको १ मिनट ९.९७ सेकेन्ड समयलाई भंग गर्दै १ मिनेट ७.७४ सेकेन्ड समयका साथ स्वर्णमा आफ्नो नाम लेखाइन्। नेपाल पुलिसकी मेगन गुरुङ्गले रजत र वाग्मतीकी रोशा न्यौपानेले कास्य जितिन्।

पुरुष २०० मिटर ब्रेष्टस्ट्रोक तर्फ एनआरएनका आशिष सापकोटाले २ मिनट २९.६० सेकेन्डको नयाँ कीर्तिमा कायम गर्दै स्वर्ण जिते। यस विधामा यस अघि सुभम श्रेष्ठको नाममा २ मिनट ३१.१५ सेकेन्ड समयको कीर्तिमान कायम थियो। दोश्रो स्थानमा रहेका प्रदेश १ का विकास कुमालले पनि पूर्व रेकर्डलाई उछिन्दै २ मिनेट ३०।७६ सेकेन्ड समयमा साथ रजत पाए। वाग्मतीका सेरेन सिंहले कास्य पाए।

महिला तर्फको यसै विधामा सेनाकी डुवाना लामाले २ मिनेट ४३.२३ सेकेन्ड समयको नयाँ राष्ट्रिय रेकर्ड सहित स्वर्ण प्राप्त गरिन्। उनले आजै विहान हिट चरणमा आफ्नै नाममा रहेको २ मिनट ४४.६८ सेकेन्डको समयमा आफ्नै नाममा १३ औं सागमा राखेको कीर्तिमानलाइ भंग गर्दै १ मिनट ४४.२८ नयाँ रेकर्ड राखेकी थिइन्। सेनाकी उपास्ती महर्जनले रजत र पुलिसकी अदिप्सा बैद्यले कास्य पदक पाए।

पुरुषको ५० मिटर ब्याकस्ट्रोकमा सेनाका एलेक्जेण्डर शाहले २७.४६ सेकेन्डको नयाँ समयका साथ स्वर्ण हात पारे। उनले आजै विहान भएको हिट चरणमा आफुलेनै १३ औं सागमा राखेको २८.०३ सेकेन्डको समयमा सुधार गर्दै २७.५४ को नयाँ समयमा दुरी पुरा गरेका थिए। एपीएफका तेन्जिङ्ग नामदोल रायन गुरुङ्गले रजत र सेनाका अनुभव सुब्बाले कास्य पदक पाए।

सोही विधाको महिलातर्फ ओलम्पियन गौरिका सिंहले स्वर्ण जितिन्। सेनाको टिमबाट खेलेकी उनले ३०.८० समयका साथ दुरी पुरा गर्दै स्वर्ण जितेकी हुन्।

पुरुष ४०० मिटर फ्रिस्टायल रिलेमा पनि आज राष्ट्रिय रेकर्ड तोडिएको छ। सेनाका अनुभव सुब्बा, दिलिप थापा मगर, नासिर याह्या हुसेन र एलेक्सजेण्डर शाहको समूहले ३ मिनट ४५.५१ सेकेन्ड नयाँ समयको कीर्तिमान सहित स्वर्ण जिते। दोश्रो स्थानमा रहेको नेपाल पुलिसले पनि ३ मिनट ४६.३७ सेकेन्ड समयका साथ रजत जिते। एपीएफले कास्य पदक पायो। १३ औं सागमा एलेक्सजेण्डर शाह, अनुभव सुब्बा, सैयद हेम्जा शाह र तेन्जिन नामडोल रायन गुरुङ्गले कायम गरेको ३ मिनेट ४६.९७ सेकेन्डको रेकर्डलाई विहान हिट चरणमा पुलिसका गौरव लामा, दिपंकर अवाले, सानीसंकर बहादुर रघुराजबंशी र सुविज्ञमाान तुलाधरको जोडीले ३ मिनेट ४६.८३ सेकेन्डमा सयममा दुरी पार गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell