
रसियाको एक सैन्य जेट आवासीय भवनमा ठोक्किँदा कम्तीमा छ जनाको मृत्यु भएको छ भने छ जना बेपत्ता छन्। सैन्य जेट युक्रेनको सीमा नजिकै उडेको केही समय पछि एक आवासीय भवनमा दुर्घटनाग्रस्त भएको द गार्डियनले उल्लेख गरेको छ।
सोमवार सामाजिक सञ्जालमा अपलोड गरिएका भिडियो र तस्विरहरूमा रसियाको बन्दरगाह र रिसोर्ट शहर येस्कमा रहेको एक आवासीय भवन आगोमा जलिरहेको देखिएको छ। सो शहर युक्रेनको मारिउपोलको दक्षिणमा अजोभ सागरको छेउमा अवस्थित छ।
एसयू-३४ लडाकु-बम्बर नजिकैको युज्नी एयरबेसबाट उडेको केही समयपछि भवनमा ठोक्किएको रसियाली रक्षा मन्त्रालयले एक विज्ञप्तिमा जनाएको छ। दुर्घटनाको कारण इन्जिनमा आगो लाग्नु रहेको बताइएको छ।
प्रशिक्षण उडानमा रहेको सो विमानमा विस्फोटक पदार्थ रहेको र दुर्घटनापछि सो पदार्थ विस्फोट भएको बताइएको छ। जसकारण केही समयको लागि अग्निनियन्त्रकहरू आगो निभाउन त्यहाँ पुग्न सकेका थिएनन्। भिडियोमा कम्तीमा पाँच तलाको आवासीय फ्ल्याट आगोले जलेको देखिएको छ।
जेट भवनमा ठोक्किनुअघि दुवै पाइलट जेटबाट बाहिर निस्कन सफल भएको मन्त्रालयले जनाएको छ।
‘इन्टरफ्याक्स’ले दुर्घटना र त्यसपछिको आगलागीका कारण कम्तीमा छ जनाको मृत्यु भएको, १९ जना घाइते भएको र छ जना बेपत्ता रहेको बताएको छ।
‘यो हामी माथिबाट खस्यो। एकदम कालो धुवाँ निस्केको थियो’, एक प्रत्यक्षदर्शीले इन्टरफ्याक्सद्वारा सार्वजनिक भिडियोमा भनेका छन्, ‘१० मिटर यता हुन्थ्यो भने हामी पनि सक्किन्थयौँ।’
रसियाले युक्रेनको ऊर्जा ग्रिडहरू ध्वस्त पार्न र लाखौं नागरिकहरूलाई बिजुलीबाट बञ्चित गर्न कीभ र अन्य युक्रेनी शहरहरूविरुद्ध निरन्तर हवाई आक्रमण गरेकै दिन उक्त दुर्घटना भएको हो।
रसियाले युक्रेनी राजधानीमा दर्जनौँ इरान-निर्मित ‘सुसाइड ड्रोनहरू’मार्फत आक्रमण गरेको थियो।
येस्कमा दुर्घटमा परेको सो विमान रसियाले फेब्रुअरीमा आक्रमण सुरु गरेपछि दुर्घटनामा परेको १०औँ रसियाली सैन्य विमान भएको एक रसियाली मिडियाले बताएको छ। जसमध्ये अधिकांश स्ट्राइक एयरक्राफ्ट र ट्रान्सपोर्ट विमानहरू थिए, जसमा पछिल्ला दुई एसयू-३४ थिए।