PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

म्याराथनमा स्वर्ण जितेपछि भारतीय आर्मीमा रहेका गण्डकीका अनिषले भने : राष्ट्रिय टिममा बोलाए पक्कै आउने छु



मुकुन्द घिमिरे

म्याराथनमा स्वर्ण जितेपछि भारतीय आर्मीमा रहेका गण्डकीका अनिषले भने : राष्ट्रिय टिममा बोलाए पक्कै आउने छु
फोटो : एनएसजेएफ गण्डकी

पोखरा : नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुषतर्फको म्याराथनमा गण्डकी प्रदेशका अनिष थापा मगरले स्वर्ण जितेका छन्। उनले निर्धारित दुरी २ घण्टा २२ मिनेट ५४ सेकेन्डमा पूरा गरेका हुन्।

यसक्रममा उनले त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेतलाई पछि पारे। बस्नेतले २ घण्टा २३ मिनेट १४ सेकेन्डमा निर्धारित दुरी पार गरे। तेस्रो स्थानमा एपीएफका सन्तोष विक्रम बिस्ट रहे। उनले निर्धारित दुरी २ घण्टा ३० मिनेट ५४ सेकेन्डमा पार गरे।

जितपछि पर्वतका थापा मगरले घरेलु मैदानमा जित्न पाउँदा खुसी भएको बताए। उनी १३ वर्षयता भारतीय सेनामा कार्यरत छन्।

‘तयारी ठीकै थियो। यो मेरो लागि घरेलु मैदान हो। मेरो घर पर्वत हो। घरेलु मैदानमा जसरी पनि जित्छु भन्ने थियो। परिवारको अघि जित्न पाउँदा एकदम खुशी छु,’ उनले भने।

हाल ३३ वर्षका उनले राष्ट्रिय टिममा बोलाएको खण्डमा पक्कै आउने बताए।

‘राष्ट्रिय टिममा बोलायो भने जसरी पनि समय मिलाएर आउँछु। अवसर पाए पक्कै आउनेछु। नेपालको प्रतिनिधित्व गर्न पाएँ भने मेरा लागि खुशीको कुरा हुनेछ,’ उनले भने।

यसअघि सोमवार स्वर्ण पदक जितेका भारतीय सेनामै कार्यरत दुर्गाबहादुर बुढाको सहभागिता भने विवादित बनेको थियो। भारतको समेत राष्ट्रिय च्याम्पियन रहेका उनले भारतीय टोलीबाट अन्तर्राष्ट्रिय सहभागिता जनाइसकेको र नेपालबाट सहभागिता जनाउन १३औँ दक्षिण एसियाली खेलकुदमा नआएको भन्दै तीन विभागीय र गण्डकी प्रदेशले प्रोटेस्टसमेत दिएका थिए। यसको बावजुत खेलमा सहभागिता जनाउँदै उनले कर्णाली प्रदेशका लागि नवौं राष्ट्रिय खेलकुदमा पहिलो स्वर्ण पदक जितेका थिए।

आजको टाइमिङमा अनिष खासै सन्तुष्ट भने भएनन्, यो भन्दा राम्रो गर्न सकिने विश्वास उनको रहेछ। उनले भने : टाइमिङ चाहिँ आज सोचेजस्तो भएन।

उनले योसँगै तीन पटक राष्ट्रिय खेलकुदमा सहभागिता जनाउँदा यो पहिलो पटक स्वर्ण पदक जितेका हुन्।

उनले जितमा गुरुहरु र परिवारलाई सम्झिए। तर, श्रेय भने आफैलाई दिए। ‘म आँफैले मेहेनत नगरेको भए जित्न सक्ने थिइनँ, त्यसैले यसको श्रेय म आफैलाई दिन्छु,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell