PahiloPost

Jun 16, 2026 | २ असार २०८३

ताप्लेजुङमा विभिन्न दुर्घटनामा परि पाँच जनाको मृत्यु



रासस

ताप्लेजुङमा विभिन्न दुर्घटनामा परि पाँच जनाको मृत्यु

फुङ्लिङ : विगत २४ घण्टामा ताप्लेजुङमा पाँच जनाको मृत्य भएको छ। एक जनाको घाँस काट्ने क्रममा लडेर मृत्यु भएको छ भने चार जनाको ट्र्याक्टर दुर्घटनामा परी मृत्यु भएको हो।

आज दिउँसो घाँस काट्न गएका फुङलिङ नगरपालिका-६ बतासे बस्ने चन्द्र भनिने ५० वर्षीय लालबहादुर गुरुङको लडेर मृत्यु भएको छ। आफ्नै बारीमा घाँस काट्न गएका उनी कान्लाबाट लडी मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) कैलाश राईले बताए।

यस्तै, गएराति मैवाखोला गाउँपालिकाको वडा नम्बर २ को तेल्लाबुङबाट वडा नम्बर ५ फाकुम्बातर्फ जाँदै गरेको ट्र्याक्टर वडा नम्बर ४ साँघुको याम्फेवा खोला नजिक चाप्लिङ खोल्सामा दुर्घटनामा हुँदा दुई घरका दाजुभाइ तथा दिदीबहिनी गरी चार जनाको मृत्यु भएको थियो।

०२-०३-००१ त ५६५५ नम्बरको ट्र्याक्टर दुर्घटनामा परी मैवाखोला गाउँपालिका-५ काम्साङ बस्ने ३१ वर्षीय पासाङ शेर्पा, उनका सहोदर भाइ २४ वर्षीय फुर्वा शेर्पा तथा मैवाखोला गाउँपालिका-४ ओदक बस्ने पासाङ छेटु शेर्पाका छोरी १७ वर्षीया लाकी शेर्पा र २२ वर्षीया शर्मिला शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell