PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

एकबाल र किसानको टक्कर रहेको बारा ४ को यस्तो छ अंकगणित, कसले मार्ला बाजी?



राधेश्याम पटेल

एकबाल र किसानको टक्कर रहेको बारा ४ को यस्तो छ अंकगणित, कसले मार्ला बाजी?

वीरगंज : बारा क्षेत्र नम्बर ४ मा उम्मेदवारी दर्ताको मुखमा राजनीतिक परिदृश्य एकाएक बद्लियो। उम्मेदवारी दर्ताको एक दिन अघि अस्वभाविक रुपमा राजनीतिक दलले उम्मेदवार चयन गरेपछि अहिले सो क्षेत्रमा कसले बाजी मार्ने हो भन्ने अनुमान लगाउन सहज छैन।

यो क्षेत्र बाराको 'सुदूरपश्चिम' हो, जुन वीरगंज-पथलैया राजमार्गसँग जोडिएको छ। यो क्षेत्रबाट दुईवटा समूह चुनावी मैदानमा देखिएका छन्। नेकपा (एमाले)- जनता समाजवादी पार्टी (जसपा) गठबन्धन एकातिर छ भने अर्कोतिर सत्तारुढ गठबन्धनका उम्मेदवारले चुनावी गतिविधि तीव्र बनाएका छन्।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट टिकट नपाउने सम्भावना देखेपछि एकबाल मियाँ उम्मेदवारी दर्ताको एक दिन अगाडि रातारात एमालेमा प्रवेश गरि टिकट हात पारे। २०७४ सालमा उनले यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा जित हासिल गरेका थिए। बारा क्षेत्र नम्बर ४ (क)मा एमालेका देवनारायण चौधरी र ४ (ख)मा जसपाका आत्माराम साहले प्रदेश सांसदको टिकट पाएका छन्।

त्यसैगरि, सत्तारुढ गठबन्धन खेमाबाट नेकपा (एकीकृत समाजवादी)का कृष्णकुमार श्रेष्ठ (किसान श्रेष्ठ)ले टिकट पाएका छन् भने ४ (क)मा नेकपा (माओवादी केन्द्र)का क्षेत्रबहादुर श्रेष्ठ (अनिल) र लोसपाका मधेश प्रदेशका संसदीय दलका नेता जितेन्द्र कुमार सोनार (सोनल) क्षेत्र नम्बर ४ (ख)मा उम्मेदवार छन्।

बारा ४ को चुनावी कार्यक्रमलाई सो क्षेत्रका दुई/तीन वटा वर्गले निकै प्रभाव पार्ने देखिएको छ। पहिलो मधेशी समुदायमा यादव, कानू, मुस्लिम, थारु, त्यसैगरि पहाडी समुदायको पनि भोट फरक उम्मेदवारलाई फरक किसिमले लोभ्याउने चर्चा छ।

तनहुँ-१ बाट गत चुनावमा भारी अन्तरले जितेका तत्कालीन एमाले नेता किसान श्रेष्ठ अहिले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा छन्। उनको पहिलेदेखि नै बारा, सिमरामा करोडौंको घर-व्यापार छ। तर, बाहिरी उम्मेदवार भएको कारण उनलाई सबैले नजिकबाट नचिनेको र एकबाल मियाँको तुलनामा उनको लोकप्रियता पनि सो क्षेत्रमा कम रहेको मतदाताहरुले बताएका छन्।

यता, लोसपाबाट एमाले प्रवेश गरेर टिकट हत्याएका एकबाल मियाँले पनि विगतजस्तो यसपालि सबै मतदातालाई खुशी पार्न नसक्ने अवस्था छ। एक त पार्टी परिवर्तन, अर्को एमालेका उम्मेदवारलाई टिकट नदिएको कारण एमाले कार्यकर्तामा उनको उम्मेदवारीप्रति असन्तुष्ट छन्।

साथै, ४ (ख)बाट जसपाका उम्मेदवार बनाइएका आत्माराम साहको घर बारा क्षेत्र नम्बर ३ गंजभवानीपुरमा पर्छ र उनको बसाइ वीरगंजमा भएको तथा चुनाव लड्ने क्षेत्रमा धेरैले नचिनेको अवस्थाले उनलाई पनि मतदाता रिझाउन निकै मुस्किल पर्ने देखिन्छ। ४ (क)मा एमालेका चौधरी र माओवादीका श्रेष्ठबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ भने उनीहरुबिच निकै कम भोटले हारजित हुने आँकलन राजनीतिक वृतमा चर्चा छ।

यता, ४  (ख)मा आत्माराम साहको तुलनामा सोनल बलियो देखिएका छन्। उनको पकड क्षेत्र भनेको परवानीपुर, प्रसौनी, फेटा, विश्रामपुर गाउँपालिका रहेको हो।

प्रतिनिधिसभा सदस्यतर्फ किसान श्रेष्ठसँग पैसा रहेको र एकबाल मियाँ एमाले भर्खर प्रवेश गरेको तथा आर्थिक रुपमा पनि किसान श्रेष्ठको तुलनामा कमजोर भएकोले दुईजनामा कसले बाजी मार्ला भन्ने विषयमा मतदातामा अन्यौलता छ। तर, चुनाव नजिकिदै जाँदा बदलिने परिदृश्यले कसले बाजी मार्ने बारेमा आँकलन गर्न सकिने छ।

तर, मुख्य रुपमा प्रतिनिधिसभामा यी दुवैजना नै प्रतिस्पर्धी देखिएको छन्। बारा ४ को क्षेत्रमा जीतपुरसिमरा उपमहानगरपालिकाको १६ वटा वडा, परवानीपुर, प्रसौनी, फेटा, विश्रामपुर गाउँपालिका र कलैया उपमहानगरको दुईवटा वडा पर्छन्। कूल १ लाख ५ हजार ९७० मतदाता रहेको यो क्षेत्रको (क)मा ५० हजार ५३३ मतदाता छन् भने (ख)मा ५५ हजार ४३७ मतदाता छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell