PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

अव्यवस्थाले निम्ताएको अस्तव्यस्तता : राष्ट्रिय खेलकुदमा कीर्तिमानको अन्योलदेखि हात हालाहालसम्म



मुकुन्द घिमिरे

अव्यवस्थाले निम्ताएको अस्तव्यस्तता : राष्ट्रिय खेलकुदमा कीर्तिमानको अन्योलदेखि हात हालाहालसम्म

पोखरा : पोखरामा शुक्रवारबाट सुरु भएको नवौं राष्ट्रिय खेलकुद बिहीवार सकिँदैछ। प्रतियोगिताको उद्घाटन अघिबाटै विभिन्न खेलमा भएको लापारबाही रोकिने छाँटकाँट देखिएको छैन, बरु थप उग्र हुँदै गइरहेका छन्।

प्रतियोगिताको उद्घाटन अघि ह्याण्डबलमा दुई टिमको जर्सी एउटै परेपछि एउटा टिमले ‘बिब’ लगाएर खेल्नु परेको थियो। पाएको जर्सीमा नम्बर नभएपछि मार्करले कोर्नुपर्ने अवस्था समेत आयो। अझ हक्कीमा प्रतियोगिताको अघिल्लो दिनसम्म मैदानको तयारी नहुँदा खेल निर्धारित समयभन्दा पछाडि सर्‍यो। अझ पूर्वाधार र यातायातको संयोजन नमिल्दा खेलाडी समयमा मैदानमा पुग्न नसकेको घटना हक्की र फुटबललगायतका खेलमा देखिए।

फेन्सिङमा खेल सकिँदा पनि खेलाडीले खेल सामाग्री पाएनन्। मेडल पनि पर्याप्त नआउँदा उधारोमा पहिला मेडल जितेको खेलाडीसँगै मेडल मागेर लगाउनु परेको समेत देखियो। त्यो पनि युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजबाट। उद्घाटन पछि के-के विवादित बने राष्ट्रिय खेलकुदमा?

एनआरएनए र प्रदेश १ विवाद

प्रदेश १ ले फुटबलमा एनआरएनएले मापदण्ड विपरितका खेलाडी राखेको भनेर ‘प्रोटेस्ट’ गर्‍यो। प्रदेश १ ले जिल्ला छनोट र प्रदेश छनोटमा राष्ट्रिय टोलीको क्याम्पमा भएका खेलाडी नआएको भन्दै उनीहरुलाई बाहिरै राखेर टोली घोषणा गर्‍यो। प्रदेश १ का अनन्त तामाङ, पुजन उपरकोटी,  सुजल श्रेष्ठ, संजोक राईलगायतका खेलाडी त्यसपछि एनआरएनएको टिममा सहभागी भए।

एनआरएनएको खेलाडी बन्न आफ्नै मापदण्ड छ। यसका लागि १८० दिन नेपालबाहिर बसेको हुनुपर्ने लगायतका प्रावधान छन्। तर, एनआरएनएले आफ्नै सबै खेलाडी आइनपुगेको भन्दै प्रदेश १ का यी खेलाडी र विमल घर्तीमगर लगायतका राष्ट्रिय टोलीका खेलाडी समेट्दै टोली घोषणा गर्‍यो। उनीहरु एनआरएनएमा हुन नपाउने भन्दै प्रदेश १ ले ‘प्रोटेस्ट’ गरेको थियो। र, राष्ट्रिय खेलकुद परिषद् राखेपले प्रदेश १ को पक्षमा फैसला गर्‍यो र एनआरएनए बाहिरियो।

यसमा प्रदेश १ ले राष्ट्रिय टोलीमा खेलिरहेको खेलाडीलाई जिल्लामा खेल्न आएनन् भनेर अवसरबाट बञ्जित गर्नु, एनआरएनएले खेलाडी पुगेनन् भनेर मापदण्डमा नपर्ने खेलाडी राख्नु र राखेपले आँखा चिम्म गरेर स्वीकृत गर्नु र प्रोटेस्ट परेपछि सदर गर्नु घटनाले पूर्व तयारी र समन्वयको अभाव देखाएको छ।

पौडीको कीर्तिमानमाथि प्रश्न

यसपाला सबैभन्दा धेरै कीर्तिमान बन्नेमा पौडी र एथ्लेटिक्स अगाडि छन्। पौडीमा खेलपिच्छे जस्तो कीर्तिमान बनिरहेका छन्। यस्तोमा प्राविधिकहरुले पौडीपोखरी मापदण्ड भन्दा धेरै छोटो भएको दाबी गरेका छन्। उसो त पोखरामा मापदण्डको पौडी पोखरी नभएको भन्दै काठमाडौंमा गराउने भनेर चर्चा पछिसम्म थियो। पछि पोखरामै व्यवस्थापन हुन सक्ने भन्दै खेल पोखरामै हुने भए।

प्रतियोगितामा पोखरी मापदण्ड भन्दा धेरै छोटो पाइएको एक जना प्राविधिकले बताए। उनका अनुसार ३ सेमिसम्मलाई ‘एक्स्क्युज’ दिन सकिने अवस्था भएपनि हाल प्रतियोगिता भइरहेको पौडीपोखरी १० देखि १५ सेमि छोटो भएको दाबी उनले गरे। यसबारे, पौडीसंघ र राष्ट्रिय खेलकुद परिषद् छलफलमा भएको बुझिएको छ।

‘स्वर्ण’ माथिको प्रश्न र कर्णालीका दुर्गामाथिको ‘प्रोटेस्ट’

खेलकुदको चौथो दिन बिहान चर्चा एथलेटिक्सले पायो। चर्चा थियो दुर्गाबहादुर बुढाको। भारतीय आर्मीमा कार्यरत उनले भारतबाट पनि अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको भन्दै तीन विभाग र गण्डकी प्रदेश गरी चार टोलीले ‘प्रोटेस्ट’ पनि हाने।

केही बेरमा खेल सुरु भयो। र, ३ हजार मिटर स्टिबल चेजको पुरुषतर्फ दुर्गाले नै स्वर्ण जिते। उनले निर्धारित दुरी ८ मिनेट ५५:१९ सेकेन्डमा जित्दा दोस्रो स्थानका अजित यादवले ९ मिनेट २१: १० सेकेन्डमा निर्धारित दुरी पार गरे। उनीमाथि लागेको आरोप पनि कमजोर भने छैन।

‘मित्र राष्ट्र भारतबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व जनाउँदै आउनु भएको र गत ८औँ राष्ट्रिय खेलकुदमा नेपालगंजमा समेत कर्णाली प्रदेशबाट सहभागी भई पदक जितेको र १३औँ सागमा राष्ट्रिय टोलीको तयारीको सिलसिलामा भारतबाट प्रतिनिधित्व गर्दै खेल्ने हुँदा नेपालबाट सहभागी भएर खेल्न नसक्ने जनाएर राष्ट्रको प्रतिनिधित्व गर्न सक्नुभएन,’ निवेदनमा लेखिएको छ।

यस्तोमा राष्ट्रिय खेलकुदमा सहभागी भएर पदक जित्ने तर राष्ट्रका उपस्थित हुन नसक्ने भन्दै चार टोलीले न्यूनतम सुविधा पाएर प्रयास गरेका खेलाडी यसबाट हतोत्साहित हुने उल्लेख गरेका छन्।

चार टोलीले ३ हजार मिटर स्टिबल चेज इभन्टमा उनको सहभागिता खारेजीको समेत माग गरेका थिए। निवेदनमा उल्लेख गरेजस्तो दुर्गाको एथलेटिक्स डेटाबेस भारतबाट रजिस्टर गरिएको पाइएको छ।

दुर्गाको तर्क भने फरक छ। आफूले नेपालबाटै खेल्न चाहेर पनि अवसर नपाएको उनी तर्क गर्छन्। यसैको ‘इगो’ लिएर आफूले खेल सुधारेको उनले सुनाए।

उनले आफू रोजीरोटीका लागि भारत गएको भन्दै नेपाल फर्किएर खेल्ने योजना रहेको सुनाए। उनको तर्क छ : भारतबाट एनओसी ल्याउने हो भने नेपालबाट खेल्न कुनै समस्या हुनेछैन।

त्यस्तै, जयरानीको थारुको कीर्तिमानी स्वर्णलाई लिएर पनि विवाद आएको छ। खेलको भोलिपल्ट उनले अन्तिममा ट्र्याक छाडेको भिडियोमा देखिएपछि उनको कीर्तिमान पनि विवादमा तानिएको छ।  

कबड्डीमा रेफ्रीबिच हात हालाहाल

मंगलवार कबड्डी खेल चलिरहँदा रेफ्रीहरुबिच नै कबड्डी कबड्डी चल्यो। यसविषयमा राखेपमा उजुरीसमेत परिसकेको छ। कबड्डीमा सुरुबाटै रेफ्रीको निर्णयलाई लिएर विवाद रहेको बुझिएको छ।

गण्डकी प्रदेशको टिमको प्रशिक्षक सन्दीप पन्तका अनुसार प्रतियोगिता सुरु भएदेखि लगभग ७/८ वटा खेल रेफ्रीको निर्णय विवादित बनेका छन्। हात हालाहाल सम्मको अवस्था छ प्रत्येक खेलमा।

‘हाम्रो खेलमा पनि मुख्य अफिसियलहरु निर्णयहरु त समस्या छँदैछ। हाम्रो २० मिनेटको मुख्य समय हुन्छ। यसमा अफिसियल टाइम आउट, टिमको टाइमआउट स्टेपवाइज रोकिन पर्‍यो’, उनले भने, ‘त्यो नरोकिइ १८/१७ मिनेटमात्र गेम भएको छ। मैले आफै हेरिरहेको छु, मेरो खेलाडीले हेरिरहेको छ। पाँच मिनेट पछाडि सिधै १ मिनेटमा गेम आयो। र, गेम सकियो। हाम्रो भाइटल गेम थियो। हाम्रो दाबी भनेको निर्धारित २० मिनेट हामीले खेल्न पाउनुपर्‍यो।’

अर्का एकजना खेलाडीले रेफ्रीको सर्टिफिकेटको परीक्षण हुनुपर्ने समेत माग राखे।

‘रेफ्रीसँग हामीले कुनै कुरा अपिल गर्‍यो, रेफ्री आएर- ओए हामीलाई नियम पढाइस् भनेर भन्छ। पाँच मिनेट समय थियो। एक मिनेटमा सकिदिए,’ उनले भने।

कबड्डी संघको अध्यक्ष तुलसी थापाले रेफ्रीको कमजोरी भएको घुमाउरो पाराले स्वीकार्दै भनिन्, ‘गण्डकी प्रदेशले जितिरहेको थियो। खेलको अन्तिमसमयमा केही कमीकमजोरी देखियो। ५ मिनेटमा १० मिनेट लिड गरेको टोली हार्न पुग्यो।’

उनले थप भनिन्, ‘खेलको निर्णय रेफ्रीलाई जिम्मा दिएको हुन्छ। उहाँहरुले जे निर्णय गर्नुहुन्छ त्यो अन्तिम हुन्छ। त्यसमा कसैले डिस्टर्भ गर्न मिल्दैन। त्यहाँ आफ्नो अनुसारको निर्णय गराउन खोज्दा खेरी केही डिस्टर्भ भएको छ। त्यस्तो एकदमै ठूलो त होइन तर परिणाम एउटा पक्षमा हुनुपर्नेमा अर्को पक्षमा गएको देखियो।’

त्यस्तै, समयमा नम्बर दिन सकेनन् भन्ने आरोपमा वारीपारी बस्दा रेफ्रीले कहिलेकाँही नदेखेको हुनसक्ने भन्दै उनले बचाउ गरिन्। यसमा प्रविधिको अभावलाई दोष देखाउँदै उनी पन्छिइन्।

‘हाम्रा लागि सबै खेलाडी बराबर हो। हामीले हेरिरहेका छौँ। खेलाडीले रेफ्रीसँग वादविवाद गरेको पनि देखेका छौँ। खेलकुदमा यस्ता घटना हुन्छन्’, अध्यक्ष थापाले भनिन्, ‘एउटा निर्णय भइसकेको छ। मान्छे मरिसकेको छ भने घाटबाट फिर्ता ल्याउन त सकिँदैन नि। फिर्ता हुँदैन। डिजिटल माग गरेको थियौं। हामीसँग इक्युपमेन्ट नपाउँदा पनि समस्या भएको छ। प्रविधि नभएकै कारणले यस्तो भयो।’

उनले भनिन् : गेम हेर्नलाई हामीसँग साधन छैन। निर्णय फेर्न सकिँदैन। रेफ्रीलाई भोलिको दिनमा यस्तो नहोस् भनेर सचेत गराउन सकिन्छ।

यस्तै, साइक्लिङमा पनि दोस्रो र तेस्रो स्थानको विषयलाई लिएर विवाद उत्पन्न भएको छ। अत: अभाव र अवस्यवस्थापन बिच भएको राष्ट्रिय खेलकुद प्रतियोगितालाई यस्तो अवस्थामा कसरी सफल भनेर मापन गर्न सकिएला?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell