PahiloPost

Jul 3, 2024 | २० असार २०८१

सर्लाहीमा सहकारीका कर्मचारीमाथि गोली प्रहार, पैसाको झोला भन्दै डायरी भएको झोला लिएर अज्ञात समूह फरार



पहिलोपोस्ट

सर्लाहीमा सहकारीका कर्मचारीमाथि गोली प्रहार, पैसाको झोला भन्दै डायरी भएको झोला लिएर अज्ञात समूह फरार

काठमाडौं : सर्लाहीमा एक सहकारीमा कार्यरत कर्मचारी माथि गोली प्रहार भएको छ। सर्लाहीको वाग्मती नगरपालिका वडा नम्बर १ रहेको सहकारीमा कार्यरत लालबन्दी नगरपालिका बस्ने साजन कार्की माथि गोली प्रहार भएको थियो।

कार्यालय समयमा मोटरसाइकलमा आएका अज्ञात समूहले गोली हानी फरार भएको प्रहरीले बताएको छ। सगुन सहकारी ऋण तथा बचत संस्थामा काम गरिरहेको समयमा मोटरसाइकलमा मास्क लगाएर आएका तीन जना युवकले पैसा माग्दै गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी विजय यादवले बताए।

‘मास्क लगाएका मानिसले पैसा मागे त्यसपछि गोली प्रहार गरेर फरार भएको देखिएको छ,’ डीएसपी यादवले भने।

भारतीय नम्बर प्लेटमा आएको मोटरसाइकलको नम्बर भने खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ। त्यसपछि उनीहरूले कार्यालयमा रहेको एउटा झोला लगेर फरार भएका थिए।

झोलामा पैसा नभएर डायरी मात्र भएको खुलेको छ।

‘उनीहरूले पैसाको झोला सम्झिएर लगेको देखिन्छ। तर, त्यसमा डायरी मात्र भएको खुल्यो,’ डीएसपी यादवले भने।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell