PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

अन्याय भएको भन्दै कोर्टमै सुते गण्डकीका खेलाडी, वार्तापछि संघको दाबी : विवाद मिल्यो



मुकुन्द घिमिरे

अन्याय भएको भन्दै कोर्टमै सुते गण्डकीका खेलाडी, वार्तापछि संघको दाबी : विवाद मिल्यो
फोटो : एनएसजेएफ गण्डकी

पोखरा : नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पोखरामा जारी पुरुष कबड्डीमा मंगलवार साँझदेखिको विवाद मिलेको नेपाल कबड्डी संघले जनाएको छ।

बुधवार सम्पन्न वार्तापछि मंगलवार भएको प्रतियोगितामा निर्णयका क्रममा रेफ्री दोषी पाइएमा कारबाही गर्ने सहमति भएको अखिल नेपाल कबड्डी संघका महासचिव विनोद प्रजापतिले बताए।

‘हामी दुवै पक्ष बस्यौं, हिजो गेमको दौरानमा भएको निर्णय दुवै पक्षले मान्ने, निर्णायकको हकमा दोषी ठहरिए कारबाही गर्ने सहमति भएको छ,’ उनले भने।

गण्डकी प्रदेशले निर्णायकप्रति लगाएको आरोपका सम्बन्धमा भिडियो फुटेज र संघका विज्ञबिच बसेर छलफल गर्दा रेफ्रीको निर्णयमा दोष पाइएमा संघले कारबाही गर्ने सहमति जुटेको उनको भनाइ छ। यद्यपि, मंगलवार विवादपछि संघकी अध्यक्ष तुलसा थापाले डिजिटल प्रविधि नहुँदा विवादको अध्ययन गर्न कठिन हुने आशयको कुरा गरेकी थिइन्।

‘हाम्रा लागि सबै खेलाडी बराबर हो। हामीले हेरिरहेका छौँ। खेलाडीले रेफ्रीसँग वादविवाद गरेको पनि देखेका छौँ। खेलकुदमा यस्ता घटना हुन्छन्’, अध्यक्ष थापाले भनिन्, ‘एउटा निर्णय भइसकेको छ। मान्छे मरिसकेको छ भने घाटबाट फिर्ता ल्याउन त सकिँदैन नि। फिर्ता हुँदैन। डिजिटल माग गरेको थियौँ। हामीसँग इक्युपमेन्ट नपाउँदा पनि समस्या भएको छ। प्रविधि नभएकै कारणले यस्तो भयो।’

आज बसेको वार्तामा अखिल नेपाल कबड्डी संघका महासचिव विनोद प्रजापति, उपाध्यक्ष वीरेन्द्र यादव, संगीता हमाल, गण्डकी प्रदेशका टिम कोच सन्दिप खड्की, टिम म्यानेजर हरि जिसी, टिम क्याप्टेन महेश खड्कीसहित वार्तामा सहभागी भएका थिए।

गण्डकी प्रदेशका पुरुषतर्फका खेलाडीहरुले कबड्डी कोर्ट कब्जा गर्दा लिग चरण अन्तर्गतका अन्तिम खेलहरु प्रभावित भए। मंगलवारको प्रतियोगितामा गण्डकी प्रदेश र नेपाल प्रहरी क्लवबिचको खेलमा रेफ्रीले अन्याय गरेको भन्दै गण्डकी प्रदेशका खेलाडीहरुले कोर्टमा नै सुतेर विरोध जनाएका थिए।

के भएको थियो?

मंगलवार कबड्डी खेल चलिरहँदा रेफ्रीहरुबिच नै कबड्डी कबड्डी चल्यो। यस विषयमा राखेपमा उजुरीसमेत परिसकेको छ। कबड्डीमा सुरुबाटै रेफ्रीको निर्णयलाई लिएर विवाद रहेको बुझिएको छ।

गण्डकी प्रदेशको टिमको प्रशिक्षक सन्दीप पन्तका अनुसार प्रतियोगिता सुरु भएदेखि लगभग ७/८ वटा खेल रेफ्रीको निर्णय विवादित बनेका छन्। हात हालाहाल सम्मको अवस्था छ प्रत्येक खेलमा।

‘हाम्रो खेलमा पनि मुख्य अफिसियलहरु निर्णयहरु त समस्या छँदैछ। हाम्रो २० मिनेटको मुख्य समय हुन्छ। यसमा अफिसियल टाइम आउट, टिमको टाइमआउट स्टेपवाइज रोकिन पर्‍यो’, उनले दाबी गरेका थिए, ‘त्यो नरोकिइ १८/१७ मिनेटमात्र गेम भएको छ। मैले आफै हेरिरहेको छु, मेरो खेलाडीले हेरिरहेको छ। पाँच मिनेट पछाडि सिधै १ मिनेटमा गेम आयो। र, गेम सकियो। हाम्रो भाइटल गेम थियो। हाम्रो दाबी भनेको निर्धारित २० मिनेट हामीले खेल्न पाउनुपर्‍यो।’

बुधवारको प्रतियोगितामा नेपाल प्रहरी र गण्डकी प्रदेशबिचमा भएको प्रतियोगितामा प्रहरीले गण्डकी प्रदेशलाई ५८-५४ अंकले पराजित गरेको थियो। संघकी अध्यक्ष थापाले पनि कमजोरी भएको स्वीकार्दै प्रविधिलाई दोष दिएकी थिइन्।

‘गण्डकी प्रदेशले जितिरहेको थियो। खेलको अन्तिम समयमा केही कमीकमजोरी देखियो। ५ मिनेटमा १० मिनेट लिड गरेको टोली हार्न पुग्यो’, उनले थप भनिन्, ‘खेलको निर्णय रेफ्रीलाई जिम्मा दिएको हुन्छ। उहाँहरुले जे निर्णय गर्नुहुन्छ त्यो अन्तिम हुन्छ। त्यसमा कसैले डिस्टर्भ गर्न मिल्दैन। त्यहाँ आफ्नो अनुसारको निर्णय गराउन खोज्दा खेरी केही डिस्टर्भ भएको छ। त्यस्तो एकदमै ठूलो त होइन तर परिणाम एउटा पक्षमा हुनुपर्नेमा अर्को पक्षमा गएको देखियो।’

आज पनि गण्डकीका खेलाडीले विरोध गरेपछि वार्ताबाट सहमति भएको संघले दाबी गरेको हो। महिलातर्फका खेल बिहानैबाट सञ्चालन भइरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell