
काठमाडौं : १०औँ अन्तर्राष्ट्रिय बालिका दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। मंगलवार नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रमको मूल नारा ‘गर्व गरौँ छोरी जन्माउनुमा’ रहेको थियो।
कार्यक्रम सञ्चारिका समूह, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, संयुक्त राष्ट्र सघीय जनसंख्याकोष (यूएनएफपीए) र नोराडको सहकार्यमा आयोजना गरिएको थियो। सन् २०१२ अक्टोबर ११ मनाउन सुरु भएको यो दिवस यसवर्ष ‘अब हाम्रो पालो, हाम्रो अधिकार, हाम्रो भविष्य’ भन्ने नाराका साथ विश्वभर मनाइँदैछ।
कार्यक्रममा बोल्दै महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सहसचिव यमलाल भुसालले बालकको तुलनामा बालिकाहरू बढी हिंसामा परिरहेको बताउँदै बालिका माथि हुने हिंसा र विभेदको अन्त्य हुनैपर्नेमा जोड दिइन्। बालिकामाथि भइरहेको हिंसा र विभेदको अन्त्यका लागि विद्यमान कानुन कार्यान्वयनमा सरकार प्रतिवद्ध रहेको उनले बताइन्।
संचारिका समूहकी अध्यक्ष ‘बिमला तुम्खेवा’को अध्यक्षतामा भएको कार्यक्रममा यूएनएफपीएका ओन योङ्ग होङ्गले समाज परिवर्तनका लागि आमा शिक्षित हुनुपर्नेमा जोड दिए। त्यसैगरी, छोरीको पहिचान समाजलाई स्वीकार्य नभए पनि छोरीले आफ्नो पहिचान बनाउनु आजको आवश्यकता भएको मिडिया लैङ्गिकतासम्बन्धी विशेषज्ञ डा समीक्षा कोइरालाले सुनाइन्।
कार्यक्रममा शिल्पी नाटक थिएटरले छोरीको महत्व झल्काउन ‘सहअस्तित्व’ नामक नाटक प्रस्तुत गरेको थियो। घिमिरे युवराजको लेखन तथा निर्देशन रहेको नाटकमा पेटको गर्भ छोरी भन्ने थाहा पाएर गर्भपतन गर्नु अपराध हो भन्ने विषयमा केन्द्रीत थियो।
कवि स्वप्नील स्मृति, सकुन्तला जोशी र ज्योति जंगलले छोरीको महत्वलाई दर्शाउने कविता वाचन गरे। सोही अवसरमा यूएनएफपीए र सञ्चारिका समूहले तयार पारेको सन्देशमूलक भिडियो पीएसएहरू पनि देखाइएको थियो।
नेपालको कानुनले २० वर्ष पूरा गरेपछि मात्र विवाहका लागि योग्य उमेर मानेको भएपनि सबैभन्दा बढी बालविवाह हुने दक्षिण एसियाली मुलुकमा नेपाल तेस्रो स्थानमा पर्दछ। युनिसेफले गरेको एक विश्लेषणमा विश्वभरि कुल ७६ करोड ५० लाख बालबालिकाको बालविवाह भएको उल्लेख छ।
दक्षिण एसियाली मुलुकमध्ये बालक र बालिकाको उत्तिकै दरले बालविवाह हुने नेपाल एक मात्र देश हो। त्यसैले यस वर्षको अन्तर्राष्ट्रिय बालिका दिवसमा नेपालले आफ्नो मुख्य विषय बालविवाह अन्त्यलाई मानी विभिन्न कार्यक्रम सञ्चालन गरेको छ।