
श्रीलंकाका सेहान करुणातिलाकाले यस वर्षको बुकर प्राइज जितेका छन्। उनले लेखेको 'सेभन मुन्स अफ माली अलमेडा' किताबका लागि सो पुरस्कारबाट सम्मानित गरिएको हो।
सो किताब 'सुपरन्याचुरल सटायर' मा आधारित रहेको छ। एक मृत फोटोग्राफर र मृत्यु पछि उनले गर्ने खुलासालाई किताबमा रोमान्चक रुपमा प्रस्तुत गरिएको छ।
सेहानलाई बेलायतकी क्विन क्नसोर्ट क्यमिल्लाले सो पुरस्कार प्रदान गरेकी हुन्। सो पुरस्कार सँगै सेहानले ५० हजार पाउन्ड ( ७४ लाख रुपैयाँ भन्दा बढी) जितेका छन्। यस्तै, अवार्डका लागि 'सर्टलिस्ट' मा परेका अन्य ५ किताबका लेखकहरुलाई २ हजार ५०० पाउन्ड (३ लाख ७२ हजार) प्रदान गरिएको छ।
सन् २००९ मा मृत्यु भइसकेको मानिसले आफ्नो दृष्टिकोण पेस गर्ने भूतको कथा लेख्ने निधो गरेको सेहानले बताए। श्रीलंकाको गृहयुद्धमा मारिएका मानिसको जिम्मेवारी कसले लिने भनेर बहस भइरहँदा आफूले सो किताब लेखेको उनले बताए।