
काठमाडौः लजमा बस्न आउने ग्राहकको गोप्य भिडियो खिच्ने गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। काठमान्डौ चन्द्रागिरि नगरपालिका वडा नम्बर १५ घर भई हाल बासवारीस्थित बासवारी रेष्ट्रो एन्ड क्याफेमा काम गर्ने ४२ वर्षीय मुकेश मालीलाई नियन्त्रणमा लिएको हो। उनी लजका म्यानेजर समेत भएको खुलेको छ।
उनले लजमा बस्न आउने युवायुवतीदेखि अन्य दम्पतीको समेत कोठाभित्रको गोप्य भिडियो खिच्ने गरेको खुलेको छ। कोठामा सानो प्वाल बनाएर त्यसबाट यौन सम्पर्क भइरहेको समयमा भिडियो खिच्ने गरेको प्रहरीले जानकारी दिएको छ।
'उनले कोठाभित्र हेर्न विभिन्न प्वालहरू बनाएको देखिएको छ। त्यसबाट नै यौन सम्पर्क गरेको भिडियोहरू खिच्ने गरेको पाइएको छ,' अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले सुनाए।
प्रहरीले ती अभियुक्तको साथबाट मोबाइल समेत बरामद गरेको छ। मोबाइलमा कोठाभित्र खिचिएका भिडियो फेला परेको छ। उनले यस्तो भिडियो मार्फत बार्गेनिङ गर्ने वा आफ्नो सन्तुष्टि मेट्ने गरेको खुलेको छ। तर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
'कति भिडियो छ भन्ने ल्याबबाट परीक्षण गरेपछि थप खुल्छ। कतै हरू साइटमा पनि हाल्ने गरेको छ कि भनेर अनुसन्धान गरिरहेका छौँ,' ती प्रहरी अधिकृतले सुनाए।
यसरी खुल्यो अपराधको धन्दा…
बुधबार एक परिवार सो लजमा बस्नको लागि पुग्छन्। दिउँसो २ बजेतिर पुगेका हुन्छन्। ती दम्पतीको साथमा एक छोरी पनि हुन्छिन्। छोरी जब नुहाउन भन्दै बाथरुममा छिर्छिन्। त्यसपछि मालिको उही आपराधिक हर्कत सुरु हुन्छ।
उनले बाथरुममा बनाएको प्वालबाट नुहाइरहेको फोटो खिच्छन्। त्यसपछि ती किशोरीले थाहा पाएर हल्लाखल्ला हुन्छ। महानगरीय प्रहरी वृत्त महाजगञ्जबाट पुगेको प्रहरी टोलीले म्यानेजरलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्छ। जफत गरेको मोबाइलमा अन्य यस्तो भिडियो तथा फोटो समेत भेटिएपछि प्रहरीले मालीलाई पक्राउ गर्छ।
माली विरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा ११८ अन्तर्गत कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट दिन ५ को म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ।