पोखरा : विभागीय नेपाल आर्मीले गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक तालिकामा अन्तर फराकिलो बनाउँदै लगेको छ।
आर्मी आज बिहानसम्मको अद्यावधिक विवरणानुसार ६१ स्वर्ण, ३९ रजत र २८ कास्यसहित एक सय २८ पदक जितेर पदक तालिकाको शीर्षस्थानमा छ।
आर्मीले सुरुआतदेखि नै आफ्नो अग्रता बनाएकामा पछिल्लो समय यसलाई फराकिलो बनाउँदै लगेको छ। पदक तालिकाको द्वितीय र तृतीय स्थानमा पनि विभागीय टोली छन्। प्रदेशहरूले विभागीय टोलीलाई पछ्याइरहेका छन्।
विभागीय नेपाल पुलिस क्लबले २३ स्वर्ण, १७ रजत र २५ कास्य सहित ६५ पदक जितेर आर्मीलाई पछ्याइरहेको छ। सशस्त्र प्रहरी बलको एपीएफ क्लबले १६ स्वर्ण, २५ रजत र ३३ कास्यसहित ७४ पदक जितेर तृतीय स्थानमा छ।
वाग्मती प्रदेश पदक तालिकाको चौथो स्थानमा छ। वाग्मतीले १४ स्वर्ण, २२ रजत र २३ कास्य सहित ५९ पदक जितेको छ। आयोजक गण्डकी प्रदेशले हालसम्म १० स्वर्ण, आठ रजत र २० कास्य गरी ३८ पदक हात पारेको छ। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले छ स्वर्ण, छ रजत र चार कास्यसहित १६ पदक जितेको छ।
यसैगरी, प्रदेश नम्बर १ ले तीन स्वर्ण आठ रजत र २१ कास्यसहित ३२ पदक जित्दा मधेश प्रदेशले दुई स्वर्ण, तीन रजत र सात कास्यसहित १२ पदक जितेको छ। सुदूरपश्चिम प्रदेशले दुई स्वर्ण, एक रजत र ११ कास्यसहित १४ पदक जित्दा लुम्बिनी प्रदेशले एक स्वर्ण, नौ रजत र १२ कास्यसहित २२ पदक र कर्णाली प्रदेशले एक स्वर्ण, एक रजत र दुई कास्यसहित चार पदक ल्याएको छ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत यही असोज २८ देखि प्रतियोगिताका ३६ वटा खेल भइरहेका छन्। राष्ट्रिय खेलकुद आगामी कात्तिक ३ गतेसम्म सञ्चालन हुनेछ।
उसु सान्सौमा २४ खेलाडी क्वाटरफाइनलमा
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सान्सौ र थाउलो दुवै विधाका खेल जारी छन्। आइतवार उद्घाटन भएको प्रतियोगितामा सोमवारदेखि खेल सुरु भएका हुन्। हालसम्म सान्सौतर्फ २४ खेल भएका छन्। पुरुषतर्फ १६ र महिलातर्फ आठ खेलाडी क्वाटरफाइनल प्रवेश गरेको कास्की जिल्ला उसु सङ्घका वरिष्ठ उपाध्यक्ष वीरेन्द्र गहतराजले जानकारी दिए।
महिला ४८ केजीमा सशस्त्र प्रहरीकी गौरी घर्तीमगर र सुदूरपश्चिम प्रदेशकी अस्मिता कुमारी गाहामगर क्वाटरफाइनलमा पुरेका छन्। उनीहरुले क्रमशः वाग्मती प्रदेशका सञ्जिता ग्लान र मधेश प्रदेशका कञ्चन पाललाई पराजित गरेका हुन्।
थाउलोमा पुरुष र महिलातर्फ समान स्वर्ण चार, रजत चार र कास्य चारका लागि खेल हुनेछ। प्रतियोगिताका विभिन्न इभेन्टमा करिब तीन सय ४० खेलाडी सहभागी छन्। उसुमा सात प्रदेशका सात टिम र तीन विभागीय गरी १० टिमको सहभागिता छ। एनआरएनएका खेलाडी उसुमा सहभागी छैनन्।