PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

आरजुले जित नदेखेको कैलाली ५ मा गठबन्धन बोकेको कांग्रेस जित्ला कि हार्ला? कि दोहोरिएलान राना?



एम बम

आरजुले जित नदेखेको कैलाली ५ मा गठबन्धन बोकेको कांग्रेस जित्ला कि हार्ला? कि दोहोरिएलान राना?

कैलाली : २०७४ सालको निर्वाचनमा कैलाली ५ डा. आरजु राणा देउवाका लागि सबैभन्दा सुरक्षित निर्वाचन क्षेत्र थियो। प्रधानमन्त्री शेरबहादुर देउवाकी श्रीमती राणाले रोज्न खोजेको सो क्षेत्रमा कांग्रेसको संस्थापन पक्ष बलियो छ भने देशभर उनलाई सिट नछाड्ने क्षेत्र त न होला। तथापि, उनले एकपटक देउवा नै विजयी भइसकेको क्षेत्र सुरक्षित ठानिन् र २०७४ सालमा कैलाली ५ रोजिन्। सजिलै निर्वाचन जित्ने र सांसद बन्ने उनको सपना भने कांग्रेसकै अन्तर कलहले पूरा हुन पाएन। जसको फाइदा नेकपा एमालेलाई भयो।

नेपाल कम्युनिस्ट पार्टी एमालेका नारदमुनि रानाले आरजुभन्दा ५ हजार बढी मत ल्याएर प्रतिनिधिसभामा विजयी भए। आरजु हार्नुको प्रमुख कारण नेपाली कांग्रेस भित्र देखिएको टिकट वितरणको असन्तुष्टि बन्यो। २०७४ कै परिणाम फेरि २०७९ मा दोहोरिने डरले यसपटक भने आरजुले कैलाली ५ मा प्रतिस्पर्धा गर्ने आँट गर्न सकिनन्,। उनले आफ्ना स्वकीय सचिव प्रकाश देउवालाई प्रदेशसभामा टिकेट दिएर पठाए पनि आफू भने समानुपातिकमा बसिन्। एकाएक आरजुको यो निर्णय पछि कैलाली ५ मा नेपाली कांग्रेसको साख जोगिने आधार फेरि कमजोर बनेको छ।

कांग्रेस जित्ला कि हार्ला?

२०७४ सालको निर्वाचनमा डा. आरजु राणालाई 'टुरिस्ट' उम्मेदवारको उपमा दिइएपछि उनले धनगढीमै ४ करोडको घर किनिन् र पनि चुनाव जित्न सकिनन्। यस पटकको टिकट वितरणका लागि पनि कैलाली ५ बाट प्रतिनिधिसभामा उनको एकल नाम सिफारिस भएको थियो। आकांक्षीको लर्को भए पनि उनका अघि दाबी गर्ने कसैले आँट गरेनन्। जसमा प्रदेश महामन्त्री नरनारायण शाह मनु पनि एक आकांक्षी थिए। तर आरजुको निर्वाचन लड्ने इच्छापछि कसैले पनि दाबी गरेनन्।

२०७४ सालमा टिकट वितरणका क्रममा यस क्षेत्रका बलिया उम्मेदवार तथा दाबेदार पुष्करनाथ ओझालाई पाखा लगाएर आरजुलाई अघि सारिएपछि कांग्रेसको गढमै कांग्रेसले पराजय बेहोरेको थियो। त्यति बेला टिकट नपाएपछि आफू तटस्थ बसेको तर कसैलाई जिताउन र हराउन नलागेको ओझाको भनाई थियो। कांग्रेस संस्थापन पक्षले भने उनलाई आरजु हराएको आरोप लगाएर पार्टीबाटै निष्कासन गरेको थियो। यसपटक पुरानै अवस्था दोहरिने डरले आरजु समानुपातिकको सूचीमा बसेकी छिन्।

प्रतिनिधिसभामा आरजुको एकल सिफारिस पछि कांग्रेस कैलालीका नेताहरूले यसपटक पुष्करनाथ ओझालाई फकाउने भरपुर प्रयास गरेका थिए। तर उनले नमान्दा आरजु 'ब्याक' भएकी हुन्। अब २०७४ सालको निर्वाचनमा कांग्रेसका प्रदेशसभा सदस्य विजयी डिल्लीराज पन्त यस क्षेत्रबाट गठबन्धनका साझा उम्मेदवार बनेर चुनावी मैदानमा छन्। प्रदेश सभा तर्फ ‘क’ मा नेकपा माओवादी केन्द्रका रमेश धामी र ‘ख’ मा नेपाली कांग्रेसका प्रकाश देउवा (आरजुका स्वकीय सचिव) गठबन्धनका साझा उम्मेदवार छन्। प्रतिनिधि सभामा नेपाल कम्युनिस्ट पार्टी एमालेले भने नारदमुनि रानालाई नै अघि सारेको छ।

धनगढी उपमहानगरपालिकाका १९ र कैलारी गाउँपालिकाका २ वडा मिलेर बनेको क्षेत्र नम्बर ५ मा स्थानीय तहको निर्वाचनको नतिजा गठबन्धनका लागि सकारात्मक देखिएको छैन। वडाहरूमा वर्चस्व रहेको कांग्रेसका उम्मेदवार गठबन्धन बनाउँदा पनि स्वतन्त्र उम्मेदवार गोपाल हमालसँग धनगढी उपमहानगरमा भारी मतले पराजित भएका थिए। उपमहानगरपालिकाको उपप्रमुखमा भने एमालेकी कन्दकला राना विजयी भएकी थिइन्।

गठबन्धनका पन्त र एमालेका रानाका अघि २०७४ मा तटस्थ बसेका ओझा स्वतन्त्र उम्मेदवार बनेर चुनौतीका रूपमा आएका छन्। उनको सबैभन्दा बढी डर गठबन्धनलाई छ। यस पटक पनि स्थानीय नेतालाई पाखा लगाएर आरजुले प्रकाश देउवालाई अघि सारेपछि नेपाली कांग्रेस कैलालीमा टिकट वितरणको किचलो सतहमा छ। प्रतिनिधिसभाका लागि कांग्रेसकै युवा नेता क्षितिज भण्डारीले पनि उम्मेदवारी दर्ता गराएका छन्। अर्कातिर मनोनयनको मुखैमा आरजुले निर्वाचन क्षेत्र छोड्नुको सन्देश सकारात्मक नगएको कांग्रेसकै नेताहरू बताउँछन्।

जित्ने दाबी आआफ्नै

एमालेका उम्मेदवार नारदमुनी राना भने आफूले चुनाव जित्नेमा ढुक्क रहेको बताउँछन्।

'अहिले हामीले धेरै भनिरहनु पर्ने अवस्था नै छैन। एमालेले उठाएका मुद्दालाई मात्रै हेरेर पनि जनतालाई हामीलाई ढुक्कसँग जिताउँछन् भन्नेमा हामी विश्वस्त छौँ,' उनले भने।

कांग्रेसका तर्फबाट गठबन्धनका साझा उम्मेदवार पन्तले पनि आफूहरू जित्ने दाबी गरे।

‘स्थानीय तहको निर्वाचन र यो निर्वाचन फरक हुन्,’ उनले भने ‘त्यस बेला स्थानीय नेता कार्यकर्ता लापरवाह थिए। तर अहिले अवस्था सुध्रिएको छ। त्यसै हारलाई पनि कांग्रेसले सिकाई मानेर अघि बढेको छ। अर्कोतर्फ हामी गठबन्धनमा छौँ। त्यसैले हाम्रो जित सुनिश्चित छ।’

कांग्रेसको कारबाहीपछि स्वतन्त्र उम्मेदवारी दिएर चर्चामा आएका ओझाको पनि आफ्नै दाबी छ।

‘यो धनगढीका मासिनको एउटा सामूहिक आत्मसम्मानको प्रश्न छ,’ उनले भने, ‘ विगत एक/दुई निर्वाचनबाट गोजीभरि टन्न पैसा बोकेर गयो भन्ने धनगढीबाट निर्वाचन जितेर प्रतिनिधि सभासम्म सजिलै पुग्न सकिन्छ भन्ने कतिपयले धनगढीको धुमिल चरित्र बनाएका छन्। म त्यसलाई सफा गर्न आएको हुँ। राजनीतिक दल जनताका सम्पत्ति हुन्। तर यहाँ सत्ता र पैसाको बलमा निर्वाचन सजिलै जित्न सकिन्छ भन्ने कतिपयको बुझाइ बनेको छ। म त्यसलाई खण्डित गर्दै धनगढीका मानिस आत्मसम्मानयुक्त जीवन जिउने मानिस हुन्। यहाँ सत्ता र पैसाको बलमा मात्रै चुनाव जित्न सकिँदैन भन्ने पुष्टि गर्न चाहन्छु।’

आफू निर्दलीय उम्मेदवार भए पनि मतदाताको स्थलमा सर्वदलीय उम्मेदवार स्थापित भएर विजयी हुने उनको दाबी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell