PahiloPost

May 21, 2025 | ८ जेठ २०८२

धनगढीका तीन दाजुबहिनीको पोखरा यात्रा : तीन विभागबाट तीन खेलमा प्रतिस्पर्धा, बहिनीले जितिसकिन् स्वर्ण



पहिलोपोस्ट

धनगढीका तीन दाजुबहिनीको पोखरा यात्रा : तीन विभागबाट तीन खेलमा प्रतिस्पर्धा, बहिनीले जितिसकिन् स्वर्ण

मुकुन्द घिमिरे / रिना थापा 

पोखरा : शुक्रवार पोखराको रंगशालामा नवौं राष्ट्रिय खेलकुद उद्घाटन भयो। रंगशालामा भाषण चल्यो, आतिसवाजी भयो। सांस्कृतिक झाकीँहरु प्रदर्शन भए। प्रतियोगितामा सहभागी सबै ११ टिमले मार्चपास गरे। त्यही मार्चपासमा सहभागी थिए धनगढीका तीन दाजुबहिनी। एउटै परिवारका उनीहरु तीन फरक पोसाकमा थिए। तीनैजना फरक फरक तीन विभागको प्रतिनिधित्व गर्दै स्टेडियममा आएका थिए। 

तीनजना दाजुबहिनीको 'तीन' अंक सँगको संयोग यतिमात्रै थिएन। उनीहरु तीन फरक विधाको खेलमा राष्ट्रिय खेलकुदमा सहभागी भइरहेका छन्। 

उनीहरु मध्येका जेठा दाजु बंधु रानाले कबड्डी खेल्छन् नेपाल पुलिस क्लबबाट। उनी नेपालको राष्ट्रिय टोलीबाट समेत कबड्डी खेल्छन्। जिल्ला, प्रदेश, विभागीय हुँदै बंधु राष्ट्रिय टोलीसम्म आइपुगेका हुन्।

बाल्यकालदेखि नै उनी खेलकुद भने पछि हुरुक्कै हुन्थे। पहिलो रनिङ सिल्ड खेल्दा आफू ६ कक्षामा रहेको उनी सम्झन्छन्। २०७३ सालमा उनी पुलिस कल्बमा आबद्ध भए। यसबिच उनले सुदूरपश्चिम र पुलिसबाट खेल। पुलिसले सहभागिता जनाउँदा पुलिसबाट र नजनाउँदा सुदूरपश्चिमबाट।

'रनिङ सिल्ड हुँदा भलिबल खेल्थेँ। त्यसपछि २०६८ मा कबड्डी सुरु गरेँ। २०७० मा लुम्बिनी च्याम्पियनसिप खेलेँ नेशनल खेलेँ, त्यसमा सुदुरपश्चिमबाट खेलेँ,' उनी भन्छन्, 'पहिलो नेशनल खेल त्यहाँ खेलेँ। त्यसपछि खेल्ने क्रममा पुलिसमा आइयो।'

रनिङ सिल्डमा भलिबल र एथलिटिक्समा राम्रो गर्दै स्थानीय स्तरमा राम्रो प्रभाव छाड्न सफल भएका थिए उनी।

'धनगढीको मोतीराज पनेरु गुरु उहाँलाई मेरो प्रफमेन्स राम्रो लागेर मलाई बोलाउनु भयो। अनि कुरा गर्नुभयो। कबडी खेल्नुहुन्छ भनेर,' उनले भने, 'उहाँले नै मलाई ट्रेनिङ गराउनु भएको हो। ट्रेनिङ पछि दुईवर्षमा नै राम्रो भएँ अनि नेशनल गेममा छनौट भएँ,' उनले भने। 

राष्ट्रिय टोलीको कुरा गर्दा उनी २०७५ मा १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा राष्ट्रिय टोलीमा पहिलोपटक परेका थिए। भाइ बहिनीलाई खेलुकदमा ल्याउन प्रोत्साहन गर्न पनि उनी नै हुन्।

'८ औँ राष्ट्रियमा पनि हामी तीनैजना भाइबहिनी खेलेका थियौं। म पुलिसबाट खेले। भाइ एपीएफबाट र बहिनी सुदुरपश्चिमबाट,' उनले भने, 'म जेठो हो। कान्छो भाइ पनि छ। कान्छो भाइ खेल्दैन। उसलाई स्पोर्टसमा खासै रुची छैन।'  

८ औंमा खोखो, नवौंमा रग्बी

बन्धुका माइलो भाइ हुन सुरज राना। उनी अर्को विभागीय टोलीबाट रग्बीमा प्रदर्शन गरिरहेका छन्।  अघिल्लो राष्ट्रिय खेलकुदमा खोखोमा खेलेका उनले यसपाला रग्बी खेल्दैछन्। सुरजले खेलेको यो दुईवटा खेल मात्रै भने होइन। 

'२०७५ देखि एपीएफमै छु। ८ औं मा खोखोमा सहभागी भएको। नवौं राष्ट्रियमा खोखोमा सहभागी गराएन त्यही भएर रग्बीबाट सहभागिता जनाएको छु,' खेल परिवर्तन गरेको बारे उनले भने, 'फरक खेल खेल्न सुरुमा गाह्रो त भइहाल्छ। हाम्रो खेलमा सानै देखि लागेको भएर कठिन चाहीँ भएन।' 

दाजुको जस्तै उनी पनि खेलकुदमा सानैदेखि रुचि राख्थे। उनी सुरुमा भलिबल खेलेर स्थानीय प्रतियोगिता खेलेको सम्झन्छन्।

'भलिबलमा हाम्रो रानाथारु क्लबले चर्चा कमाएको थियो। त्यही हेर्दा हेर्दै भलिबलमा लागेँ। भलिबलमा सानो उमेरमा स्कुल स्तरीय र स्थानीय प्रतियोगिता खेलेँ,' उनले खेलकुदको करियरबारे सुनाउँदै गए, 'त्यसपछि स्कुल स्तरमै कबड्डी खेलेँ। कबड्डीमा पनि ज्यान सानो पर्‍यो। जुनियर इन्डोनेपालसम्म खेलेको थिएँ। कबड्डी ४/५ वर्ष खेलेँ।'

कबड्डीमा भने दाईलाई हेरेर गएको उनी बताउँछन्। 'मेरो आदर्श भनेको मेरो दाई नै हो। दाईसँगसँगै दौडिने खेल्ने गरेरै लाग्यो,' उनले भने। 
कबड्डी पछि नयाँ खेल आयो खोखो। यो खेलमा भने राष्ट्रिय स्तरको प्रतियोगितासम्म पुग्न धेरै संघर्ष गर्नु परेन।

'यसबाट सिधै राष्ट्रिय स्तरमै अवसर पाएँ। खोखोमा सुदूरपश्चिमबाट सातौं राष्ट्रिय खेलकुद, राखेप च्याम्पियनसीप खेलेँ। मेडल पनि प्रदेशबाटै जितेँ। सातौं खेल्दा तेस्रो पदक र राखेप च्याम्पियनसीपमा दोस्रो स्थान बनाउन सकियो। मेरो खेल हेरेर नै विभागमा अवसर मिल्यो,' उनले सुनाए।

खेल क्षेत्रमा उनको उडान ठीकठाक चलिरहेको थियो, तर यसपाला एपीएफले खोखोमा सहभागिता नजाउने भयो। अनि रग्बीतिर लागे उनी।
'खोखो ट्रेनिङ गर्दागर्दै सूचना आयो खोखोमा सहभागिता हुँदैन भन्ने। त्यसपछि रग्बिको तयारी सुरु गरेँ। सिनियर दाईले यो राम्रो छ, रनिङ पनि राम्रो छ, स्टामिना पनि राम्रो छ भनेर ट्रेनिङमा बोलाउनु भयो,' उनले भने।

उनी रग्बिमा आएको धेरै भएको छैन। डेढ महिनाको प्रशिक्षणपछि राष्ट्रिय खेल खेलिरहेका उनलाई पसिना बगाएको खोखोको पनि त्यतिकै मोह छ।

'रग्बिमा खासै अनुभव छैन। तर खेल हेर्दा पदक हात पारिन्छ जस्तो लाग्छ। रग्बीको ट्रेनिङ लिएको डेड महिना जति भयो,' उनले भने, 'यो खेलमा आउनका लागि विभाग भित्र प्रतिस्पर्धा हुन्छ। अरु धेरै जना आउनु भएको थियो छनोटका लागि, त्यो चरण पार गरेरै आएको हुँ।'

'तपाईं अब खोखो एपीएफमा फर्किए के गर्नु हुन्छ?' भन्ने प्रश्नमा उनले भावुक भएर भने, 'सँधैको खेल छाडेको लागि भन्न सकिन्न। खोखो फर्किए, खोखो तिरै जान्छु। खोखोमा ८/९ वर्षै बिताएको छु।' 

सुरुमै स्वर्ण

सुरज र बंधुको बहिनी हुन् ममता राना। उनी विभागीय टोली त्रिभुवन आर्मी क्लबबाट ह्याण्डबल खेल्छिन्। नवौं राष्ट्रिय खेलकुदमा त उनको टोलीले स्वर्ण पदक जितिसकेको छ। 

'गेम राम्रो भयो। अरु टिम भन्दा पनि एपीएफसँग कठिन खेल थियो। एपीएफलाई जितियो। अप्ठ्यारो लागेपनि जित्छम भन्ने विश्वास चाहिँ थियो,' स्वर्ण पदक जितेपछि उत्साहका साथ कभर्डहलमा भेटिएकी उनले भनिन्, 'धेरै खुशी महसुस भइरहेको छ। तीनै जना विभागबाट खेल्न पाएम ९ औँ राष्ट्रिय गेम खेल्यौँ।' 

उनले आफ्नो करियर सुदूरपश्चिम प्रदेशबाट सुरु गरेकी थिइन्। पछि उनलाई एपीएफले बोलायो। करिब ८ महिना एपीएफमा करार रहिन् उनी। पछि त्यहाँ भर्ना हुन मिल्ने अवस्था नभए पछि बाहिरिन्। 

'त्यसपछि फेरि एसियन गेम आयो। एसियन गेम आएपछि गेमको छनोटमा परेँ। यता आर्मीमा हुन्थ्यो एसियन गेमको ट्रेनिङ। आर्मीले भन्यो आर्मीमा आऊ। अनि आर्मीमा आएको,' उनले भनिन्। 

उनी आर्मीमा आएको पनि धेरै भएको छैन। 'तीनमहिना भयो आर्मी आएको। आर्मी आइसकेपछिको यो पहिलो गेम हो,' उनले सुनाइन्।

उनले स्वर्ण जित्दा सुरजको टीम रग्बिमा सेमिफाइनलमा पुगेको छ भने बन्धुको टोलीले शुक्रवार सेमिफाइनल प्रवेशका लागि खेल्दैछ। 
आफू खेल क्षेत्रमा दाइहरुको 'करियर' हेरेर आएको उनी बताउँछिन्। 

'सुरुमा त दाइहरुपनि गेम खेल्नुहुन्छ। दाइहरु स्कुलमा गेम खेलेको हेर्दा मलाई पनि धेरै रहर लाग्थ्यो गेम खेल्छु भनेर दाइहरुसँगै जान्थे खेल खेलेकोबेला,' उनले भनिन्, 'दाइहरु खेलेको देखेरै खुशी लाग्थ्यो म पनि खेल्छु भनेर अनि त्यसपछि ठुलो हुँदै गए स्कुलमा गेम हरु खेल्थे। कबडी पनि खेल्थे। त्यसपछि दाइले गेम खेल्छौँ भनेर सोध्नुभयो। खेल्छु भनेँ।' 

ह्यान्डबल चाहिँ सुरुमा नै उनका दाइले आफैँ लगेको बताउँछिन्। कबड्डी नै खेल्छु जस्तो लागेको थियो उनलाई सुरुमा तर दाइले भनेर हन्डबलमा आएको उनी सुनाउँछिन। 

एउटा सपना...

तीनैजना दाजुबहिनी नै खेलकुदमा लाग्न सबैभन्दा ठूलो समर्थन घरबाट नै छ उनीहरुलाई। 

'राम्रो छ भन्नुहुन्छ सबैले। मम्मी बाबाले पनि फुल सर्पोट गर्नुहुन्छ,' ममताले भनिन्। 

सुरजको त सपना नै थियो, मार्चपासमा साथमा निस्किने।

'जुन दिन देखि ९ औं राष्ट्रिय खेलकुद हुने सुनेको थिएँ त्यही दिन देखि तीन जानै सँगै मार्च पास गर्ने थियो,' उनले गम्भीर हुँदै सुनाए। 

उनलाई भने कहिलेकाहिँ सबैको एउटै विधा भएको भए पनि कस्तो हुन्थ्यो होला जस्तो पनि लाग्छ। 

'मैले गर्दा भाइलाई पनि बोलाएँ। भाइ र म पहिला एउटै गेम खेल्थ्यौँ। भाइ पनि कबडी खेल्यो। पछी ऊ खोखो तीर लाग्यो। बहिनी चाहिँ सुरुदेखि नै हन्डबल बाट स्टार्ट गरेको हो,' बन्धुले सुनाउँदै थिए, 'मम्मी अदालतमा हुनुहुन्छ। बाबाको जागिर नगरपालिकामा छ।'

उनी सुनाउँदै गए : तीन जनै खेलाडी हुँदा सबैले प्राउड फिल गर्छन्। एउटा परिवारको मान्छेले तीनवटा विभागलाई प्रतिनिधित्व गछौँ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell