
प्रिमियर लिगमा गएराति फुलहामसँग ३-० ले पराजित भएपछि एस्टन भिल्लाले प्रशिक्षक स्टिभन जेरार्डलाई बर्खास्त गरेको छ।
क्लबका प्रवक्ताले भने: ‘हामी स्टिभनलाई उनको कडा परिश्रम र प्रतिबद्धताको लागि धन्यवाद दिन चाहन्छौं र भविष्यको लागि उहाँलाई शुभकामना दिन्छौं।’
भिल्लाले यो सिजनको लिगमा दुई पटक मात्र जित हात पारेको छ र गोल गरेको आधारमा रेलिगेसन जोनभन्दा केही माथि मात्रै छ।
जेरार्डले रेन्जर्समा आफ्नो भूमिका छोडेपछि नोभेम्बर २०२१ मा भिल्लाको प्रशिक्षकको रूपमा डीन स्मिथको स्थानमा आएका थिए। तर, इंग्ल्यान्ड र लिभरपुलका पूर्व मिडफिल्डर समेत रहेका ४२ वर्षीय जेरार्डले आफ्नो ११ महिने कार्यकालमा ४० खेलमध्ये १३ मा मात्रै जित दिलाए।
फुलहामसँगको हारपछि उनले बीबीसीलाई भने: ‘इनकन्सिस्टेन्सी हामीलाई महँगो परेको छ, हामी आफूलाई त्यही स्थितिमा पाएका छौँ। मैले यस्तै परिस्थितिमा टोलीको जिम्मा लिएँ। हामीले आफूलाई यो अवस्थाबाट बाहिर निकाल्न प्रयास गरेका छौँ।’
‘म एक फाइटर हुँ - यो मेरो डीएनएमा छ। अन्यथा नभएसम्म म लडाइँ जारी राख्छु,’ उनले अघि भने।
त्यसको करिब एक घण्टा पछि भिल्लाको प्रशिक्षकको रूपमा उनको समय सकियो।
जेरार्डको प्रस्थानको खुलासा हुनु अघि, कप्तान जोन म्याकगिनले भने: ‘यो निकै लाजमर्दो भयो। हामीले फ्यानहरूलाई, प्रशिक्षकलाई निराश तुल्याएका छौँ। यो हाम्रो लागि दुखद रात हो।’
क्राभेन कुटेजमा भएको खेलको क्रममा भिला फ्यानहरूले विभिन्न ‘एन्टी-जेरार्ड’ गीतहरू समेत गाएका थिए।