PahiloPost

Apr 28, 2025 | १५ बैशाख २०८२

सात पटक मेस्सीले पाएको ब्यालोन डी'ओर यसवर्ष बेन्जेमालाई, महिलातर्फ स्पेनकी एलेक्सिया उत्कृष्ट



पहिलोपोस्ट

सात पटक मेस्सीले पाएको ब्यालोन डी'ओर यसवर्ष बेन्जेमालाई, महिलातर्फ स्पेनकी एलेक्सिया उत्कृष्ट
Photo: Benoit Tessier/REUTERS

रियल म्याड्रिडका फ्रान्सेली फरवार्ड करिम बेन्जेमाले विश्वको उत्कृष्ट पुरुष खेलाडीको लागि २०२२ को ब्यालोन डी'ओर अवार्ड पाएका छन्। सोमबार राति सम्पन्न अवार्ड कार्यक्रममा बेन्जेमाले फुटबलको ‍सबैभन्दा प्रख्यात उक्त अवार्ड पाएका हुन्।

त्यस्तै, बार्सिलोनाकी स्पेनिस मिडफिल्डर एलेक्सिया पुटेलासले दोस्रो पटक उत्कृष्ट महिला खेलाडीको लागि ब्यालोन डी'ओर अवार्ड पाइन्।

बेन्जेमा सन् १९९८ मा जिनेदिन जिदानपछि ब्यालोन डी'ओर जित्ने पहिलो फ्रान्सेली खेलाडी हुन्। बेन्जेमाले रियललाई गत सिजनमा च्याम्पियन्स लिगको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए।

‘मेरो अगाडि रहेको यो पुरस्कारले मलाई साँच्चै गर्व महसुस गराएको छ। म सानो हुँदा यो मेरो बाल्यकालको सपना थियो, मैले कहिल्यै हार मानिनँ... जे पनि सम्भव छ,’ बेन्जेमाले समारोहको स्टेजमा भने, ‘म फ्रान्सेली टोलीमा नहुँदाको समय कठिन थियो तर मैले कहिल्यै हार मानिनँ। म मेरो यहाँसम्मको यात्रामा साँच्चै गर्व गर्छु। यो सजिलो थिएन, यो मेरो परिवारको लागि पनि कठिन समय थियो।’

बेन्जेमाले पोल्याण्डका रोबर्ट लेवान्डोस्की, सेनेगलका साडियो माने र बेल्जियमका केभिन डे ब्रुइनलाई पछि पार्दै अवार्ड जितेका हुन्। अर्जेन्टिनाका लियोनल मेस्सीले गत वर्ष कीर्तिमानी सातौँ पटक यो अवार्ड जितेपछि बन्जेमाको पालो आएको हो।

बेन्जेमाले रियलसँग उत्कृष्ट सिजन बिताएका थिए। उनले ४६ खेलमा ४४ गोल गरेका थिए। च्याम्पियन्स लिगमा उनको १५ गोलले रियललाई कीर्तिमानी १४औँ उपाधि दिलाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell