- मुकुन्द घिमिरे/रिना थापा-
पोखरा : पोखराको लेकसाइडमा अक्सर केही न केही भइरहेको हुन्छ। त्यसैले दायाँबायाँ के-के भइरहेको छ ध्यान हुँदैन, ध्यान गरेर पनि साध्य हुँदैन। त्यसमाथि सबै आ-आफ्नो तालमा झुमेका बेला कसलाई के याद होस्? त्यो पनि गुडिरहेको सवारीमा।
बुधवार साँझपख लेकसाइड सेन्टर पोइन्टमा कुदेको गाडीमा केहीको ध्यान पुग्यो। माइकिङ गर्दै हिँडेको सवारीले सन्देश दिँदै थियो। सन्देश थियो नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको फाइनल खेलको।
सायद त्यो गाडीबाट गरेको माइकिङको ध्वनीले पो ध्यान खिच्यो कि पोखरेलीको? तर, जति छिटो ध्यान खिच्यो उति नै छिटो गाडीको रफ्तार पनि बढ्यो। गाडीले दिएको सूचना राम्ररी सुनिसक्न नपाउँदै गाडी गयो। अलि हतार पो थियो कि गाडीलाई?
‘राष्ट्रिय खेलकुद परिषद्’ लेखेको गाडीले बिहीवार पोखरामा हुने समापनबारे माइकिङ गर्दै हिँडेपनि सर्वसाधारणले राम्रोसँगै भेउनै पाएनन्। जति छिटो प्रतियोगिता सकिँदै छ उस्तै गरी त्यो गाडीले छिटोछिटो गतिमा माइकिङ गर्दै घुमेर प्रचारप्रसारको ‘कर्मकाण्ड’ पूरा गर्यो। ध्यान त तानियो होला तर बुझ्नै चाहेकाले पनि राष्ट्रिय खेलकुद बारेको त्यो सन्देश बुझेनन् कि?
पोखरामा हुने आहा रारा गोल्डकप हेर्न कहिल्यै छुटाउँदैनन् चिप्लेढुगांका दामोदर शर्मा। ५० वर्ष नाघेका उनको चिप्लेढुगांमा किनारा पसल छ। फुटबलको सोखिन उनी आहा रारा हुँदा पसल छोडेर रंगशाला पुग्छन्। खेलप्रति रुची छ उनलाई। पसलमा बसेर अक्सर स्पोर्टस च्यानल पनि हेर्छन्। तर, पोखरामा भइरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हेर्न भने पुगेनन्।
‘आहा रारामा म सधैँ जान्छु। नवौँ खेलकुद चलेछ थाहा छ। गइनँ। जान्न पनि होला। केही छैन। यहीँ टिभीमा आउँछ। यस्सो हेर्दा स्टेडियम खाली छ। मान्छे नै छैनन्। आहामा भन्दा नि कम मान्छे,’ उनले भने।
पोखरामा भइरहेको प्रतियोगिताबारे जानकार छन् उनी। पोखरामा त्यसको रौनक नहुँदा उनलाई जाने इच्छा पनि उति साह्रो जागेन। टेलिभिजनमा पनि देख्छन् पोखरामा चलिरहेको खेलकुद प्रतियोगिताको दृश्य। खाली स्टेडियम देखेर खेलको रमाइलो महसुस गरेरन् उनले।
त्यसैले पनि खेलकुदको महाकुम्भमा दर्शक बन्न इच्छा जगाएनन् उनले। कारण यत्ति मात्र भने होइन। उनलाई थाहा नै छैन खेल तालिकाबारे। खेलमा हेर्न मनपर्ने फुटबल। फुटबलको खेलबारे प्रतियोगिता सुरु भइसकेपछि केही जानकारी नै पाएनन्।
खेलको तालिका बारे जानकारी पाए फुटबल हेर्न जाने इच्छा पनि रहेछ उनको। बिहीवार फुटबलको फाइनल खेल हुँदैछ भन्ने जानकारी पाएपछि भने जाने बताए।
‘भोलि हुँदै छ। को-को हो खेल्ने? मलाई त थाहा छैन। टिभीमा पनि को-को पुगे दिएन। भोलि एक बजे भए जान्छु। टिकट छ? फुटबल हेर्न जानुपर्छ,’ उत्सुक हुँदै सुनाए उनले।
पोखरा लेक साइडमा राम तामाङ होटल व्यवसाय गर्छन्। काठमाडौंबाट आएयता खाना खान प्रायः उनकै रेस्टुरेन्टमा धाइयो। मिजासिला उनी खेलकुदमा पनि उत्तिकै चासो राख्ने। गण्डकी प्रदेशको टिमका केही खेलाडीलाई पनि चिन्दा रहेछन्।
‘ह्याण्डबलमा मैले चिनेको भाइहरु पनि छन्। फाइनल पुगे भने हेर्न जानु छ। टिकटहरु कता पाउँछ?’ ह्याण्डबल सकिएको दुई दिन पछि हामी पत्रकार भएको थाहा पाएर जिज्ञासु हुँदै उनी प्रश्न गर्दै थिए।
यता न्यूरोडमा बस्ने ३० वर्षिय सुजन लामिछानेलाई नवौँको रौनकले छोएको नै छैन। जानकार छन् उनी फेसबुक पेजमा आएको पोष्ट र समाचारले। तर, विशेष लागेको छैन उनलाई प्रतियोगिता। त्यसैले पनि वास्ता गरेका छैन उनले। भन्छन्- ‘रंगशाला वरिपरि चहलपहल छ। पृथ्वीचोकमा गाडीको जाम भएर प्रतियोगिता छ भन्ने हुन्छ। लेकसाइडमा लाइन भएको ट्र्याकसुट लगाएर हिँडेको मान्छेले चिनाउँछ। त्यो बाहेक यता माथि केही छैन। कसैलाई वास्ता छैन।’
खेलप्रति रुची नभएको होइन उनलाई। उद्घाटनको दिन रंगशालामा पड्काइएको आतिशबाजीले प्रतियोगिताको आगमन महसुस गराएको थियो। तर, त्यसपछि उनले प्रतियोगिताको चहलपहल महसुस नै गरेनन्।
प्रतियोगिताबारे जानकारी भएकी फुलबारी बस्ने सलिजा श्रेष्ठ भने एकदिन रंगशाला पुगिन्, आफ्नै साथी खेलाडी भएका कारण। उनको खेल सकिएपछि भने गइनन्।
‘पोखरामा प्रतियोगिता भइरहँदा म एकदिन मात्र खेल हेर्न गएँ जसमा मेरो साथी महिला बक्सिङमा गण्डकी प्रदेशबाट भिडेकी थिइन्। उसको खेल सकिएपछि भने म रंगशाला गएकी छैन,’ उनले भनिन्। त्यसपछिका अन्य खेलबारे उनलाई खासै जानकारी भएन।
प्रतियोगिताबारे जानकार पनि उनी नेपाल प्रहरीमा कार्यरत एकजना दाजुबाट थाहा पाएकी थिइन् उनले। राष्ट्रिय खेलकुद भनिसकेपछि त्यसको रौनक बारे कति पोखरेलीलाई थाहा नभएको कारण उत्साह नभएको उनी बताउँछन्।
‘प्रतियोगिताका बारेमा भने नेपाल प्रहरीमा कार्यरत दाजुबाट थाहा पाएकी थिएँ। राष्ट्रिय खेलकुद प्रतियोगिता एक प्रकारको उत्सव जस्तै हो। जसको प्रचारप्रसारका बारेमा सम्बन्धित निकाय, स्थानीय सरकार र महानगरले कन्जुस्याइँ गरेको छ। यस बारेमा मेरा अन्य साथीहरुलाई थाहै छैन। सर्वसाधारणलाई यस महोत्सवको आभास हुनै दिइएको छैन,’ उनले भनिन्।
आज समापन
शुक्रवारबाट सुरु भएको प्रतियोगिताको समापन आज हुँदैछ। प्रतियोगिताको समापनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा आउँदैछन्।
आज पनि बिहीवारको उद्घाटन जसरी नै रंगशालामा कार्यक्रम हुनेछ र कार्यक्रम सकिनेछ। समापनमा प्रकाश सपुत, मिलन नेवारलगायतका कलाकारले प्रस्तुती दिने राखेपले जनाएको छ।
समापनको तयारी चलिरहँदा प्रतियोगिताभरको अस्तव्यस्तताले भने नवौं राष्ट्रिय खेलकुदलाई गिज्याउने देखिन्छ। प्रतियोगिता सुरु नहुँदैबाट सुरु भएको विवाद प्रतियोगिता समापनको अघिल्लो दिनसम्म पनि चलिरह्यो। बिहीवारमात्र पनि टेबल टेनिसमा खेलाडी/प्रशिक्षकले यातायात खर्च नभएको भन्दै विवाद भएको थियो। उसुमा पनि उस्तै विवाद बुधवार साँझसम्म चल्यो।
र, त्यसको निरन्तरता बिहीवार पनि पाउने छाँटकाँट छ। बुधवार कास्की बाहिर खेलेर समापनका लागि आएका कर्णाली प्रदेशका खेलाडी अफिसियल खेल सकिँदा पनि किट नपाएको भन्दै रंगशालामा आक्रोशित थिए। यस्तो घटनाको फेहिरस्त धेरै लामो छ।
यसो भनिरहँदा प्रतियोगिताको सकारात्मक कुराहरु नभएको भने होइन। प्रतियोगिता भर मौसमले अफ्ठ्यारो पारेन। खेलाडीहरु सुन्दर नगरी पोखरामा हिमाल हेर्दै खेल्न पाउँदा मख्ख छन्। दिउँसो खेलेर साँझ पख खेलाडी अफसियल साँझ पख फेवा वरपर प्रकृतिसँग रमाइरहेका भेटिए।
यस राष्ट्रिय खेलकुदमा कीर्तिमान पनि त्यतिकै बनेका छन्। एथ्लेटिक्स पौडीलगायतका खेलमा बनेको नयाँ कीर्तिमानले नयाँ सम्भावनालाई देखाएको छ। अन्य खेलमा पनि खेलाडीले आफ्नो सम्भावनालाई देखाउने अवसर पाए।
प्रतियोगितामा आर्मीको दबदवा, कमजोरमा कर्णाली
प्रतियोगिताको बिहीवारसम्मको तालिकामा शीर्ष तीनमा विभागीय टोलीको वर्चस्व छ। राष्ट्रिय खेलकुद परिषद्को तालिका अनुसार नेपाल आर्मीले १५० स्वर्ण, ९४ रजत र ७० कास्य गरी कुल ३१४ स्वर्ण जित्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानमा ५२ स्वर्ण, ४७ रजत र ५९ काँस्य गरी १५८ पदक जितेको नेपाल पुलिस क्लब छ। तेस्रो स्थानमा ४२ स्वर्ण, ५७ रजत र ७७ कास्य पदक जितेको एपीएफ छ।
त्यस्तै, २९ स्वर्ण जितेको गण्डकी चौथो, २२ स्वर्ण जितेको वाग्मती पाँचौं, १० स्वर्ण जितेको एनआरएन छैटौं, ९ स्वर्णसहित प्रदेश १ सातौं, ८ स्वर्ण सहित सुदूरपश्चिम आठौं, ५ स्वर्णसहित मधेश प्रदेश नवौं, ४ स्वर्ण सहित लुम्बिनी १० औं र २ स्वर्ण सहित कर्णाली प्रदेश ११ औं स्थानमा छन्।
दोस्रो स्थानमा रहेको एपीएफ भन्दा ९८ स्वर्णले अघि रहेको आर्मी च्याम्पियन बन्ने पक्का भइसकेको छ। यस्तोमा राष्ट्रिय खेलकुदमा पहिलो पटक बनाइएको ट्रफीको नजिक आर्मी पुगेको छ। ट्रफीमा ५ केजी चाँदीले बनेको मुख्य ट्रफीमा २ तोला सुनले स्वर्ण शब्द कुँदिएको छ। ट्रफीको मूल्य १० लाख रुपैयाँ बराबर रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ।
ट्रफीका शिल्पकार श्याम तुलाधर रहेका छन् भने ट्रफी निर्माण गर्न पाँच जना कालिगढले दिनको १८ घण्टाका दरले २५ दिनको समय व्यतित गरेका छन्। ट्रफी राष्ट्रिय खेलकुदमा टिम च्याम्पियन बन्न सफल टिमलाई प्रदान गरिने छ।
ट्रफी पूर्ण कलशको स्वरुपमा रहेको छ। नेपाली संस्कृति अनुरुप कुनै पनि शुभकार्य र विजय उत्सवका बखत कलशलाई पूजा गरेपश्चात मात्र कार्य शुभारम्भ गर्ने परम्परालाई आधार मानेर ट्रफीको निर्माण गरिएको हो।