
काठमाडौं : नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकलाई ‘वाइफाइ फ्रि जोन’ बनाउने घोषणा गरेका छन्। मंगलवार सिन्धुपाल्चोकका प्रेस युनियन सम्बद्ध पत्रकारसँग अन्तरक्रिया गर्दै नेता बस्नेतले उक्त प्रतिबद्धता जनाएका हुन्।
‘मैले सञ्चारमन्त्री हुँदा स्वयम्भू, पद्मकन्या क्यापसलगायत क्षेत्रमा वाइफाइ फ्रि जोन घोषणा गर्दा देशविदेशमा चर्चा पाएको थियो,’ सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट गठबन्धनका उम्मेदवार रहेका बस्नेतले भने, ‘सिन्धुपाल्चोकमा पनि म यो योजना लागू गराउँछु। यो नेपालमै फड्को मार्ने खालको महत्वपूर्ण कार्यक्रम हो।’
त्यसैगरी बस्नेतले आफूले जितेमा क्षेत्र नम्बर २ मा मेलम्ची बाढीले भत्काएका पुल आफूले बनाउने प्रतिवद्धता जनाए। ‘चारवटा पुल दुई वर्षभित्र बनाइसक्छु। कुनै समस्या छैन,’ बस्नेतले भने।
पाँच वर्षभित्र आफूले १५ वटा सडक बनाउने प्रतिबद्धतासमेत उनले व्यक्त गरे। आफू स्वास्थ्य राज्यमन्त्री हुँदा मेलम्ची अस्पताल बनाएको र चौतारा अस्पतालमा डाक्टरको दरबन्दी बढाएको उल्लेख गर्दै क्षेत्र २ को विकासका लागि समय अर्पण गर्ने समेत बताए।
‘मेलम्ची प्राथमिक अस्पताललाई स्तरउन्नति गर्ने काममा त्याे क्षेत्रका जनताले स्मरण गर्न याेग्य बनाउँछु,’ बस्नेतले भने।
यस क्षेत्रमा अहिलेसम्म कांग्रेसले जित्न नसकेको उल्लेख गर्दै बस्नेतले आफ्नो जितपछि पटकपटक कांग्रेसका उम्मेदवार जित्ने गरी काम गर्ने दाबी गरे। उनले भिमटारदेखि हेलम्बुसम्मका सबै फाँटलाई ५ बर्षभित्र सिँचाई गराएर छाड्ने प्रतिबद्धतासमेत जनाए। यसै गरी बस्नेतले सिन्धुपाल्चोक क्षेत्र २ लाई आलुको पाकेट क्षेत्र बनाउनेसमेत बताए।
‘सिन्धुपाल्चाेक जिल्लामा कहिल्यै कुनै उम्मेद्वार नहार्ने गरि काम गरेर देखाउँछु,’ उनले भने, ‘सिन्धुपाल्चाेकमा हिमाली आलु उत्पादन गरेर बिदेसमा ब्रान्ड गर्नेछु। बिदेशमा पठाउँदा हजाराैँले राेजगारी पाउँछन्। बिदेशमा ब्रान्डिङ गर्न सिन्धुपाल्चाेकबाट सुरू गर्छु।’