PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

मणिराम जसले नमागी पाए टिकेट, ओनसरीसँग प्रतिस्पर्धामा उत्रिएका उनी भन्छन् : भन्न डराएको मात्रै हुँ, चुनाव मै जित्छु



प्रकाश भण्डारी

मणिराम जसले नमागी पाए टिकेट, ओनसरीसँग प्रतिस्पर्धामा उत्रिएका उनी भन्छन् : भन्न डराएको मात्रै हुँ, चुनाव मै जित्छु

काठमाडौं : ‘खान र लगाउन सोख नभएपछि दु:ख नपाइने रहेछ। नयाँ लुगा नभए पनि हुने, तर चिटिक्क र सफा चाहिँ हुनै पर्ने’, वर्षौँसम्मको ‘मास्टरी’ प्रवचन जारी छ, ‘सबैले जित्ने नै होइन एक जनाले जित्ने हो। जितेन भने पनि के हुन्छ र? हारे मेरो के जान्छ र? किसानको छोरा हुँ। खेतबारी छ, घर छ। त्यो जाने होइन।’

कुरा सुरु हुनुअघि नै उनी यति बोलिसके। तपाईँले सायद चिन्नुहुन्न पनि। राष्ट्रिय राजनीतिमा नाम भेटिन्न उनको। आसन्न निर्वाचनमा टिकट नपाउनेको रोइलो जारी हुँदा ठूलो संघर्ष पनि यिनले गर्न परेन। चुनावी सन्दर्भमा कुरा थाल्नुअघि नै धाराप्रवाह प्रवचन दिने यिनी हुन् मणिराम फुयाल। काठमाडौं क्षेत्र नम्बर २ बाट नेकपा एमालेका प्रतिनिधिसभा उम्मेदवार।

अब कुराकानी सुरु गरौँ कि?

उनको प्रवचनलाई ब्रेक लगाउन प्रश्नै गर्न पर्‍यो। सुनेपछि सचेत भए मणिराम। थलीमा रहेको पार्टी क्षेत्रीय कार्यालयमा भर्खरै पुगेका हुन् फुयाल।

शिक्षणसँगै राजनीति

कुराकानीका लागि तयार भएपछि फुयाल बिस्तारै खुल्छन्। प्रश्न गर्दा फ्याटै बोलिहाल्ने बानी रहेनछ उनको। आफ्नो स्वभाव त सुनाइसके सुरुमै। कुराकानी गर्न ‘कम्फर्ट’ होस् भनेर।

‘राजनीति पेशा होइन। पेशा त म छोडेर आएको। राजनीति अहिले पेशाजस्तो भयो’, राजनीतिप्रति आम मानिसबाट जे निस्किन्छ त्यही निरासाको बयान उनीबाट पनि आयो।

२०७३ चैतमा प्रधानाध्यापकबाट राजीनामा गरेपछि सुरु भएको हो उनको पूर्णकालीन राजनीति। २०४० सालमै सक्रिय भएका हुन् विद्यार्थी संगठनमा चाहिँ। शिक्षक भएपछि पनि राजनीतिबाट प्रभावित थिए।

‘म पार्टी संगठनमा भए पनि आफू सम्बद्ध संस्थालाई नोक्सानी हुने किसिमको केही गरिनँ,’ फुयालले विगतबारे सुनाए।

व्यवस्थापनमा स्नातक गरेका फुयाल शिक्षाशास्त्रमा स्नातकोत्तर हुन्। तर, स्कुलमा सबै विषय पढाए। किनकि उनले पढाउन सुरु गरेको समयमा विषयगत शिक्षक पाउनु कसरी?

‘भर्खर स्कुलहरु स्थापना भएकाले शिक्षक नै थिएनन्। कतिपय विषयमा आफू बेस्सरी घरमा पढेर आएर पनि पढाउँथे,’ फुयालले भर्खरै छाडेको पेशाबारे भने।

‘नेता कुलोको पानीजस्तो होस्’

२०४९ सालबाट शिक्षण सुरु गरेका फुयाल २०६५ मा प्रधानाध्यापक बने - नेपाल राष्ट्रिय निर्माण माध्यमिक विद्यालयको। केही समय पर्खिएको भए फुयालले उमेर हदका कारण अवकाश पाउथे। तर, राजीनामा ठोकेर सोझै उनी राजनीतिमा होमिए।

‘बौद्धिक समुदायले कुनै न कुनै रुपमा हस्तक्षेप गर्नैपर्छ। अरुलाई यस्तो भएन उस्तो भएन भन्ने आफू चाहिँ राजनीतिमा नआउने? आवश्यकता पर्दा म त आउनु पर्छ भनेर फ्याट्ट आएँ। मजाले पेन्सन पकाएर आउने पनि होइन,’ उनले पेशा त्यागेर राजनीतिमा आउनुको राज खुलाए।

आखिर राजनीतिमा नआइ हुन्न त? नेतृत्व कस्तो हुनुपर्छ भन्ने बुझेका छन् त उनले?

‘नेतृत्व झरनाको पानीजस्तो होइन, कुलोको पानीजस्तो हुनुपर्छ। मैलो भए पनि बगैंचामा सिंचाई गर्छ कुलोको पानीले। झरनाको पानी देख्दा क्या राम्रो भन्यो, करुवामा थापेर खान पनि नमिल्ने। क्या राम्रोमात्रै त हो नि त्यो,’ उनले भने।

उनले चुनावमा सम्भावित हारजितको प्रसङ्ग पनि कोट्याए। हार्ने चुनावमा पनि नेता भाग्न नहुने मत छ फुयालको।

नमागेरै दियो पार्टीले टिकट

काठमाडौंमा अंकगणितको राजनीतिले काम नगर्ने बुझाइमा रहेका फुयाल आफूले नमागेरै टिकट पाएको दाबी गर्छन्।

‘म टिकट पाउँ भनेर माग्नै गइनँ। पार्टीले दिन पर्नेलाई त दिने रै'छ नि त,’ उनको भनाइ छ। टिकट नपाउँदा पार्टी छोडेका नेता घनश्याम भुसालप्रति कठोर टिप्पणी पनि गर्न भ्याए उनले।

‘आज खोजेको चिज नपाउँदा भोलि पाइन्छ नि त। पार्टीले फेरि कति दिइरहने के? राज्यबाट पटक-पटक सुविधा लिएका पात्रहरुले त्यो खालको व्यवहार गर्नु ठीक होइन। मैले बेक्कारका मान्छेलाई नेता माने कि के हो भन्ने कहिले काहीँ गिल्टी फिल पनि हुन्छ,’ फुयालले असन्तुष्ट एमाले नेताप्रति टिप्पणी गरे।

जनप्रतिनिधिका लागि उनी पहिलोपटक चुनावमा होमिएका भने होइनन्। पाँच वर्ष वाग्मती प्रदेश सभामा एमालेका तर्फबाट सांसद बनेको अनुभव छ फुयालसँग। प्रदेशलाई केन्द्रले संघीय प्रणालीअनुसार सबै अधिकार नदिँदा धेरै काम गर्न नसकिएको अनुभव पनि छ उनीसँग।

‘संघीय प्रणाली भएका देशमा रक्षा, गृहजस्ता क्षेत्र संघीय सरकारले लिने र अरु सबै प्रदेश र स्थानीय सरकारलाई दिने हुन्छ। त्यसो हुँदा म्याक्सिमम अभ्यास हुन्थ्यो। तर, हाम्रोमा प्रदेशहरुलाई त्यस्तो खालको अधिकार पाएका छैनन्,’ उनले भने।

‍२०७४ को प्रदेश सभाको निर्वाचनमा लोकप्रिय मत पाएका थिए फुयालले काठमाडौं २ बाट। प्रदेशसभा निर्वाचनमा उनले विपक्षी भन्दा दोब्बर मत ल्याएका थिए। १६ हजार ५७५ मत फुयालको भागमा पर्दा कांग्रेसका मनहरि खड्काले ८ हजार २६८ मतमात्रै ल्याए। प्रतिनिधिसभामा एमालेबाट माधव नेपालको जित पनि सम्झन लायक थियो यही क्षेत्रबाट। नेपालले २७ हजार ३६६ मत नेपालले ल्याउँदा कांग्रेसका दीपक कुइकेलको मत १४ हजार ९०३ थियो।

जित्छु भनेर भन्न डराएको हुँ…

पाँच वर्षअघिको प्रदेश सभाको माहोल प्रतिनिधिसभामा पनि दोहोर्‍याउने पक्षमा छन् फुयाल। पार्टी विभाजन र एमालेभित्रको किचलो त चुनौती छ नै। सत्ता गठबन्धन विपक्षमा उभिँदा पनि उनी ‘कन्फिडेन्ट’ छन्। तर, ढुक्कले चुनाव जित्छु भन्न भने मन छैन फुयाललाई।

‘म जित्छु भन्दा कताकता घमण्ड गरेको जस्तो होला भनेर डराएको मात्रै हुँ। डराउनु त पर्‍यो। धक नमानिकन भन्ने हो भने मैले चुनाव हार्दिनँ। चुनाव जित्छु। म यसमा कन्फिडेन्ट छु। हिसाबकिताबको कुरा तपसिल हो,’ चुनावी जितहारबारे फुयालले सुनाए।

काठमाडौंमा कुन पार्टीको जनमत कति छ भन्ने अंकगणित र गठबन्धनको जोडघटाउले काम नगर्ने बुझाइ छ उनीसँग।

‘काठमाडौंको जनताले प्रत्येक पटक हिसाबका नयाँ नयाँ च्याप्टर खोलेका छन्। यसपाली नयाँ च्याप्टर खोल्छन् फेरि,’ फुयालको भनाइ छ।

फुयालको नजरमा शालिन ओनसरी

यसपटक फुयालको मुख्य प्रतिस्पर्धी हुनेछिन् गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)की उम्मेदवार ओनसरी घर्ती। पूर्व सभामुख समेत रहेकी घर्तीको प्रोफाइल पनि कम छैन।

घर्तीलाई केही दिनअघि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मत मागेका थिए। उक्त कार्यक्रममा घर्तीले जोरपाटी-साँखु सडक २ वर्षमा बनाउन नसके आफू सांसद पदबाट राजीनामा दिने घोषणा गरेकी थिइन्। उक्त भनाइबारे मणिरामको कटु टिप्पणी छैन। बरु ओनसरीले पाएको सूचना नै गलत भएको बताए उनले।

‘अब ३०० मिटर बाँकी छ। उहाँलाई कसले दियो त्यो सूचना। आफै त सूचित हुनुहुन्न होला। दिने मान्छेले राम्रो सूचना दिएन कि भन्ने लागेको छ मलाई,’ ओनसरीको कमजोरीप्रति कुटनीतिक सुनिए उनी।

फुयालकै शब्दमा ओनसरी ‘शालिन र शिष्ट’ व्यक्ति हुन्। यद्यपि, उनको भेट ओनसरीसँग माओवादी केन्द्र र एमाले एक भएका बेलामा पनि हुन भने पाएन। प्रचण्डले ओनसरीलाई जिताए मन्त्री बनाउँछु भन्दै दिएको आश्वासनको चाहिँ प्रतिवाद गरे फुयालले।

‘१५ महिना भयो त गठबन्धनले सरकार चलाएको। विकास हुन उहाँले जितेमात्रै हुने हो त? मेरो प्रश्न,’ कडा रुपमा मणिरामले भने।

अरु पार्टीका नेता कार्यकर्ताको पनि समर्थन

प्रदेशसभामा जितेर एक कार्यकाल सांसद भइसकेका फुयालले मत परिणामको विश्लेषण नगर्ने कुरै भएन। न्युट्रल भोटलाई जितको आधार मानिरहेका उनी एमालेबाहेक पार्टीको मत समेत आफ्नै पक्षमा आउने दाबी गरिरहेका छन्। पार्टीको मतमा यसपटक खासै अन्तर नआउने बुझाइ छ उनको।

‘पहिला अरु पार्टीलाई दिएका मतदाता त स्वतन्त्र छन् नि फेरि। स्वतन्त्र मतदाताले नै हो 'डिसिसिभ रोल प्ले' गर्ने। पार्टीगत भोट त अलिकति तलमाथि हुने कुरा न हो। निर्णायक भूमिका न्युट्रल मासको हो। त्यो न्युट्रल मासले मलाई भोट दिनेमा कुनै सन्देह छैन,’ फुयालको तर्क छ।

‘राष्ट्रिय राजनीतिलाई दिशा दिने भूमिका खेल्छु’

प्रतिनिधिसभाका सांसद आफ्नो क्षेत्रको विकासमा मात्रै अल्झिनु ठीक नहुने बुझाइ छ फुयालको। सांसदले राष्ट्रिय राजनीतिलाई कता लैजाने भन्ने भूमिका खेल्नुपर्ने तर्क छ उनीसँग।

गलत काम नगर्ने प्रतिवद्धता पनि सुनाए फुयालले, ‘कानुनले गलत भनेको काम कुनै हालतमा गर्दिनँ। मेरो ज्यान जावस् म गर्दिनँ। सार्वजिनक ओहोदामा बसेका मान्छेले गलत काम गर्दिएन भने मात्रै पनि देश बन्छ भन्ने लाग्छ मलाई।’

काठमाडौं क्षेत्र नम्बर २ मा ओनसरी घर्ती आफैँमा हाइ प्रोफाइल उम्मेदवार हुन्। मणिरामको राजनीति निक्कै पछिको हो। तर, स्थानीय हुनुको फाइदा मणिरामका सामुन्ने छ।

साथै, यस निर्वाचन क्षेत्रको अर्को विशेषता भनेको अप्रत्यासित नतिजा दिनु पनि हो। माधवकुमार नेपालजस्तो नेतालाई झक्कु सुवेदीले यही क्षेत्रबाट नमीठोगरी हराइदिएको विगत साक्षी छ। यसपाला काठमाडौं २ मा त्यस्तै परिणाम नआउला भन्न सकिन्न।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell