PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

रसियाले कब्जा गरेको युक्रेनका चार क्षेत्रमा पुटिनले गरे सैनिक कानुन लागू भएको घोषणा



पहिलोपोस्ट

रसियाले कब्जा गरेको युक्रेनका चार क्षेत्रमा पुटिनले गरे सैनिक कानुन लागू भएको घोषणा

रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोले नियन्त्रणमा लिएका युक्रेनका चार क्षेत्रहरुमा ‘मार्शल ल’ (सैनिक कानुन) लागू भएको घोषणा गरेका छन्। रसियाली अधिकारीहरूले युक्रेनको प्रमुख दक्षिणी शहर खेरसनमा युक्रेनी आक्रमणको चेतावनी दिएपछि पुटिनको यस्तो घोषणा आएको हो

‘हामी रसिया र रसियाली जनताको लागि भरपर्दो भविष्य सुनिश्चित गर्न धेरै जटिल र ठूला समस्याहरु समाधान गर्नका लागि काम गरिरहेका छौँ,’ रसियाका राष्ट्रपति पुटिनले टेलिभिजनमा समेत प्रसारण गरिएको आफ्नो सुरक्षा परिषद्को बैठकमा भने।

क्रेमलिन वेबसाइटमा प्रकाशित कानुनले लुहान्स्क, डोनेट्स्क, जापोरिझ्झिया र खेरसन प्रान्तका रसिया-स्थापित प्रमुखहरूलाई दूरगामी आपतकालिन अधिकारहरू दिनेछ। ति क्षेत्रहरुलाई रसियाले हालसालै भएको जनमत संग्रहपछि रसियामा गाभिएको घोषणा गरेको थियो। विशेष प्रस्ताव पेस गर्न कानुन कार्यान्वयन निकायलाई तीन दिनको समय दिइएको छ।

क्रेमलिनको निर्देशनले रसियालाई अझ बलियो आर्थिक युद्धको आधारशिलामा पनि राख्ने छ। पुटिनले युक्रेनसँग सीमा जोडिएका ६ प्रान्तहरूका साथै रसियाले २०१४ मा अवैध रूपमा कब्जा गरेको क्रिमिया र सेभास्टोपोलमा ‘आर्थिक परिचालन’ गर्न आदेश दिएका छन्। उनले सबै रसियाली प्रान्तका प्रमुखहरूलाई आठौँ महिनामा प्रवेश गर्दै गरेको मस्कोको युद्धलाई थप बल पुग्ने गरी सार्वजनिक व्यवस्था कायम राख्न र उत्पादन बढाउनको लागि थप अधिकार दिएको बताए। उक्त कानुनले आठ प्रदेशमा आवतजावत गर्ने स्वतन्त्रतालाई पनि सीमित गरेको छ।

पुटिनको घोषणाको केही समयपछि नै उनका प्रवक्ता दिमित्री पेस्कोभले रसियाले आफ्नो अन्तर्राष्ट्रिय सिमाना बन्द गर्ने योजना नबनाएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell