काठमाडौं : स्वर्गीय शताब्दी पुरुष सत्यमोहन जोशीले लेखेको ‘माया रानीलाई’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। सन्तोष श्रेष्ठको संगीत र स्वर रहेको गीतको भिडियोलाई गोल्डेन क्रियशनको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
सत्यमोहन जोशीको लेखेको गीतको यो पहिलो भिडियो हो। यसअघि जोशीले लेखेका गीतहरु रेकर्ड भएतापनि भिडियो भने बनेका थिएनन्। हेमप्रभास अधिकारीले निर्देशन गरेको गीतको भिडियोमा सत्यमोहनका साथै सन्तोषलाई नै देख्न सकिन्छ।
गीतको भिडियो फेसबुकमा सेयर गर्दै सन्तोषले जोशीलाई श्रद्धाञ्जली व्यक्त गरेका छन्।
‘उहाँले विसं २००१ मा लेख्नुभएको गीत 'माया रानीलाई' ७८ वर्षपछि रेकर्ड गरी हामी भिडियो निर्माणको चरणमा थियौँ। उहाँ अस्वस्थ हुनुभएकोले हामी शीघ्र स्वास्थ्यलाभको कामना गरेर बसेका थियौँ। तर, दुर्भाग्य! गीत रिलिज हुन नपाउँदै उहाँको असामयिक निधन भयो। उहाँप्रति हार्दिक श्रद्धासुमन। वाङ्मय शताब्दी पुरुषको गीतको यो पहिलो भिडियो हो,’ श्रेष्ठले फेसबुकमा लेखेका छन्।
सन्तोषले यसअघि जोशीले लेखेको गीत ‘तेरो मेरो जे भन्छौं हामी, आखिर यहाँ न तेरो न मेरो’ बोलको गीतमा पनि संगीत भरिसकेका छन्।