PahiloPost

Nov 11, 2025 | २६ कात्तिक २०८२

आइटिएफ तेक्वान्दोमा विभागीय टिम नेपाल आर्मी बन्यो च्याम्पियन



रासस

आइटिएफ तेक्वान्दोमा विभागीय टिम नेपाल आर्मी बन्यो च्याम्पियन
फाइल फोटो : रामबहादुर थापा/रासस

बागलुङ : नवौं राष्ट्रिय खेलकुदअन्तर्गत यहाँ भएको आइटिएफ तेक्वान्दो प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी च्याम्पियन बनेको छ। तेह्र स्वर्ण, आठ रजत र तीन कास्य पदकसहित राष्ट्रिय खेलकुदमा आर्मीले आफ्नो अपराजित यात्रालाई कायम राखेको हो। यसअघि नेपालगञ्जमा भएको आठौँमा १६ र विराटनगरमा भएको सातौँ खेलकुदमा १७ स्वर्णसहित आर्मी च्याम्पियन बनेको थियो।

प्रतियोगिताका मिडिया संयोजक पुकार केसीका अनुसार एकल प्याटर्न, टिम प्याटर्न, एकल स्पाइरिङ र टिम स्पाइरिङमा गरी आर्मीले कूल २४ पदक हासिल गरेको हो।

आर्मीका लागि एकल प्याटर्नतर्फ ‘ब्ल्याक बेल्ट’ दोस्रो डानमा रिना धिमाल, ‘ब्ल्याक बेल्ट’ दोस्रो डानमा  पूर्णबहादुर मगर, ‘ब्ल्याक बेल्ट’ तेस्रो डानमा सुमन मस्राङ्गी मगर र ‘ब्ल्यू बेल्ट’तर्फ धनसिंह परियारले स्वर्ण दिलाए।

भीमबहादुर तामाङले प्याटर्नतर्फ ‘ब्ल्याक बेल्ट’ पहिलो डान र ७६-८० किलो तौल समूहको एकल स्पाइरिङमा गरी दुई स्वर्ण जिते। ‘ब्ल्यू बेल्ट’तर्फ सुस्मिता श्रेष्ठ र ‘रेड  बेल्ट’मा निकिता धिमालले स्वर्ण पदक हासिल गरिन्। धिमालले एकल स्पाइरिङमा पनि आर्मीलाई स्वर्ण दिलाइन्। ५६-६० किलो तौल समूहको खेलमा एक नम्बर प्रदेशकी सजिना तामाङलाई पराजित गर्दै धिमालले स्वर्ण हात पारेकी हुन्।

आर्मीकै कन्याम लिम्बूले ६५ किलोभन्दा माथिको तौल समूहको एकल स्पाइरिङमा जित निकाल्दै स्वर्ण जितिन्। पुरुषतर्फ ६६-७० किलो तौल समूहबाट लिलाधर बस्नेतले आर्मीलाई स्वर्ण दिलाए। पुरुष टिम प्याटर्नमा पनि आर्मीले स्वर्ण पायो।

बुधवार भएको टिम स्पाइरिङमा पनि वाग्मती प्रदेशलाई पराजित गर्दै आर्मीले स्वर्ण पदक हात पार्‍यो। महिलातर्फको स्वर्ण भने वाग्मतीले जित्यो। आर्मीका प्रशिक्षक ज्ञानप्रसाद खत्रीले सातौँ राष्ट्रिय खेलकुददेखि आफ्नो टिमले लगातार च्याम्पियन यात्रा जारी राखेको बताए।

स्वर्ण पदक विजेता आर्मीका लीलाधर बस्नेतले राष्ट्रिय खेलकुदमा आफ्नो स्वर्ण संख्या चार पुर्‍याए। सातौँमा पहिलो स्वर्ण पाएका उनले आठौँ खेलकुदमा दुई स्वर्ण पदक जितेका थिए। बस्नतेले अन्तर्राष्ट्रिय उपाधि जित्ने लक्ष्य रहेको सुनाए।

प्रतियोगितामा छ स्वर्ण, तीन रजत र तीन कास्य जितेर वाग्मती प्रदेशले दोस्रो स्थान बनायो। तेस्रो स्थान हासिल गरेको गण्डकी प्रदेशले पाँच स्वर्ण, आठ रजत र दुई कास्य पदक जित्यो। १ नम्बर प्रदेशले तीन स्वर्ण, दुई रजत र पाँच कास्य पदक हात पार्‍यो। लुम्बिनी प्रदेशले एक स्वर्ण, तीन रजत र आठ कास्य पायो।

सशत्र प्रहरी बलले एक स्वर्ण, तीन रजत र दुई कास्यमा चित्त बुझायो। कर्णाली प्रदेशले दुई रजत र दुई कास्य पदक हात पार्‍यो। नेपालले पुलिसले चार कास्य पदक जित्दा मधेश प्रदेशले एउटा मात्र कास्य पदकमा सीमित भयो। सुदूरपश्चिम प्रदेशले कुनै पनि पदक जित्न सकेन।

प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमका दुई सय ५० खेलाडी प्रतिस्पर्धा गरेका थिए। पदक विजेता खेलाडीलाई २३ नम्बर बाहिनी अड्डाका सहायक रथी रामप्रसाद अधिकारी, बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठलगायतले पदक र पुरस्कार प्रदान गरेको आइटिएफ नेपालका महासचिव अञ्जु रावतले जानकारी दिइन्।

स्थानीय बाङ्गेचौर कभर्डहलमा शनिवारदेखि सुरु भएको प्रतियोगिता बुधवार सकिएको प्रतियोगिता व्यवस्थापन आयोजना समितिका सदस्य एवं बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell