PahiloPost

Sep 20, 2024 | ४ असोज २०८१

जयरानी थारुको जादु : तीन दिन, तीन स्वर्ण, तीन कीर्तिमान



पहिलोपोस्ट

जयरानी थारुको जादु : तीन दिन, तीन स्वर्ण, तीन कीर्तिमान
Photo : Nsjf Gandaki

पोखरा : मंगलवार पनि जयरानी थारुले स्वर्ण पदक जितिन्। नवौं राष्ट्रिय खेलकुद अन्तर्गत कास्कीको पोखरा रंगशालामा आज सम्पन्न महिला लङजम्पमा ५.५८ मिटर जम्प गर्दै राष्ट्रिय कीर्तिमानसहित उनले स्वर्ण पदक जितेकी हुन्।

थारुले यसक्रममा लुम्बिनी प्रदेशकी निशा चौधरीको नाममा पाँच दशमलव ४७ मिटरको कीर्तिमान भंग गरेकी छिन्। उक्त इभेन्टमा यसअघि गत असारमा निशा चौधरीले ५.४७ मिटर जम्प गर्दै सन् २०१८ मा शिला चौधरीले राखेको ५४५ मिटर जम्पको कीर्तिमानलाई भंग गरेकी थिइन्।

आज लुम्बिनीकी निशा चौधरीले ५.४९ मिटर जम्प गर्दै रजत तथा एपीएफकी शिला चौधरीले ५.३१ मिटर जम्प गर्दै कास्य जितिन्।

तीन दिनमा तीन स्वर्ण

आइतवार पोखरा रंगशालामा एथलेटिक्स खेलको चार सय मिटर हडल्स दौड विधामा जयरानीले स्वर्ण पदक जितेकी थिइन्। सोमवार पनि उनले एक सय मिटर हडल्समा स्वर्ण जितेकी थिइन्।

नेपाली सेनामा आबद्ध उनले यसअघि आइतवारको खेलमा निर्धारित दूरी एक मिनेट ०४.१३ सेकेण्डमा पूरा गरेर स्वर्ण पदक मात्र आफ्नो पोल्टामा पारिनन् तीन महिनाअघिको आफ्नो नाममा रहेको राष्ट्रिय कीर्तिमानसमेत सुधार गरिन्। थारुले गएको असारमा काठमाडौंमा सम्पन्न ४४औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा एक मिनेट ०७.०२ सेकेण्डमा सो विधामा आठ वर्षअघिको पुरानो कीर्तिमान तोडेर आफ्नो नाममा लेखाउन सफल भएकी थिइन्।

सोमवारको खेलमा निर्धारित दूरी १५.१६ सेकेण्डमा पूरा गर्दै उनले स्वर्ण पदक जितेकी थिइन्।

बर्दियाकी जयरानीले विसं २०७२ देखि खेल्न थालेकी हुन्। त्यसअगाडि विद्यालयस्तरीय प्रतियोगिता, राष्ट्रपति रनिङ शिल्डलगायतका जिल्ला तथा राष्ट्रिय प्रतियोगिता उनले खेलिन्। सातौँ राष्ट्रिय खेलकुदमा पहिलो पटक सहभागी उनले आठौँमा तत्कालीन प्रदेश नम्बर ५ र हालको लुम्बिनी प्रदेशबाट सहभागी भएर तीन इभेन्टमा रजत पदक जितिन्।

आठौँ राष्ट्रिय खेलकुदमा नेपाल आर्मीसँग प्रतिस्पर्धा गरेर द्वितीय भएकी जयरानीले नवौँ राष्ट्रिय खेलकुदमा आर्मीबाट खेल्दै स्वर्ण जित्ने अवसर मिल्यो। उनी विसं २०७६ साउनमा सेनामा भर्ना भएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell