PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

नवौं राष्ट्रिय खेलकुद : पहिलो भएको आर्मीलाई १७२ स्वर्ण, कसको कति पदक?



पहिलोपोस्ट

नवौं राष्ट्रिय खेलकुद : पहिलो भएको आर्मीलाई १७२ स्वर्ण, कसको कति पदक?
पोखरामा आयोजित नवौं राष्ट्रिय खेलकुद समापन समारोहमा बिहीवार मार्चपास गर्दै खेलाडीहरु। फोटो : रोशन सापकोटा/रासस

पोखरा : बिहीवार सकिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा विभागिय टोली त्रिभुवन आर्मी क्लब प्रथम भयो। ३६ खेलमा ३ सय ९६ स्वर्ण पदकका लागि भएको प्रतिष्पर्धामा आर्मीले १ सय ७२ स्वर्ण पदक सहित यसपाली समेत उपाधि कब्जा गरी ह्याट्रियक पुरा गरेको छ।

आर्मीले १ सय ७२ स्वर्ण, १ सय ९ रजत र ८९ कास्य गरी ३ सय ७० पदक सहित पहिलो पटक निर्माण गरिएको रनिङ ट्रफि प्राप्त गर्‍यो। आर्मीले यस अघिका सातौं र आठौं संस्करणको उपाधि समेत जितेको थियो।

त्यस्तै, ६४ स्वर्ण, ७३ रजत र ८१ कास्य सहित २ सय १८ पदक जितेको सशस्त्र प्रहरी बलको एपीएफ क्लब दोस्रो तथा ६१ स्वर्ण, ६१ रजत र ७३ कास्य पदक सहित १ सय ९५ पदक जितेको नेपाल प्रहरी क्लब प्रतियोगितामा तेस्रो भएको छ।

घरेलु मैदानको सदुपयोग गर्दै गण्डकी प्रदेश चौथो तथा प्रदेशहरुमा पहिलो हुन सफल भयो। वाग्मती प्रदेशलाई पछि पार्दै गण्डकीले ३२ स्वर्ण, ३१ रजत र ५७ कास्य गरी १ सय २० पदक सहित थौचो भएको हो। वाग्मती प्रदेशले २४ स्वर्ण, ४७ रजत र ७४ कास्य पदक सहित १ सय ४५ पदक हात पार्दै पाँचौं स्थानमा रहेको छ।

१ नम्बर प्रदेश १० स्वर्ण २३ रजत र ५० कास्य पदक सहित छैटौं भएको छ। १० स्वर्ण, १० रजत ४३ कास्य सदक सहित सुदुरपश्चिम प्रदेश सातौं, एनआरएनए १० स्वर्ण ९ रजत ७ कास्य पदक सहित आठौं, ६ स्वर्ण २२ रजत र ४० कास्य पदक सहित लुम्बिनी प्रदेश नवौं स्थानमा रहेको छ।

मधेश प्रदेश दशौं स्थानमा र कर्णाली प्रदेश अन्तिम तथा एघारौँ स्थानमा रहेको छ। मधेश प्रदेशले ५ स्वर्ण ८ रजत र २६ कास्य पदक जित्दा कर्णाली प्रदेशले २ स्वर्ण ४ रजत र १२ कास्य पदक जितेको हो।

सुरुमा ४ सय ४ स्वर्ण पदकमा प्रतिष्पर्धा हुने घोषणा गरिए पनि प्याराग्लाइडिङ, पौडी र आर्चरीमा २/२ स्वर्ण पदक र स्क्वास र सफ्ट टेनिसमा एक/एक स्वर्ण पदकको लागि खेल स्थगित भएको प्रविधिक संयोजक हिमाल दाहालले बताए। गण्डकी प्रदेशका ८ जिल्लामा उक्त प्रतियोगिता भएको हो भने सुटिङ र पुरुष क्रिकेट काठमाडौंमा भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell