पोखरा : गाउँघरमा कहिलेकाहीँ परुषमात्रै फुटबल खेल्थे। खेलप्रति अन्यलाई त्यति चासो थिएन सिर्जन तामाङको गाउँमा। कालिका स्टेट (फडानी) हो उनको गाउँको नाम। खेल्ने परिवेश नभएको स्थानबाट नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला हक्कीमा भने आधा दर्जन खेलाडी एउटै वडाबाट थिए। झापा मेचिनगर-१५ बाट प्रतियोगिताको लागि ९ जना थिए प्रदेश १ को टिममा। त्यसमध्ये एक हुन् टिम क्याप्टेन समेत रहेकी सिर्जना तामाङ।
पढ्दै थिइन् सिर्जना ७ औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समयमा। त्यही बेला उनका मामाले महिलाको हक्की टिम तयार पार्न लागेको बताए। खेल्ने इच्छा भए खेल्नको लागि प्रस्ताव राखेका मामाको कुरामा सहमत भइन् सिर्जना पनि।
‘मामाले सातौंमा महिला टिम निकाल्दै छ, भान्जी तिमी खेल्ने कि के गर्ने भन्नु भयो अनि म यदि निकाल्छ भने मामा खेल्ने नि भने। हाम्रो तिर अलिक ठाँउ दुर्गम नै छ। सडक त्यस्तो राम्रो छैन बल्ल अहिले भर्खरै विकसित हुँदैछ। फुटबलहरु पनि त्यति केही नि खेल्दैन थियो,’सिर्जनाले भनिन्।
प्रतियोगितामा उनी छनोट भइन्। त्यसैपछि सिर्जनालाई हक्कीको मोह बस्यो। सिर्जना हक्कीमा लागेपछि गाउँका अन्य महिलालाई पनि खेलमा जोड्न थालिन्। खेल्नका लागि प्रस्ताव राखिन्। केही साथीहरु पनि आए। कसैलाई अभिभावकले गाली गर्थे। उनीहरुलाई खेल्न कहिल्यै भनिनन् उनले।
‘त्यस्तो केही नि खेल्दैन केटाहरु मात्र फुटबल खेल्छन्। केटीहरु त केही न केही, केही पनि नगर्ने के, त्यहाँ टि स्टेट छ, टि स्टेटमा जाने पक्ति टिप्ने त्यहि त हो। त्यही त त्यस्तै गर्छन केटिहरु’,हाँस्दै सुनाउँछिन् उनी,‘खेल्न जाउँ भन्दा घरमा कराउँछन् भन्नेलाई म भन्दिन पनि थिएँ, खेल्न जाम भनेर, जोले खेल्छ त्यो लाई वेल्कम।’
आफू खेल्ने थालेपछि अन्यलाई पनि जम्मा गर्न थालेकी सिर्जनाको गाउँमा भने मैदान छैन। मैदान पुग्न ४५ मिनेट साइकलमा यात्रा गर्नुपर्छ। हक्की खेलको लागि आवश्यक किट, प्याड, स्टिक छैन टिमसँग। अन्य खेलाडीसँग मागेर प्रशिक्षण गर्छन् उनीहरु। टाढा पनि मैदान एउटा मात्र। केटा खेलिरहेको बेला महिलाको टोली डाँडामा बसेर हेर्छन्। केटीको खेल चलिरहेको बेला केटाहरुको टोली डाँडामा निस्किन्छन्।
‘हामीसँग सामान हुँदैन। हामी कस्तो गर्छौं भने केटा आदि, केटी आदि खेल्छौं। जति स्टिक पुग्छ त्यतिले खेल्ने, जति स्टिक पुग्छ त्यतिले खेल्ने, नपुगेको बस्ने हेर्ने,’उनले भनिन्।
सेमिफाइनलमा पुग्दा झरेको आँशु
१५ जना छन् टिममा। खेलको लागि चाहिने आवश्यक साम्रागी जम्मा ७ जनाको छ। खेलाडीलाई चाहिने आवश्यक खेल साम्रागी नपाउने समस्या सबै प्रदेशको हो। हक्की खेलमा ७ वटै प्रदेशका खेलाडीले आवश्यक सुविधा र साम्रागी पाएका छैनन्। त्यसमध्ये प्रदेश १ लाई खेलकुदले पनि वास्ता नगरेको गुनासो राख्छन् खेलाडी।
खेलाडीले फयाक्ट्रीमा गएर पैसा उठाई सामान किनेका पनि छन्। ७ औँ राष्ट्रिय खेलकुदबाट खेल्न थालेकी सिर्जनाले ९ औँ मा सहभागी हुन जसोतसो पोखरा आईन्। प्रतियोगितामा सहभागी टिमलाई पदक भन्दा मैदानमा उत्रेकोमा खुशी छन्। चाहिने तयारी र प्रशिक्षण नहुँदा पनि आफनै तयारीले प्रतियोगितासम्म आउन पाएकोमा नै खुशी छन् उनीहरु।
‘हामीलाई केही नि छैन त, प्राक्टिस नै हुँदैन। कोही खेल्न मन लाग्ने आउने गर्छ। नआउनेले त्यस्तै हो। तर ७ औँ खेर देखि अहिले त निकै सुधार भइरहेको छ। सुधार भनेको खेलाडीमा मात्र हो त्यस्तो सामानहरुमा चाहिँ छैन,’उनले भनिन्।
दुई वर्ष भयो रञ्जना राजवंशीले हक्की खेल्न थालेको। पहिलो राष्ट्रिय खेल हो उनको यो। भावुक र थोरै डरमा थिईन् उनी। प्रतियोगिताको पहिलो खेलमा नै उनीहरुले अप्ठ्यारोको सामना गर्नुपर्यो, कमजोर व्यवस्थापनका कारण। केही भने खेल साम्रागी नपाएका कारण पनि गाह्रो पर्यो।
प्रदेश १ बाट आएका कोच र टिम म्यानेजर हक्कीको नभई भलिबलका थिए। जसकारण खेलबारे आवश्यक नियम थाहा भएन उनीहरुलाई। सुरुवातमा खेलाडी मैदानमा उत्रिँदै गर्दा आवश्यक पर्ने साम्रागी नै भएन। अफिसियले खेल्न मनाई गरे। पछि सुदुरपश्चिम प्रदेशको साम्रागी उधारो मागेर मैदान उत्रिएका थिए उनीहरु। त्यसपछि लुम्बिनी प्रदेशसँगै भिड्दै गर्ने बेला साम्रागी नभएकै कारण मैदानमा ८ खेलाडीमात्र सिमित रहे। दुई क्वाटर आठ खेलाडीमा सीमित रहेको खेलमा भने प्रदेश १ ले लुम्बिनीलाई १–० को गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गर्यो। सिर्जना र उनको टिमको लागि यो निकै ठुलो सफलता थियो। त्यसैले त भावुक बनेकी थिईन् रञ्जना।
‘रोको हो ग्राउण्डमा। फस्ट चोटि सेमिफाइनलमा पुगेर।,’लजाउँदै उनले सुनाईन्।
टिमलाई सेमिफाइनलमा पुर्याउन सो खेलमा पूर्णिामा राइको गोल नै निर्णाय बन्यो। आफनो गोलले टिमलाई थोरै भएनी दिलाएको सफलताले खुशी सुनिन्छन् उनी। पूर्णिमा पनि खेल्न थालेको दुई वर्ष बित्यो। उनलाई टिममा सहभागी गर्नेपनि उनै सिर्जना हुन्। गाउँपनि एकै।
खेल साम्रागी नुहँदा मैदान बाहिर बस्नुको दु:ख
गाउँमा खेल खासै नखेल्ने। केटीहरु गाउँमा अक्सर घरमा नै बस्ने। सिर्जना कै गाउँकी सीमा राईलाई पनि सुरुवातमा खेलप्रति चासो थिएन। कहिलेकसो गाउँका दिदीहरु खेलेको थाहा पाउँथिइन्। तर, स्कुल पढ्ने भएर वास्ता लागेन। विस्तारै दिदीहरु खेलेको देखेर मन जान लाग्यो। अनि जोडिईन् खेलमा।
‘त्यस्तो इन्ट्रेट लाग्दैन थियो त्यति बेला। तर जब दिदीहरु खेल्दै गए पछि हल्का आफूलाई पनि उत्साह बढ्यो। दिदीले खेल्ने भए जोइन हुँदा हुन्छ भन्नु भयो। टिम निकाल्नु भयो। केही सामान त थिएन। अलि–अलि जोडजाड गरेर, केके गरेर खेल्थेम,’सीमा सुनाउँछिन्,‘अब हाम्रो गाँउ तिर खेल नै छैन क्या। त्यही केटाहरुले फुटबल खेल्छ, पहिला नै एक चोटी भलिबल खेल्थ्यो त्यस पछि खेल्या नै छैन। खेल नै छैन। यो केटिहरु भनेको घरमा बस्यो मोबाइल चलायो, टि.भि हेर्यो। नत्र गर्नेहरुले बाहिर तिर काम गर्यो त्यस्तै हो।’
आफूहरुलाई जिल्लाबाट पनि साथ नभएको गुनासो छ उनीहरुको। प्रशिक्षणका लागि टिम क्याप्टेन नै छिन्। उनकै भूमिका महत्वपूर्ण देखिन्छ टिममा पनि। नयाँ ‘बहिनी’खेलाडीहरुलाई सिर्जनाले नै प्रशिक्षण दिन्छिन्। उनको अनुपस्थितिमा पुरुष तर्फका टिम क्याप्टेनले। कहिलेकसो कोचले पनि गराउँछन्।
अनेकौँ समस्या भोगेर पनि मैदानमा उत्रिन्छन् उनीहरु। ११ जना उत्रिन्छन् हक्कीको मैदानमा। खेल साम्रागी ७ जनाको लागि मात्र। जसकारण संख्या घटाएर खेल्नुपर्छ उनीहरुले।
‘सामान नभएर अरु खेली राख्दा आफु बाहिर बस्नु पर्दा धेरै नराम्रो त लाग्छ। बेला बेला त अब खेल्दिन म यो गेम त्यस्तो पनि भको छ,’सिर्जना निराश सुनिईन्।
आलोपालो गरेर खेल्छन् उनी। साम्रागी अभावकै कारण मैदानबाट बाहिर निस्किँदा नराम्रो महसुस हुने सुनाउँछिन् अरुणिमा राजवंशी पनि।
प्रशिक्षण अभाव खेल साम्रागी अभाव हुँदाहुँदै पनि प्रतियोगितामा सहभागी हुनु नै विशेष बनेको छ उनीहरुको लागि। नयाँ टिम लिएर मैदानमा उत्रिदै गर्दा पहिलोपटक सेमिफाइनलमा पुगेको अनुभवले नै हर्षित बनाएको छ उनीहरुलाई। सेमिफाइनलमा पुगे पनि मंगलबार भएको खेलमा आर्मीसँग पराजित बन्न पुग्यो टिम। बुधबार कास्य पदकको लागि सुदुरपश्चिमसँगे भिडेको प्रदेश १ को टिमले फेरि पराजय व्योहोर्नुपर्यो। तर पनि अनुभव लिएर जाँदै छन् खेलाडी।