पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आर्चरीमा फाइनल खेलको समीकरण पूरा भएको छ। आर्चरीमा कम्पाउण्ड मेन सिङ्गल र वुमन सिङ्गल, रिकर्भ मेन सिङ्गल र रिकर्भ वुमन सिङ्गल तथा स्टाण्डर्ड मेन टिम र वुमन टिमको फाइनल समीकरण तयार भएको हो।
कम्पाउण्ड मेन सिङ्गलतर्फ गण्डकीका जागृत गुरुङ र गण्डकीकै ख्यामबहादुर क्षेत्री फाइनलमा पुगेका छन्। जागृतले सुदूरपश्चिमका सुरेश गुरुङलाई एक सय ३६ का विरुद्ध एक सय ४४ स्कोरले हराएका हुन्। फाइनलमा गण्डकीकै दुई खेलाडी भएपछि यस विधामा गण्डकीलाई स्वर्ण र रजत पक्का भएको छ।
यस्तै, गण्डकीका ख्यामले एपीएफएका रमेश भट्टचनलाई १४१-१३५ स्कोरमा पराजित गर्दै जागृतसँगको भेट पक्का गरेका हुन्। कम्पाउण्ड वुमन सिङ्गलतर्फ एपीएफकी पार्षदा आचार्य र आर्मीकी इमायुङ राई फाइनल पुगेका छन्। पार्षदाले गण्डकीकी मोनिका रानालाई १३४-१०९ स्कोरले हराइन्। यस्तै, इमायुङले एपीएफकी निर्मला कानवाङ राईलाई १३०-१२२ स्कोरले पछि पारिन्।
रिकर्भ मेन सिङ्गलतर्फ गण्डकीका गङ्गाबहादुर कुँवर र पुलिसका तिलक पुन फाइनल पुगेका छन्। गङ्गाले एपीएफका विराट थापालाई ६-४ अङ्कले हराएका हुन्। यस्तै, तिलकले गण्डकीका असिम शेरचनलाई ६-४ अङ्कले पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन्।
रिकर्भ वुमन सिङ्गलतर्फ गण्डकीकी रोजिना थापामगरले आर्मीकी ज्ञानु अवालेलाई ६-४ स्कोरले हराइन्। यस्तै, आर्मीकी मञ्जु बजगाईँले गण्डकीका रश्मी दर्लामीलाई सोझो तीन सेटमा ९६-०० पराजित गरिन्।
स्टान्डर्ड मेन टिमतर्फ गण्डकी र सुदूरपश्चिम उपाधिका लागि प्रतिस्पर्धामा उत्रँदा वुमन टिमतर्फ प्रदेश नम्बर १ र आर्मी खेल्नेछ। मेन टिमको पहिलो सेमिफाइनलमा गण्डकीले प्रदेश नम्बर १ लाई ५-१ अङ्कले हराएको हो। यस्तै, अर्को खेलमा सुदूरपश्चिमले नेपाल पुलिसलाई ६-४ अङ्कले हराउँदै फाइनल पुगेको हो।
स्टान्डर्ड वुमन टिमतर्फ प्रदेश नम्बर १ ले गण्डकी प्रदेशलाई ६-० अङ्कले सोझो तीन सेटमा हरायो। यस्तै, आर्मीले पनि एपीएफलाई सोझो तीन सेट ९६-००ले पन्छाउँदै फाइनलको यात्रा तय गरेको हो।
राष्ट्रिय खेलकुदमा पाँचौँ संस्करणबाट सहभागिता जनाएको आर्चरीमा योपटक सबैभन्दा धेरै टोलीको सहभागिता रहेको छ। खेलमा पाँच प्रदेश, तीन विभागीय र एनआरएनए गरी नौ टिमको सहभागिता रहेको छ। प्रदेश नम्बर १, वाग्मती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम प्रदेश, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लबले सहभागिता जनाएका छन्। मधेश र कर्णालीको भने सहभागिता रहेन।