PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

एमाले-जसपा गठबन्धन भंग भएको बारा ३ को त्रिपक्षीय भिडन्तमा कसले मार्ला बाजी?



राधेश्याम पटेल

एमाले-जसपा गठबन्धन भंग भएको बारा ३ को त्रिपक्षीय भिडन्तमा कसले मार्ला बाजी?

वीरगंज : सतारूढ पाँच दलीय गठबन्धनलाई काउन्टर दिन बनेको नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा)को गठबन्धन बाराको क्षेत्र नम्बर ३ मा भने छैन। यो क्षेत्रमा एमाले र जसपाका आ-आफ्ना उमेदवारहरू चुनावी मैदानमा छन्।

सत्ता गठबन्धनको तर्फबाट भने लोकतान्त्रिक समाजवादी पार्टीले आफ्नो उम्मेदवार उतारेको छ। एमाले-जसपा गठबन्धन भंग भएको यस क्षेत्रमा एमालेले आफ्नो पोलिटब्यूरो सदस्य एवं पूर्व राज्यमन्त्री ज्वाला कुमारी साहलाई उम्मेदवार बनाएको छ भने जसपाले वर्तमान प्रतिनिधि सभा सदस्य रामबाबु यादवलाई उम्मेदवार बनाएको छ। यी दुवैजनाको विरुद्धमा सतारूढ गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का लालबाबु सिंहलाई टिकट दिइएको छ।

तीनैजना यस क्षेत्रमा बलिया उम्मेदवार भएका कारण त्रिपक्षीय रोचक भिडन्तको सम्भावना छ। जसपाबाट उम्मेदवार रहेका यादव पार्टीका मधेश प्रदेश अध्यक्षसँगै यसै क्षेत्रबाट २०७४ सालको निर्वाचनमा सांसदमा निर्वाचित भएका थिए। त्यस बेला मधेश सेन्टिमेन्टले खुब काम गरेको थियो। उनी जसपा बाराका पूर्व अध्यक्षसमेत हुन्।

यसैगरी, एमालेकी उम्मेदवार ज्वाला भने पूर्व माओवादी नेतृ हुन्। उनी नेकपा विभाजन हुँदा एमालेमै बसेकी थिइन्।२०७४ सालको निर्वाचनमा साह यसै क्षेत्रको ‘क’ बाट नेकपा (माओवादी केन्द्र)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिइन्।

२०६४ सालको पहिलो संविधानसभा सदस्यमा माओवादी केन्द्रबाटै निर्वाचित भएकी साह बाबुराम भटराई प्रधानमन्त्री भएको बेलामा भूमिसुधार तथा व्यवस्था राज्यमन्त्रीसमेत भएकी थिइन्। बाराको कलैया उपमहानगरपालिकामा मेयर/उपमेयर एमालेले जितेका कारण उनको पनि भोट बैंक क्षेत्र नम्बर ३ मा बलियो रहेको आँकलन छ।

यस्तै, यस क्षेत्रबाट लोसपाका उम्मेदवार सिंह भने नवप्रवेशी हुन्। उनी चुनावको मुखमा लोसपा प्रवेश गरेर टिकट पाउन सफल भएका हुन्। नेपाली कांग्रेस बाराका पूर्व सभापति समेत रहेका सिंह कांग्रेसको भागमा यो क्षेत्र नपरेपछि लोसपामा गएर चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्।

लोसपाबाट टिकट लिए तापनि लोसपा र कांग्रेस एउटै खेमा भएका कारण उनलाई पनि कांग्रेसको साथ पाउने चर्चा छ। एमाले र जसपाबिचको गठबन्धन भंग हुनु र माओवादी केन्द्र, कांग्रेस, जनमोर्चासँगै लोसपाको मत पनि सिंहलाई नै गए उनी एमाले र जसपाका उम्मेदवारभन्दा बलिया देखिन्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell