काठमाडौं : ललितपुरको जावलाखेलमा १५ औं गोदावरी पुष्पमेला सुरु भएको छ। यो मेला कात्तिक ६ गतेसम्म सञ्चालन हुनेछ। प्रदर्शनमा ५६ वटा फूलका स्टलहरु छन्।
प्रदर्शनीमा १०० रुपैयाँदेखि १५ हजारसम्मका फूलहरु राखिएका छन्। सर्वसाधारणले स्टलमा गएर आफूलाई मनपर्ने फूल खरिद गर्न सक्छन्।
कार्यक्रमको उद्घाटनमा फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष मिनबहादुर तामाङले विगतका वर्षमा भन्दा यस वर्षको तिहारमा भारतबाट ल्याइने फूलमा कमी आउने बताए। उनले नेपाल अहिले ९० प्रतिशत फूलमा आत्मनिर्भर भएको पनि बताए।
तामाङले तिहारमा विशेषगरी शहरी क्षेत्रमा करिव ८५ प्रतिशत सयपत्रीको माग आन्तरिक उत्पादनले धान्ने गरेको पनि जानकारी दिए। उनले विगतका वर्षहरुमा तिहारमा सयपत्री फूल भारतका विभिन्न नाकाहरुबाट आयात हुने गरेको भए पनि यो वर्ष रोक लगाएको बताएका छन्। उनले सयपत्री फूलको उत्पादनले ग्रामिण क्षेत्रमा भने शत प्रतिशत नै धान्ने गरेको बताए।
फ्लोरिकल्चर एशोसिएशन नेपालले यो वर्षको तिहारमा करिब साढे २४ लाख फूलका माला खपत हुने अनुमान गरेको छ। गत वर्षको तिहारमा भन्दा यो वर्षको तिहारमा दुई लाख मालाको खपत बढेर साढे २४ लाख फूलको माला खपत हुने अनुमान छ।