पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत यहाँ सम्पन्न ब्याडमिन्टन प्रतियोगिताको पुरुषतर्फ एकल विधाको स्वर्ण नेपाल पुलिस क्लबका प्रिन्स दाहाल र महिलातर्फको स्वर्ण नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी रशिला महर्जनले जितेकी छिन्।
पोखराको रङ्गशालास्थित ब्याडमिन्टन कभर्डहलमा सम्पन्न फाइनलमा पुलिसकै विष्णु कटुवाललाई २१-११ र २१-४ अङ्कले पराजित गर्दै दाहाल राष्ट्रिय च्याम्पियन बनेका हुन्। यसअघि आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा दीपेश धामी राष्ट्रिय च्याम्पियन भएका थिए। सो स्पर्धामा लुम्बिनीका इरफान अन्सारी र आर्मीका प्रफुल महर्जनले कांस्य पदक प्राप्त गरे।
यस्तै, महिला एकलतर्फ आर्मीकी रशिला महर्जनले आर्मीकै अनुमाया राईलाई २२-२० र २१-९ अङ्कले हराउँदै राष्ट्रिय च्याम्पियन बनिन्। महर्जन आठौँ राष्ट्रिय खेलकुदकी समेत विजेता हुन्। पूर्व राष्ट्रिय च्याम्पियन नङ्गशलदेवी तामाङ र आर्मीकी अमिता गिरीले कांस्य पदक प्राप्त गरे।
मिक्स युगलतर्फ नेपाल पुसिलका जीवन आचार्य र निता लम्सालको जोडीले स्वर्ण जित्यो। उक्त जोडीले आर्मीका प्रफुल महर्जन र रशिला महर्जनको जोडीलाई २१-१२ र २१-११ अङ्कले हरायो। गण्डकी प्रदेशका विशाल खड्का र यामकुमारी गुरुङको जोडी तथा आर्मीका सुरोज महर्जन र अमिता गिरीको जोडीले कांस्य पदक प्राप्त गर्यो।
महिला युगलतर्फ आर्मीका अमिता गिरी र रशिला महर्जनको जोडीले आर्मीकै प्रार्थना देउवा र अनुमाया राईको जोडीलाई २१-१५ र २२-२० अङ्कले हराउँदै स्वर्ण जित्यो। प्रदेश नम्बर १ की रोजी राई र सृष्टि राईको जोडी तथा एपीएफ क्लबकी जेशिका गुरुङ र सुनयना मुखियाको जोडीले कांस्य पदक प्राप्त गरे।
पुरुष युगलतर्फ आर्मीका प्रफुल महर्जन र रुकेश महर्जनको जोडीले पुलिसका प्रिन्स दाहाल र सुदीप सेढाईंको जोडीलाई २१-१९ र २१-१७ अङ्कले पराजित गर्दै स्वर्ण जिते। पुलिसका जीवन आचार्य र विष्णु कटुवालको जोडी तथा गण्डकीका विधान अधिकारी र भुगोल गुरुङको जोडीले कांस्य जित्यो। आर्मीले ब्याडमिन्टनमा पाँच स्वर्ण तथा पुसिल क्लबले दुई स्वर्ण पदक जित्न सफल भयो।