PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

महिला बास्केटबलमा त्रिभुवन आर्मी च्याम्पियन, वाग्मती प्रदेशलाई रजत पदक



रासस

महिला बास्केटबलमा त्रिभुवन आर्मी च्याम्पियन, वाग्मती प्रदेशलाई रजत पदक
फोटो : कृष्ण न्यौपाने/रासस

दमौली : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबलमा त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ। तनहुँको व्यास नगरपालिका-१ निर्मल माविमा बुधवार सम्पन्न फाइनल खेलमा वाग्मती प्रदेशलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब बास्केटबलमा च्याम्पियन बनेको हो।

त्रिभुवन आर्मी क्लबले वाग्मती प्रदेशलाई ४५-३० अङ्कले पराजित गरेको हो। निकै प्रतिस्पर्धात्मक भएको खेलमा आर्मी र वाग्मती प्रदेशबिच पहिलो क्वार्टरमा १०-८, दोस्रो क्वार्टरमा १४-७, तेस्रो क्वार्टरमा ८-१२ र चौथो क्वार्टरमा १३-३ अङ्क प्राप्त भएको थियो।

त्रिभुवन आर्मीको जितमा प्रतीक्षा मगरले सबैभन्दा बढी व्यक्तिगत ११ अङ्क जोडेकी थिइन्। वाग्मतीका तर्फबाट अनुशा मल्ल ठकुरीले व्यक्तिगत आठ अङ्क जोडेकी थिइन्।

उपाधिसँगै त्रिभुवन आर्मी क्लबले महिला बास्केटबलमा एक स्वर्ण पदक जितेको छ। च्याम्पियन बनेको त्रिभुवन आर्मी क्लबलाई नवौं खेलकुदको ट्रफी प्रदान गरिएको छ। साथै विजेता बनेको आर्मीका प्रतिखेलाडीलाई नगद १५ हजार रुपैयाँ प्रदान गरिएको छ।

उपविजेता बनेको वाग्मती प्रदेशले रजत पदक जितेको छ। त्यस्तै, गण्डकी प्रदेशले कांस्य पदक प्राप्त गरेको छ। तेस्रो स्थानका लागि बुधवार नै भएको खेलमा गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको थियो।

गण्डकी प्रदेशले सुदुरपश्चिम प्रदेशलाई ४६-२४ अङ्कले पराजित गरेको छ। गण्डकीले पहिलो क्वार्टरमा १६-९, दोस्रो क्वार्टरमा १०-४, तेस्रो क्वार्टरमा १२-७ र चौथो क्वार्टरमा ८-४ अङ्क जोडेको थियो।

गण्डकीको जीतमा सीमा गर्बुजाले व्यक्तिगत १९ अङ्क जोडेकी थिइन् भने सुदूरपश्चिमका तर्फबाट सम्झना शाहीले सात अङ्क जोडेकी थिइन्। 

थ्री बाई थ्री मा सशस्त्र च्याम्पियन

प्रतियोगिताको थ्री बाई थ्रीतर्फ सशस्त्र प्रहरी च्याम्पियन बनेको छ। फाइनलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै थ्री बाई थ्री को उपाधि सशस्त्र प्रहरीले जितेको हो।

सशस्त्रले आर्मीलाई ८-५ अङ्कले पराजित गर्‍यो। सशस्त्रको जितमा आकृति श्रेष्ठले व्यक्तिगत तीन र आर्मीका सुमित्रा खड्काले चार अङ्क जोडेका थिए।

जितसँगै सशस्त्रले स्वर्ण र उपविजेता त्रिभुवन आर्मी क्लबले रजत पदक जितेको छ।

थ्री बाई थ्री को कांस्य पदक गण्डकी प्रदेशले जितेको छ। तेस्रो स्थानका लागि बुधवार भएको खेलमा वाग्मती प्रदेशलाई ९-७ ले पराजित गरेको छ।

विजेताहरूलाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डे, नेपाल बास्केटबल सङ्घका सचिव फणिन्द्रमान श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell