पोखरा : पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत टेनिसको ‘मेन्स डबल्स’विधाको स्वर्ण आयोजक गण्डकी प्रदेशले जितेको छ। पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा आज बिहान सम्पन्न प्रतिस्पर्धात्मक खेलमा गण्डकीका प्रदीप खड्का र अनिल शाहीको जोडीले विभागीय नेपाली सेनाका प्रनभ खनाल र अकी जुवेन रावतको जोडीलाई फाइनलमा पराजित गरी स्वर्ण जितेका हुन्।
गण्डकीका खड्का नेपालको पहिलो वरियताका खेलाडी हुन् भने सेनाका खनाल द्वितीय वरियतामा छन्। खेलको पहिलो सेट गण्डकीले ७-५ सेटले जित्दा दोस्रो सेट भने ४-६ मा गुमायो। निर्णायक ‘सुपरटाइ’मा गण्डकीले १०-८ अङ्कले नतिजा आफ्नो पक्षमा ल्यायो। यसअघि गण्डकी प्रदेशले ‘टिम इभेन्ट’मा पुरुषतर्फ स्वर्ण पदक जितिसकेको छ।
सफ्ट टेनिसमा प्रदेश नम्बर १ लाई स्वर्ण
सफ्ट टेनिसतर्फ ‘मिक्स डबल्स’को आज सम्पन्न भएको फाइनल खेलमा प्रदेश नम्बर १ ले स्वर्ण पदक जितेको छ। पोखरा रंगशालास्थित टेनिस कोर्टमा आज भएको प्रतिस्पर्धामा प्रदेश नम्बर १ का युकेश योञ्जन र श्रेया योञ्जनको जोडीले ५-२ को सेटमा वाग्मती प्रदेशका प्रदीप खत्री र जर्जियाँ चौधरीको जोडीलाई पछि पार्दै स्वर्ण जितेका हुन्।
प्रतियोगितामा वाग्मतीले रजत पदकमा चित्त बुझाउनु पर्यो। नेपाल पुलिसका कमल भण्डारी र विष्णु भण्डारी साथै एपीएफका हरकसिंह धामी र भगवती विकले कास्य पदक प्राप्त गरे। सफ्ट टेनिस डबल्सतर्फको मंगलवार भएको खेलमा विभागीय टोली नेपाल प्रहरी र एपीएफले एक-एक स्वर्ण जितेका थिए। पुरुषतर्फ पुलिसका नरबहादुर लुङ्गेली र कमल भण्डारीको जोडी र महिलातर्फ एपीएफका भगवती विक र समृद्धि महर्जनको जोडीले स्वर्ण जितेका हुन्।